Play

सरकारको कार्यशैलीप्रति नेउबामहासंघका अध्यक्ष श्रेष्ठको असन्तुष्टी, सरकारले निजि क्षेत्रको बिश्वास जित्न नसकेको भनाई

गुरुकुल खबर


पोखरा, निजि क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले बर्तमान सरकारले निजि क्षेत्रलाई विश्वासमा लिएर काम गर्न नसकेको भन्दै सरकारको कार्यशैली प्रति असन्तुष्टी प्रकट गरेका छन। निजी क्षेत्र तथा सरोकारवालाहरूसँग संवाद नगरी बन्द कोठाभित्र बसेर निर्णय गर्ने गरेको भन्दै महासंघका अध्यक्ष श्रेष्ठले सरकारी कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन ।

सरकारले सरोकारवालासंग संवाद पनि नगर्ने र अरूलाई विश्वास पनि नगर्ने प्रवृति बढेको भन्दै श्रेष्ठले यस्तो प्रवृतिले गम्भीर समस्या ल्याउने चेतावनी दिए । उनले चालु आर्थिक बर्षको लागि सरकारले ल्याएको बजेटको कार्यान्वयन पक्ष समेत निकै फितलो देखिएको दाबी गरे ।महासंघका अध्यक्ष श्रेष्ठ शनिबार लेखनाथ उद्योग वाणिज्य संघको ३० औँ वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थिए ।

महासंघका अध्यक्ष अध्यक्ष श्रेष्ठले तीन खम्बे अर्थनीतिको पुनरावलोकन गर्नुपर्ने, समाजवाद उन्मुख अर्थतन्त्रको अस्पष्टता हटाएर खुला बजार अर्थतन्त्रतर्फ अघि बढ्नुपर्ने र व्यक्तिगत सम्पत्तिको हक सुनिश्चित हुनुपर्ने लगायतका सुझाव महासंघले दिएको भएपनि सरकार संबेदनशिल नदेखिएको र सम्बादको निम्ति चासो नदेखाएको आरोप लगाए ।

उनले औद्योगिक, व्यापारिक, आवासीय र कृषि क्षेत्र छुट्ट्याउने भू–उपयोग नीति अविलम्ब ल्याउन माग गर्दै पोखरा औद्योगिक क्षेत्र स्थानान्तरण गर्ने चर्चाप्रति भने असहमति प्रकट गरे ‘राज्यले तोकिसकेको औद्योगिक क्षेत्र बिरालोले बच्चा सारेजस्तो ठाउँ ठाउँमा सार्न हुँदैन, शिक्षा र रोजगारीको खाडल पुर्न इन्डस्ट्री–एकेडेमी सहकार्य आवश्यक छ’ भन्दै उनले काठमाडौं, त्रिभुवन र नेपाल विश्वविद्यालयसँग सम्झौता भइसकेको र नगरपालिका महासंघसँग छिट्टै समझदारीपत्रमा हस्ताक्षर हुन लागेको जानकारी दिए ।

सोहि कार्यक्रममा बोल्दै नेपाल उधोग बाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले सरकारले महासंघजस्ता संस्थालाई उपेक्षा गरेर व्यक्ति विशेषलाई बोलाएर सल्लाह लिने गलत अभ्यास थालेको आरोप लगाए । हाम्रा कुरा नसुन्ने अवस्था आए महासंघले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने र संघर्षका लागि तयार हुनुपर्नेमा उनले जोड दिए ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले लगानीको वातावरण १५ प्रतिशतभन्दा तल खस्किएको र महँगी बढेको भन्दै व्यवसायीको संकटमा महासंघ अध्यक्ष श्रेष्ठले साहसपूर्वक नेतृत्व लिनुपर्ने बताए । गाउँपालिकाले देशभरमै पहिलोपटक भूमि बैंकको कार्यविधि तयार गरी बाँझा जग्गा लिजमा लिएर उद्यमीलाई उपलब्ध गराउने व्यवस्था मिलाएको उनले जानकारी दिए ।

महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले विगतका आन्दोलन, कोभिड महामारी, भदौ २३–२४ को जेन्जी आन्दोलन र हालैको बाढी पहिरोले अर्थतन्त्र थप सुस्ताएको बताए । गण्डकी विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले देशमा ८२ देखि ८५ प्रतिशत हिस्सा ओगट्ने लघु उद्यमलाई सँगै नलगे ठूला उद्योग फस्टाउन नसक्ने बताए ।

लेखनाथ उधोग बाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले आफ्नो १ वर्षे कार्यकालमा बजेट सुनिश्चितता, सिपमूलक तालिम, विज्ञापन करमा ५० प्रतिशत छुट र २१ औँ लेखनाथ महोत्सव सम्पन्न गरिएको जानकारी दिइन् । ८० जना संस्थापक सदस्यबाट सुरु भएको लेखनाथ उधोग बाणिज्य संघमा हाल २ हजारभन्दा बढी सदस्य रहेको अध्यक्ष पराजुलीले जानकारी दिईन ।

कार्यक्रममा नेपाल उधोग बाणिज्य महासंघका सदस्य छत्रधर आत्रेय, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारी र पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले पनि आ–आफ्ना धारणा राखेका थिए ।सोही साधारण सभाका अवसरमा १ लाख १ हजार रुपैयाँ राशिको ‘चन्द्रलक्ष्मी ज्येष्ठ नागरिक सेवा पुरस्कार’ यात्री मिडिया नेटवर्क प्रालिका प्रधान सम्पादक टिकाराम यात्रीलाई प्रदान गरिएको छ ।

साथै ‘पोखरा रत्न सम्मान २०८२’ बाट सम्मानित व्यक्तित्व एबम नेपाल उधोग बाणिज्य महासंघका पुर्व सदस्य र लेखनाथ उधोग बाणिज्य संघका संस्थापक अध्यक्ष रहेका चन्द्रकृष्ण कर्माचार्यलाई बधाई सहित सम्मान गरियो भने कर्माचार्य बेक्स एन्ड फुड्सका सञ्चालक गोविन्द कर्माचार्य र उत्कृष्ट कर्मचारी प्रसिद्ध पौडेललाई पनि सम्मान गरिएको थियो । अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझा र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले गरेका थिए ।

३ आश्विन २०८३, शनिबार २२:५५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा