काठमाडौं, मौसम पूर्वानुमान महाशाखाले आउँदो असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको चेतावनी दिएको छ । महाशाखाले मंगलबार विशेष मौसम बुलेटिन जारी गर्दै यसको प्रभावले बुधबारदेखि नै वर्षाको गतिविधि बढ्दै जाने जनाएको छ ।
“उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भू–भाग आसपासमा रहेको छ । उक्त प्रणाली थप शक्तिशाली बन्दै पश्चिम – उत्तर पश्चिम दिशातिर सर्ने देखिन्छ । यसको प्रभावले बुधबारबाट नै कोसी, वाग्मती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने देखिन्छ,” महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ ।
महाशाखाले असोज ९–११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ/हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको समेत चेतावनी दिएको छ ।
साथै, मधेस प्रदेश तथा कोसी, वाग्मती र सुदूरपश्चिम प्रदेशका थौरै स्थानमा पनि मेघगर्जन/चट्याङ/हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको तथा कर्णाली प्रदेशको पनि थौरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ । देशका अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको पूर्वानुमान महाशाखाले गरेको छ ।
उक्त मौसम प्रणालीको प्रभाव देशको हिमाली भू–भागमा भारीसम्म हिमपात हुन सक्ने भएकोले पर्वतारोही तथा सम्बन्धित सबैले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।













