पोखरा, पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा शोभा गौतमले नेतृत्व गरेको प्यानलले उद्योगी–व्यवसायीको साझा हित, संस्थागत सुशासन, डिजिटल रूपान्तरण, लगानी प्रबर्द्दन तथा पोखराको आर्थिक विकासलाई केन्द्रमा राखेर आँफुहरुको प्रतिबद्धता सार्वजनिक गरेको छ । यहि भदौ २० र २१ गते हुने महाधिवेशनका लागि उक्त प्यानलबाट अध्यक्षमा शोभा गौतम, वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी, उद्योग उपाध्यक्षमा सौगात थापा, वाणिज्य उपाध्यक्षमा भीम गौतम, महासचिवमा तारानाथ ढुंगाना, कोषाध्यक्षमा जीवनप्रकाश श्रेष्ठ र उपमहासचिवमा यादव पोखरेल उम्मेदवार छन्।
संघलाई पारदर्शी, उत्तरदायी, प्रविधिमैत्री तथा सबै उद्योगी–व्यवसायीको साझा र विश्वासिलो संस्थाका रूपमा विकास गर्ने र सदस्यका सुझाव, गुनासा र समस्या प्रभावकारी रूपमा सम्बोधन गर्न व्यवस्थित प्रणालीको विकास गर्ने साथै संघको कार्यप्रगति, आर्थिक प्रतिवेदन र वित्तीय पारदर्शितालाई संस्थागत गर्ने प्रतिबद्धता पनि उक्त प्यानलले गरेको छ।
संघका सेवाहरूलाई सहज, छिटो र प्रविधिमैत्री बनाउन डिजिटल सदस्य सेवा विस्तार गर्ने, स्मार्ट सदस्य परिचयपत्र, अनलाइन सेवा प्रणाली तथा सुरक्षित डिजिटल डाटाबेस निर्माण गर्ने, उद्योगी–व्यवसायीलाई आवश्यक कानुनी, कर तथा व्यवसायसम्बन्धी परामर्श उपलब्ध गराउन व्यवसायी सहायता तथा परामर्श डेस्क स्थापना गर्ने प्रतिबद्धता पनि गौतम नेतृत्वको प्यानलले गरेको छ।
पोखरालाई पर्यटनको राजधानीका रूपमा थप स्थापित गर्दै कृषि पर्यटनलाई उद्योग, पर्यटन र स्थानीय उत्पादनसँग जोडेर नयाँ व्यावसायिक अवसर सिर्जना गर्ने, पोखरा र आसपासका कृषि उत्पादनको ब्रान्डिङ, बजारीकरण र मूल्य अभिवृद्धिका लागि पहल गर्ने तथा ‘मेड इन पोखरा’ अभियानमार्फत स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने, होटल, रेस्टुरेन्ट, ट्राभल, ट्रेकिङ तथा साहसिक पर्यटनसंग सम्बन्धित व्यवसायको प्रबर्द्दन साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका व्यापार, पर्यटन तथा कृषि प्रदर्शनी र मेला आयोजना गर्ने योजना उक्त समुहले अघि सारेको छ।
निजी क्षेत्र, स्थानीय समुदाय र सरकारबीच सहकार्य गरी कृषि, पर्यटन र व्यवसायलाई एकीकृत आर्थिक गतिविधिका रूपमा विकास गर्ने, पोखराको समग्र आर्थिक तथा व्यावसायिक विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग प्रभावकारी समन्वय र सहकार्य गर्ने, स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न लगानी सम्मेलन गर्ने, सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडललाई प्रोत्साहन गर्ने र ठूला विकास परियोजनामा निजी क्षेत्रको सहभागिता बढाउने जस्ता कुरामा पनि उक्त समुहले ध्यान दिने जनाएको छ ।
गुरुकुल खबरमा प्रेषित सामग्रीमा व्यवसायी तथा लगानीकर्ताका लागि व्यवसायमैत्री वातावरण निर्माण गर्न नीतिगत र संस्थागत पहल गर्दै निजी क्षेत्र र सरकारबीचको सहकार्यबाट पोखराको उद्योग, व्यापार, पर्यटन तथा पूर्वाधार विकासलाई गति दिने, युवा उद्यमशीलता विकासलाई प्राथमिकता दिने, युवा व्यवसायीलाई तालिम, मेन्टरिङ तथा नेटवर्किङका अवसर सिर्जना गर्ने, महिला उद्यमशीलताको विकासका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, वित्तीय पहुँच विस्तार, नेतृत्व विकास तथा क्षमता अभिवृद्धिमा जोड दिने र महिला उद्यमी सञ्जाललाई थप सुदृढ बनाउने योजना पनि गौतम नेतृत्वको समुहले सार्वजनिक गरेको छ।
व्यवसायीको क्षमता अभिवृद्धिका लागि वित्तीय साक्षरता तथा वित्तीय व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गर्ने, व्यवसाय व्यवस्थापन, लेखा, कर, बैंकिङ तथा लगानीसम्बन्धी व्यावहारिक तालिमसँगै डिजिटल मार्केटिङ, कृत्रिम बुद्धिमत्ता (एआई), ई–कमर्स तथा आधुनिक व्यवसाय सञ्चालनसम्बन्धी सीप विकासमा जोड दिने, युवा तथा नयाँ उद्यमीका लागि व्यावसायिक सीप, मेन्टरिङ तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नेसाथै कर, बैंक ब्याजदर तथा व्यवसायमैत्री नीतिका लागि प्रभावकारी पैरवी गर्ने उनीहरुले जनाएका छन । स्थानीय, प्रदेश तथा संघीय सरकारसँग निरन्तर समन्वय गर्दै उद्योगी–व्यवसायीका साझा समस्या र सरोकारमा संघलाई सशक्त आवाजका रूपमा स्थापित गर्ने उसको लक्ष्य छ।
अनतर्राष्ट्रिय वाणिज्य संघ तथा व्यावसायिक संस्थासँग सहकार्य विस्तार गर्ने, स्थानीय उत्पादनका लागि निर्यात बजार खोजी गर्ने, अन्तर्राष्ट्रिय अध्ययन भ्रमण तथा अनुभव आदानप्रदानका कार्यक्रम सञ्चालन गर्ने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण संचालनको लागि पहल गर्ने, सडक पार्किङ, बजार व्यवस्थापन पूर्वाधार सुधारका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने जनाइएको छ।
गौतम प्यानलको अर्को महत्वपूर्ण एजेन्डा ‘संघ हाम्रो परिवार’ अभियान हो। यसअन्तर्गत संघका सम्पूर्ण सदस्यबीच नियमित अन्तरक्रिया, संवाद र सहकार्य अभिवृद्धि गर्ने योजना छ। पोखरा क्षेत्रका सम्पूर्ण उद्योगी–व्यवसायीलाई संघको सदस्यतामा जोड्दै सदस्यता विस्तार अभियान सञ्चालन गर्ने, नयाँ तथा युवा व्यवसायीलाई संघको मूलधारमा ल्याउने र उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने उनीहरुको सोच छ। नयाँ सदस्यलाई संघका सेवा, सुविधा तथा अवसरबारे जानकारी गराउन अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तथा अग्रज उद्योगी–व्यवसायीको अनुभव, ज्ञान र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्ने योजना पनि अघि सारिएको छ।
प्यानलले सदस्य संख्या बढाउनु मात्र आफ्नो उद्देश्य नभएको स्पष्ट गर्दै प्रत्येक सदस्यले ‘यो संघ मेरो पनि हो’ भन्ने अपनत्व महसुस गर्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । सदस्यको सक्रियता, सहभागिता र संस्थाप्रतिको अपनत्व बढाउने नीतिलाई प्राथमिकता दिइने उक्त समुहको भनाइ छ ।















