Play

पोखरा कांग्रेसको सभापतिमा बिजुक्छे, थापा र पौडेलको दौडधुप, महिला उपसभापतिमा ढुंगानाको सम्भावना

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसको १५ औं महाधिबेशन अन्तर्गत बिभिन्न तहको अधिबेशन हुने क्रममा भोलि असोज ७ गते बुधबार देशभरका गाउँ पालिका र नगरपालिकाहरुमा अधिबेशन हुँदैछ। यसैक्रममा कास्की जिल्लाका ५ वटा पालिकाहरुमध्ये पोखरा महानगरपालिकाको अधिबेशन पनि बुधबार नै हुँदैछ। अधिबेशनबाट पोखरा महानगरसमितिको नेतृत्व लिनको लागि तीनजनाले तयारी गरेको बुझिएको छ।

यस पटकको पोखरा महानगरसमितिको अधिबेशनबाट सभापति निर्बाचित हुनको लागि बर्तमान सभापति सुरेन्द्रमान बिजुक्छे, बर्तमान सचिब गणेशबहादुर थापा र पोखरा -६ का निबर्तमान वडा सभापति सन्तोष पौडेलले उमेदवारी दिने बुझिएको छ। बिजुक्छे र थापाले आंफ्नो चुनाबी प्रचार अभियानलाई तिब्रता दिने क्रममा बिभिन्न वडामा पुगेर कार्यकर्ता भेटघाट लाई तिब्रता दिएको जनाएका छन।

यसपटकको अधिबेशनमा अघिल्लो अधिबेशनमा जस्तो कार्यकर्ताहरुको चासो त्यति देखिएको छैन। पार्टीको बिभिन्न तहमा जिम्मेवारी लिन चाहनेहरु बाहेक अन्य कार्यकर्ता र समर्थकहरुमा अधिबेशनले उत्साह भर्न नसकेको स्वयम् उमेदवारहरुको भनाई छ। जसका कारण पोखरा महानगरसमितिको सभापति सहित अन्य पदमा अघिल्लो पटक जस्तो प्रतिष्पर्धाको अबस्था नदेखिएको कारण अधिकांश पदमा निर्बिरोध हुने सम्भावना रहेको बताइन्छ।

यसपटक पोखरा महानगरसमितिको उपसभापतिमा किर्तिबल्लभ त्रिपाठी र मिनप्रसाद भट्टराईले उमेदवारी दिने चर्चा चलेको छ भने महिला उपसभापतिमा अम्बिका ढुंगानाले उमेदवारी दिने घोषणा गरेकी छन। ढुंगाना यस अगाडी कांग्रेसको पोखरा महानगरसमितिको सदस्य र नेपाल महिला संघको पोखरा महानगरसमितिको सभापति समेत रहेर काम गरिसकेकी छन। महिला उपसभापति पदमा पोखरा -११ की रनसोभा गुरुङ र पोखरा -१३ की सुजिता तामांग समेत उमेदवार बन्ने चर्चा चलेपनि महिला उपसभापतिमा निर्बिरोध गराउने प्रयास समेत भैरहेको श्रोतले जनाएको छ। महानगर समितिको सचिब पदमा धनन्जय पौडेलले उमेदवारी दिने बताउंदै आएका छन।

पार्टीको परिबर्तित बिधान अनुसार समितिको उपसभापति (खुलातर्फ) १ जना र महिला उपसभापति १ जना तथा सचिब र सहसचिब पनि १ जना रहने ब्यबस्था छ । सभापति पदमा ३ जनाले उमेदवारी दिने बताएपनि उनीहरुले पदाधिकारी र सदस्यहरुको प्यानल समेत बनाउन सकेको छैनन। कार्यसमितिमा बस्न चाहने आकांक्षीहरुको संख्या कम देखिएकोले सभापति बाहेकको पदमा निर्बिरोध हुन सक्ने सम्भावना पनि रहेको छ । यसपटकको अधिबेशनमा नेपाली काँग्रेसको आन्तरिक बिबाद तल्लो तहसम्म पुगेको र दुई छुट्टाछुट्टै कार्यतालिका अनुसार महाधिबेशनको कार्यक्रम अगाडी बढेकोले पनि बिगतमा जस्तो प्रतिष्पर्धा नहुने देखिएको हो ।

यसैबीच, नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा न.२ कार्यसमितिको असोज ५ गते सोमबार बसको बैठकले पोखरा महानगरसमितिको सभापतिमा सोही वडाका क्षेत्रिय प्रतिनिधि सुरेन्द्रमान बिजुक्छेलाई उमेदवार बनाउने र उनलाई विजय गराउन सबैले आआफ्नो ठाउँबाट सहयोग गर्ने निर्णय गरेको छ। बिजुक्छे अहिलेको कार्यसमितिका सभापति समेत हुन।

नेपाली काँग्रेस वडा न. २ कार्यसमितिका सभापति जगदिश्वर मल्लको अध्यक्षतामा बसेको उक्त बैठकले आगामी दिनमा पार्टीलाई एकढिक्का बनाउनको लागि पहल गर्ने निर्णय समेत गरेको समितिका उपसभापति माधवप्रसाद पराजुलीले गुरुकुल खबरलाई जानकारी दिए।

देशभरका पालिकामा बुधबार अधिबेशन हुँदै 

नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा भोलि असोज ७ गते देशैभर एकसाथ पालिका तहको अधिवेशन हुने भएको छ । यही असोज ३ गते वडा अधिवेशनबाट विधिवत् प्रारम्भ भएको महाधिवेशन प्रक्रियाले स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्ने महत्त्वपूर्ण चरणमा प्रवेश गरेको हो। केही छिटपुट स्थानबाहेक देशभरका वडाहरूमा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेकाले बुधबारको पालिका अधिवेशन पनि सहज, सौहार्दपूर्ण र भव्य रूपमा सम्पन्न हुने विश्वास नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिले व्यक्त गरेको छ।

प्राकृतिकविपत्ति र विशेष परिस्थितिका बीच पनि निर्वाचन समितिले सांगठनिक कार्यतालिकालाई प्राथमिकताका साथ अघि बढाएको छ । बाढीपहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडाहरूमा आज अधिवेशन सम्पन्न भएको छ भने मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही बाँकी वडाहरूमा पनि अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।

यद्यपि, भीषण बाढीपहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेको रसुवा जिल्लामा भने विशेष परिस्थितिलाई ध्यानमा राखी केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी मिलाइएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए। पार्टी केन्द्रीय समितिले २०८२ पुस २१ सम्म नवीकरण गरेका क्रियाशील सदस्यहरूलाई समेत समेट्ने लचकतापूर्ण निर्णय गरेपछि पुरानो विवरणमा नयाँ नामहरू समावेश गर्दा केही स्थानमा सदस्यता सूचीलाई अन्तिम रूप दिन सामान्य ढिलाइ भएको निर्वाचन समितिले स्पष्ट पारेको छ।

सदस्यसचिव अधिवक्ता कटुवालका अनुसार यो कुनै राजनीतिक विवाद वा असमझदारीका कारण नभई एकै पटक देशभरको ठूलो तथ्याङ्क व्यवस्थापन गर्दा उत्पन्न भएको नितान्त प्राविधिक विषय मात्र हो । कांग्रेसको नयाँ विधान र निर्वाचन निर्देशिकाअनुसार भोलि हुने पालिका अधिवेशनबाट हरेक पालिकामा पाँच जना पदाधिकारी चयन हुनेछन्। जसमा एक जना सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुने व्यवस्था छ ।

कोषाध्यक्षको चयन सभापतिले निर्वाचित कार्यसमिति सदस्यहरूमध्येबाट मनोनयन गर्ने वैधानिक प्रावधान रहेको छ। सदस्यहरूको हकमा भने पालिका कार्यसमितिमा प्रत्येक वडाबाट एक महिला र एक खुला, युवा क्लस्टरबाट एक महिला र दुई खुला, तथा दलित समुदायबाट एक महिला र एक खुला सदस्य निर्वाचित हुनेछन्। यसका अतिरिक्त कार्यसमितिलाई पूर्ण समावेशी बनाउन गाउँ कार्यसमितिमा सात जना, नगर कार्यसमितिमा नौ जना, उपमहानगर कार्यसमितिमा ११ जना र महानगर कार्यसमितिमा १३ जना सदस्य मनोनयन गर्न सकिने व्यवस्था मिलाइएको छ । मनोनयन गर्दा निर्वाचनबाट प्रतिनिधित्व हुन नसकेका समुदायलाई अनिवार्य प्राथमिकता दिनुपर्ने स्पष्ट व्यवस्था गरिएको छ।

६ आश्विन २०८३, मंगलवार २२:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा