पोखरा, कास्की जिल्लामा पर्ने मर्दी हिमाल क्षेत्रमा पदयात्रामा गएका तीन जना युवा तिन दिन देखि बेपत्ता भएकोमा उनीहरु मोदी खोलाको किनारमा सकुशल फेला परेका छन् । पदयात्राका क्रममा बाटो बिराएर उनीहरु भिर र जंगलको बीचमा पर्ने मोदी खोलाको किनारमा पुगेको प्रारम्भिक अनुमान गरिएका उनीहरु पोखरा महानगरपालिका- १४ खसिबजार बस्ने २४ वर्षका अजित जिसी, २३ वर्षका युकेश गुरुङ और २३ वर्षका दिपेश गुरुङ रहेको बुझिएको छ। उनीहरुलाई अन्नपूर्ण गाउँपालिका- ११ को छोमरंगको फेदीमा मोदी खोलापारि किनारमा फेला पारिएको हो । उनीहरुलाई सुरक्षित स्थानमा ल्याउनका सुरक्षाकर्मीको थप टोली उद्धारमा खटिएको बताइएको छ।
मर्दी हिमाल ट्रेकिङका लागिगत साउन १० गते निस्किएका उनीहरु माछापुच्छ्रे गाउँपालिका- ९ स्थित बादलडाँडाको जंगलमा अलपत्र परेका थिए । भोलिपल्ट अर्थात साउन २० गते बिहान ८ बजेसम्म सम्पर्कमा रहेका ती युवाहरु त्यसपछि सम्पर्कविहीन भएका थिए । उनीहरु हराएको सूचना पाएपछि बादलडाँडामा होटल सञ्चालन गर्ने प्रेम अधिकारीको नेतृत्वमा ४ जनाको टोली खोजीका लागि खटिएको थियो ।
हराएका युवाहरुको खोजी गर्ने क्रममा साउन २० गते साँझ पौने ६ बजे स्थानीयले उनीहरुलाई मोदी खोलापारि देखेपछि युवाहरु फेला परेको जानकारी आएपछि उनीहरुको उद्द्वारको लागि घान्द्रुक र बगरबाट प्रहरी टोली तथा सशस्त्र प्रहरीको कालिका गणबाट १० जनाको टोली घटनास्थल पुगेको थियो । खोलामा पानीको बहाव निकै ठूलो भएकाले आइतबार राति अबेरसम्म प्रयास गर्दा पनि उनीहरुलाई वारी ल्याउन नसकिएको प्रहरीले जनाएको छ ।

‘हामीले खोलामा अस्थायी पुल जस्तो बनाउने र पानीको बहावलाई एकातिर मोडेर उनीहरुलाई तार्ने कोसिस गरिरहेका छौँ,’ उद्धारमा खटिएका एक सुरक्षाकर्मीले भने । खोलाको जोखिम र रातको समय भएकाले आइतबार राति १० बजे उद्धार कार्य स्थगित गरिएको थियो । ‘खोलापारि रहेका युवाहरुलाई नआत्तिन र सुरक्षित स्थानमा बस्न जानकारी गराएका छौँ,’ उद्धार टोलीले भन्यो । रातको समयमा नेपाल प्रहरीका २ जना, सशस्त्र प्रहरीका ९ जना र नेपाली सेनाका ६ जना गरी १७ जनाको संयुक्त टोली घटनास्थल नजिकै रहेको हाइड्रोपावरको अस्थायी क्याम्पमा बसेको थियो । उनीहरुले रातभर युवाहरुको अवस्थाबारे निगरानी राखेका थिए ।
यसैबीच मर्दी पदयात्रामा गई सम्पर्कविहीन हुनुभएका तीन जना पदयात्रीहरू छोमरोङको पिंधस्थित मोदी खोलाको पारीपट्टि सकुशल भेटिएको र उनीहरुले हिजो र अस्ति ओढारमा रात बिताएको पर्यटन मन्त्री गनेश पौडेलले समेत जनाएका छन । ‘मोदी खोलामा पानीको अत्यधिक बहाव रहेका कारण हिजो साँझ तत्काल उद्धार गर्न सम्भव हुन सकेन। उद्धारका लागि डोजरको प्रयोग गरी रुख ढालेर अस्थायी पुल निर्माण गर्ने प्रयाससमेत सफल हुन सकेन। उक्त स्थानसम्म पुग्ने पारी अर्थात मर्दीपट्टीको भागमा असाध्यै भिरालो, अग्लो र कठिन भीर रहेको हुनाले उताबाट प्रयास गर्दा अझ ढिलो हुनसक्ने ठानिएको हो ।’

मन्त्री पौडेलले आंफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन ‘उक्त स्थानमा केही दिनदेखि लगातार पानी परिरहेको छ । सुरक्षित उद्धारका लागि आज बिहानैदेखि थप प्रयासहरू भइरहेको र भूगोल र मौसमको अवस्था हेरी हेलिकोप्टर मार्फत उद्दार गर्ने प्रयास पनि हुनेछ उहाँहरूका लागि हलुका तथा तत्काल उपभोग गर्न मिल्ने खानेकुराहरू खोलापारिबाट हुत्याएर पुर्याइएको छ।’
वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको नेतृत्वमा ७ जनाको थप उद्धार टोली घटनास्थलतर्फ गएको छ । अहिले सुरक्षाकर्मीको टोलीले स्थानीय बासिन्दासँगको समन्वयमा युवाहरुलाई सुरक्षित रुपमा खोला तार्ने काम गरिरहेको छ । ती युवाहरुको मोबाइल अफ भएकाले उनीहरुसँग सिधा टेलिफोन सम्पर्क हुन सकेको छैन । उद्धार टोलीले खोला वारी र पारिबाट एकआपसमा संकेत र आवाजका माध्यमबाट समन्वय गरिरहेको छ । घटनास्थल बगरस्थित प्रहरी कार्यालयबाट झण्डै ६९ किलोमिटर उत्तरमा पर्छ ।















