काठमाडौँ, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई भक्तपुरबाट पक्राउ गरेको बुझिएको छ ।
पटक पटक बिभिन्न आरोप लगाएर सरकारले पक्राउ गर्दै आएका प्रसाईंलाई भक्तपुरका एसपी सुर्य खड्का नेतृत्वको प्रहरी टोली भक्तपुरको निकोसेरास्थित उनको घरमा आइतबार राति पुगेर पक्राउ गरेको हो । प्रसाईंलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ ।
प्रसाईंले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर आन्दोलन गर्ने घोषणा गरेका थिए । आन्दोलनको घोषणा गरेसँगै प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीको उच्च स्रोतले पुष्टि गरेको छ ।
गत वर्ष जेनजी प्रदर्शन भन्दा अगाडी उनले काठमाडौँको तीनकुनेमा प्रदर्शन गरेका थिए । त्यसबेला दुई जनाको मृत्यु भएको थियो ।
यसअघि गत जेठ ४ गते पनि प्रहरीले उनलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो । त्यसबेला प्रहरीले उनलाई सामाजिक सञ्जालमा अपशब्द बोलेको कसुरमा मुद्दा चलाएको थियो ।
पक्राउ पर्नु अगाडी काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले वर्तमान लोकतान्त्रिक भनिने व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता खोसिएको र विचार मानिने लोकतन्त्रमा नागरिकका आधारभूत अधिकार समेत कुण्ठित गरिएको बताएका थिए ।
उनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको उपदेश स्मरण गर्दै नेपाल सबै जातजाति र वर्गको साझा फूलबारी भएको बताए । उनले सरकार र सत्तापक्षीय नेताहरूले आफ्ना मान्छे खडा गरेर नक्कली सहमति र प्रपञ्च रचिरहेको आरोप समेत लगाए ।
प्रसाईंले आफूहरूको आन्दोलन कुनै धर्म वा समुदाय विशेषको विरुद्ध नभई सिङ्गो व्यवस्था परिवर्तनका लागि भएको प्रस्ट पारे। उनले पूर्ववर्ती सरकार र सम्झौताहरूको प्रसङ्ग जोड्दै किरात र बौद्ध धर्मसहितको वैदिक सनातन हिन्दु अधिराज्य र राजसंस्थाको पुनर्बहाली नै आफूहरूको मुख्य एजेण्डा भएको दोहोर्याए।
प्रसाईंले संविधान संशोधन गरी उच्चस्तरीय कार्यदल मार्फत आफ्ना मागहरू सम्बोधन नभए व्यवस्था ढाल्नेसम्मको चेतावनी दिए । प्रसाईंले नेपालका सम्पूर्ण बुद्धिजीवी, पत्रकार, र नागरिकहरूलाई देशको अस्तित्व जोगाउन र हिन्दु राष्ट्र पुनर्बहालीका लागि एकै ठाउँमा उभिन अपिल गरेका छन्।















