पोखरा, नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी सदस्य सन्तोष पोखरेलले पर्यटन प्रबर्द्दन र संरक्षणका कामलाई प्राथमिकतामा राखेर पर्यटन बोर्ड अघि बढ्दै गरेको बताएका छन् । होटल संघ पोखरा नेपालले सोमबार पोखरामा पोखरेलको सम्मानमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले पूर्वाधार विकासमा भन्दा प्रबर्द्दनमा नै बोर्डले प्राथमिकता दिने स्पष्ट पारे । यसका लागि पर्यटकलाई आबश्यक पर्ने सबै जानकारी समेट्ने गरी क्युआर कोड विकास गर्ने तयारीमा बोर्ड रहेको उनले बताए ।
बोर्डको प्रादेशिक कार्यालय पोखरामा हुनु सुखद पक्ष भएको बताउँदै उनले यसबाट व्यवसायीले फाइदा लिन सक्नुपर्ने भनाई राखे । पोखराका तालहरुको संरक्षणका लागि बजेट छुट्टिएको, यहाँ भएका विभिन्न ताल मध्ये एउटा ताल जलगतिविधिका लागि छुट्याउने तयारी भएको, आरोग्य पर्यटनलाई अगाडि बढाउन बोर्ड गंभीर भएर लागिरहेको र उचाईमा यात्रा गर्ने पर्यटकको सुरक्षाका लागि टानसँग समेत बोर्डले समन्वय गरिरहेको पोखरेलले बताए ।
पोखरा होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बोर्डसँग समन्वय गरेर आफूहरु अगाडि बढ्न चाहेको बताए । संघले विगतदेखि संचालन गर्दै आएको ‘चलिए पोखरा’ जस्तो कार्यक्रमको प्रभावका कारण पोखरा आउने भारतीय पर्यटकको संख्या ह्वात्तै बढेको उनले जानकारी गराए । यसप्रकारका प्रबर्द्दन कार्यक्रम निजी क्षेत्रले संचालन गर्न सहज हुने खालका नीतिनियम बोर्डले बनाउनुपर्ने सुझाव पनि उनले राखे । होटलका कर्मचारी र संचालकका लागि आबश्यक तालिम संचालनमा पर्यटन बोर्डले सघाउनुपर्नेमा उनले जोड दिए ।
होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले पीडितहरुको पनि कुरा सुन्दै फेवा तालको संरक्षमा सरकार गंभीर बन्नुपर्ने भनाई राखे। फेवा संरक्षणका लागि सरकारले बजेट छुट्याएको आफूले थाह नपाएको बताउँदै उनले यस तालका लागि कति बजेट छुट्टियो त भनी प्रश्न राखे । पदयात्रा क्षेत्र लगायत अन्य ठाउँमा पुराना भइसकेका संकेत बोर्डहरु फेर्नुपर्ने सुझाव पराजुलीले दिए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरा आउने पर्यटकको संख्यालाई कसरी र कुन ठाउँबाट एकिन गर्न सकिन्छ भनी छलफल अघि बढिसकेको जानकारी दिए । नेपाल एकेडेमी अफ टुरिजम, होटल एण्ड माउन्टेनियरिङ (नाथम) पोखरामा आउने तयारी अगाडि बढेको जानकारी दिंदै लामिछानेले जग्गाको टुंगो लागे ति संस्थाले पोखरामा समेत आफ्नो उपस्थिति जनाउने बताए ।
पोखरा आउने पर्यटकको बसाई अवधि लम्ब्याउनेतर्फ ध्यान दिनुपर्ने, पर्यटकलाई बोलाउनु पूर्व तयारी हुनुपर्ने, यस विषयमा पालिकाहरुसँग समन्वय गरिनुपर्ने र धेरै संख्यामा पर्यटक आउँदा तिनको व्यवस्थापनका लागि पोखराले आफूलाई सक्षम बनाउनुपर्ने तथा विविध भाषामा स्तरीय प्रचार सामग्री विकास गरिनुपर्ने सुझाव पनि कार्यक्रममा राखिएको थियो ।
दृष्यावलोकन सम्वन्धि प्याकेजहरु एकद्वार प्रणालीबाट बेचिनुपर्ने र एक्यापले अन्नपूर्ण क्षेत्रमा आफ्नो क्षमता अनुसारको संख्यामा मात्र बिभिन्न मुलुकका पर्यटकहरुलाई पठाउनुपर्ने सुझाव पनि कतिपयले दिएका थिए । कार्यक्रममा संघका पूर्व अध्यक्ष विकल तुलाचन, प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ, द्वितीय उपाध्यक्ष गणेशराज पहारी, कोषाध्यक्ष नेत्रप्रसाद पौडेल रमेश, सचिव पार्वता पाण्डे र सदस्य शिवराज पहारीले पनि भनाई राखेका थिए ।
१८ श्रावण २०८३, सोमबार २१:२२ मा प्रकाशित















