पोखरा, पोखराको पृथ्वीचोकमा पुस्तकालय, आर्ट ग्यालरी, कोसेली घर र एकीकृत सूचना केन्द्रसहितका सुविधा सहितको ‘पोखरा घर’ सञ्चालनमा आएको छ । पोखराको साहित्य, कला, संगीत, संस्कृति र पर्यटनसँग जोडिएका गतिविधिलाई एउटै केन्द्रबाट संरक्षण र प्रबर्द्दन गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले पोखरा घरको निर्माण गरेको हो ।
पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा निर्भमाण गरिएको भवनको शुक्रबार बिहान पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङले संयुक्त रूपमा उद्घाटन गरेका छन ।
पोखरा सार्वजनिक पुस्तकालय, पोखरा कला प्रदर्शनी केन्द्र, सूचना केन्द्र र पोखरा प्रज्ञा प्रतिष्ठानको कार्यालयसमेत रहने गरि ब्यबस्थापन गरिएको उक्त भवनमा पुस्तकालयका लागि पहिलो तला छुट्याइएको छ । यससँगै पोखरा सार्वजनिक पुस्तकालय नयाँ भवनमा सरेर सेवा सुरु गरेको छ ।
विसं २०४९ मा स्थापना भएको पुस्तकालयमा विभिन्न विधाका १२ हजारभन्दा बढी पुस्तक छन् । महेन्द्रपुलमा रहेको पुरानो पुस्तकालय भवन हटाएर महानगरले झण्डा उद्यान बनाएपछि पुस्तकालयलाई अस्थायी रूपमा क्षेत्री समाजको भवनमा सारिएको थियो । पुस्तकालय सञ्चालनका लागि भवनसँगै फर्निचरलगायत सामग्री महानगरले उपलब्ध गराएको छ ।
‘पोखरा घर’को दोस्रो तलामा ८ वटा ग्यालरी निर्माण गरिएका छन् । ती ग्यालरीमार्फत पोखराको कला तथा सिर्जनासँग सम्बन्धित गतिविधि सञ्चालन गर्न सकिनेछ । भवनमै पोखरा कला प्रदर्शनी केन्द्र पनि रहनेछ । स्थानीय उत्पादनको प्रवर्धन र बजारीकरणका लागि कोसेली घरसमेत सञ्चालनमा ल्याइएको छ । पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा रहेको कोसेली घरको पनि औपचारिक उद्घाटन गरिएको छ ।
भवनको भुइँतलामा कोसेली घरसँगै सूचना केन्द्र राखिएको छ । त्यहाँ सशुल्क स्नानघर र शौचालयको पनि व्यवस्था गरिएको छ । स्नानघरमा एक पटकमा ७ जनाले स्नान गर्न सक्नेछन् । शौचालय ११ जनाले एकैपटक प्रयोग गर्न सक्ने व्यवस्था छ । भूमिगत तलामा पार्किङको सुविधा छ। भवनमा विद्युतीय भ¥याङ अर्थात् लिफ्टसमेत राखिएको छ । ‘पोखरा घर’ आधुनिक, सुरक्षित र अपांगमैत्री संरचनाका रूपमा तयार गरिएको छ।
उक्त भवनको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्थानीय स्तरमा उत्पादित मौलिक सामग्रीको प्रदर्शन र बिक्रीका लागि कोसेली घर साझा थलो बन्ने बताए । पोखरा आउने पर्यटकलाई लक्ष्य गरेर सञ्चालन गरिएको कोसेली घरले स्थानीय हस्तकला र घरेलु उत्पादनलाई प्रोत्साहन गर्ने महानगरको अपेक्षा रहेको उनले बताए ।
पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले पर्यटकीय राजधानी पोखरालाई थप जीवन्त बनाउन ‘पोखरा घर’ कोसेढुंगा बन्ने विश्वास व्यक्त गरिन् । मौलिक कला, साहित्य र संगीतको अभिलेखीकरण तथा प्रवर्धनमा महानगरले लगानी बढाउँदै लैजाने प्रतिबद्धता उनले जनाइन् ।
भवनका साइट इन्जिनियर लक्ष्मी गौतमका अनुसार भवन निर्माणमा भूकम्पीय प्रतिरोधात्मक प्रविधि र आधुनिक सुरक्षा मापदण्ड अपनाइएको छ । उनका अनुसार भवन निर्माणमा ५ करोड १२ लाख २६ हजार २ सय ४६ रुपैयाँ खर्च भएको हो ।















