पोखरा, नेपाली समाज अर्थात परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरूलाई समेटेर बनाएको नेपाली कथानक चलचित्र ‘बा : एक योद्धा’को ट्रेलर सार्वजनिक गरिएको छ काठमाडौँमा आयोजित एक कार्यक्रममा सार्बजनिक गरिएको उक्त चलचित्रको ट्रेलरको केन्द्रमा परिवारको लागि बुवाले गरेको बुवाको संघर्षलाई समेटिएको छ । बुवाले सन्तानका लागि गरेको संघर्ष र त्यागको सेरोफेरोमा घुमेको ट्रेलरले सन्तानको सुख र खुसीका लागि बुवाले जस्तो सुकै त्याग, संघर्ष र बलिदानी दिन तयार हुन्छ भन्ने सन्देश दिएको छ ।
आफ्ना सन्तानका लागि बलिदान दिन तयार हुने बाबुआमा तर त्यसको गुन भुल्ने समाज निर्माण हुँदै गएको पछिल्लो कालखण्डको यथार्थलाई ट्रेलरमार्फत देखाइएको छ । आफू जन्मिएको र हुर्किएको भूमि र आफूलाई योग्य बनाउने बाबाआमालाई भुल्ने र केही नगन्ने प्रवृत्ति हाबी भइरहेको यथार्थ कथा ट्रेलरमा देखिन्छ ।
चलचित्र ‘बा : एक योद्धा’ मा आफ्नो सन्तानको खुसीका लागि आफू बसेको घर पनि बेच्न तयार बाबुलाई सन्तानले दिएको दुःख र त्यसको परिणाम देख्न सकिन्छ । जब खुसी हराउँछ र परिवार टुक्रिन्छ अनि केही रहँदैन । केही नरहेपछि के हुन्छ अथवा परिवारको मुख्य मुली र सिनेमाको मुख्य चरित्रले के गर्छ? यो सस्पेन्सले दर्शकमा कौतुहलता जगाएको छ । र, सिनेमाको क्लाइमेक्समा के हुन्छ भन्ने प्रश्न दिमागमा जन्माएर ट्रेलर सकिएको छ ।

चलचित्र ‘बाः एक योद्धा’ यहि भदौ १९ गते रिलिज हुने यस चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् । हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो ।

नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार हरि लम्साल रचनाकार र गायक पनि हुन् । फिचर सिनेमामा भने ‘बाः एक योद्धा’ उनको पहिलो निर्देशन हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् । चलचित्र ‘बाः एक योद्धा’का निर्माता भने वसन्त लम्साल हुन् ।
अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको चलचित्रका लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह–निर्माता कृष्ण काफ्ले रहेका छन् । शिवराम श्रेष्ठको छायाकंन रहेको चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् । ‘बा : एक योद्धा’ आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।
यसैबीच चलचित्र ‘बा : एक योद्धा’को शीर्ष गीत पनि सार्वजनिक गरिएको छ । गीतमा सञ्जीव थापाको शब्द, हरि लम्सालको संगीत र स्वर छ । ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ बोलको गीतले आफ्नो धरातल नबिर्सन आग्रह छ । रुख र जराको नाता तथा माटो र पानीको साथ टुट्यो भने त्यसको अस्तित्व नरहने सन्देश दिने गीतले आफ्नो जन्म दिने बुवाआमा र जन्मिएको माटो नविर्सन अपिल गर्छ ।

जति सुकै ठूलो सफलता हात पारे पनि आफ्नो विगत भूल्ने हो पहिचान नै नरहने भन्दै गीतले आफ्ना, आफन्त र आफ्नो भूमि नै सबैभन्दा माथि हुने प्रस्ट पारेको छ । गीतको ओजपूर्ण शब्द र मर्मस्पर्शी भावले सिनेमाले भन्ने खोजको कथा र दिन खोजेको सन्देशको सार संक्षेप बताउँछ । जन्मदिने बुवाआमा र जन्मिएको घरलाई माया नमार भन्ने सन्देश सिनेमाले दिने शीर्ष गीत सुनेर आंकलन गर्न सकिन्छ ।
गीतमा चलचित्रका मुख्य पात्रत्रय दिव्यदेव, सुहाना थापा र झरना थापासहित अन्य कलाकारलाई देख्न सकिन्छ । बच्चा हुर्काउँदादेखि उनीहरू पराई घर र पराई भूमिमा जाँदासम्मको समय र एक्लो भएको बुवाको पीडासम्म गीतको भिडियोमा समेटिएको छ ।
‘बा: एक योद्धा’को मर्मस्पर्शी टिजर सार्वजनिक
चलचित्र ‘बा: एक योद्धा’को मर्मस्पर्शी टिजर पनि सार्वजनिक भैसकेको छ। ‘एउटा सानो संसार थियो हाम्रो, सब तहसनहस भयो’ भन्ने डाइलग सँगै सुरु भएको टिजरको दृश्यमा चलचित्रका मुख्य पात्र दिव्यदेव पन्त छन्, जसको जुत्तादेखि टाउकोसम्म रगतै रगत लत्पतिएको छ । यसले उनी ठूलै घटनाबाट फर्किएको देखाउँछ । उनको चालले उनको परिवारकै कुनै सदस्य मिसिङ भएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ ।
दिव्यदेव जब आफ्नो घर अगाडि देखिन्छन्, उनको दिमागमा विगतका सम्पूर्ण दृश्यहरू एकपछि अर्को गर्दै पल्टिन्छन् । जसले उनको सुन्दर परिवार देखाउँछ। त्यसपछि देखिन्छ परिवारमा आएको विपत्ति । बाबालाई बोलाउँदै कुद्दै गरेकी छोरी र परिवारका अन्य सदस्य, गाउँले आत्तिँदै कुदेको दृश्यले परिवारमा घटेको ठूलो महाविपत्ति देखाउँछ ।
त्यही बीचमा आउने दृश्यमा डाइलग छ– आज बाउको मुख हेर्ने दिन । तर एउटा बाले आफ्नो छोराको मुख हेर्न पाएन । यही बेला दिव्यदेव एउटा गाडीमा कतै गइरहेको दृश्य देखिन्छ । अनि आमा छोरी झरना थापा र सुहाना थापा रोइरहेको दृश्य । टिजरले एउटा सुन्दर परिवार कसरी तहसनहस भइरहेको छ भन्ने देखाएको छ । तर, त्यसको कारण के हो भन्ने खुलाएको छैन । पूर्ण पारिवारिक कथा देखाउन सफल टिजरले परिवारको इमोस्नल कथा देखाएको छ । अचानक घट्ने घटनाले कसरी परिवार तहसनहस हुन्छ भन्ने यो सिनेमाले देखाउने प्रयास गर्ने टिजरले प्रस्ट गरेको छ ।















