पोखरा, कामना सेवा विकास बैंक लिमिटेडका सेयरधनीले १५ प्रतिशत नगद लाभांश पाउने भएका छन्। बैंकको २०औँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साधारणसभाले पारित गरेसंगै शेयरधनीहरुले बैंकले शुरुमा प्रस्ताव गरे अनुसार नै लाभांश रकम पाउने भएका छन।
काठमाडौंमा भदौ ३१ गते बुधबार सम्पन्न साधारणसभाले प्राथमिकताप्राप्त सेयरधनीका लागि समेत लाभांशसम्बन्धी प्रस्ताव अनुमोदन गरेको हो। प्राथमिक सेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको बैंकले जनाएको छ ।
साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण पनि अनुमोदन गरेको छ। सभाबाट वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा नाफा–नोक्सान बाँडफाँटसम्बन्धी विवरणलगायत वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू सर्वसम्मतिले पारित भएका छन् । यसैगरी, सभाले एबीएएसएम एन्ड एसोसिएट्सलाई बैंकको बाह्य लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
सभामा सेयरधनीहरूले बैंकको वित्तीय अवस्था तथा आगामी योजनासम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए। ती जिज्ञासाको जवाफ सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए । जवाफका क्रममा प्रमुख कार्यकारी अधिकृत थकालीले बैंक निरन्तर रूपमा लाभांश वितरण गर्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा संस्थालाई थप दिगो र सबल बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।













