Play

कांग्रेसमा बिभाजन रोक्न दवाब, संस्थापन र इतरबाहेक तेश्रो समुह र जनप्रतिनिधिहरुको छुट्टाछुट्टै भेला हुँदै

गुरुकुल खबर


पोखरा, विभाजनको संघारमा पुगेको लागिने नेपाली कांग्रेसको आन्तरिक विवाद अन्त्य गर्न एबम पार्टीलाई विभाजनबाट बचाएर एकता कायम राख्न पार्टीको संस्थापन पक्ष र इतर पक्षसामु दबाब बढ्दै गएकोछ । पार्टीलाई फुटबाट जोगाउनको लागि भन्दै विभिन्न पक्षले दबाब दिइरहेका छन् । दुवै पक्षले आफ्ना अडानलाई ‘इगो’ को विषय बनाउँदा र बेग्लाबेग्लै भेलाको राजनीतिले कांग्रेस अहिले एकता र विभाजनको दोसाँधमा उभिएको छ ।

पार्टी एकताका लागि दबाब दिन भन्दै साउन २० गते पार्टीका युवा नेताहरूले र साउन २७ गते पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरूले छुट्टाछुट्टै भेलाको घोषणा गरिसकेका छन् । यसैगरी विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाको समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा ‘राष्ट्रिय भेला’को घोषणा गर्दै पूर्वमहामन्त्री डा.शशांक कोइरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय आयोजक समिति बनाएको छ । पूर्वमहामन्त्री डा. कोइरालाले पार्टीलाई सबल बनाउन भेला गर्न लागिएको बताए ।

पार्टीभित्र बढ्दो ध्रुवीकरणलाई चिर्न भन्दै निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महर, राष्ट्रिय सभा सदस्य रञ्जित कर्ण, पुष्पराज शाहीसहितको समूहले साउन २० गते सुकेधारामा ‘एकता भेला’ गर्ने घोषणा गरेको छ । आइतबार बानेश्वरमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय सभा सदस्य कर्णले त्यो भेलामा संस्थापन र इतर दुवै पक्षलाई एउटै मञ्चमा उभ्याउने बताए । कर्णले भने, ‘पार्टी फुटको डिलमा छ, हामी पदका लागि होइन, एकताका लागि लागेका हौँ ।’

कांग्रेस नेता एवं राष्ट्रियसभा सदस्य रंजित कर्णले पार्टी सभापति गगनकुमार थापा र डा शशांक कोइरालाको दुवै समूह पार्टीलाई एक बनाउन लाग्नुपर्नेमा जोड दिए । कोइरालालाई शनिबार चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमार्फत अभियानको संयोजक घोषणा गरिएको थियो । पार्टीभित्रको आन्तरिक विवादले संगठनलाई असर गरेकाले एकता अनिवार्य रहेको कर्णले उल्लेख गरे ।

तनहुँको भानु नगरपालिकाका नगरप्रमुख समेत रहेका कांग्रेस नेता आनन्द त्रिपाठीले देशभरका जनप्रतिनिधिलाई यो अभियानमा सहभागी हुन आग्रह गरे । उनले कांग्रेस र देश जोड्ने अभियानमा साथ दिन सबै जनप्रतिनिधिसँग अनुरोध गरे । कांग्रेस एक ढिक्का भए मात्र देशको विकास सम्भव हुने उनको भनाई थियो।

यसैगरी पार्टी एकताका लागि भन्दै स्थानीय तहका जनप्रतिनिधिहरूले पनि पार्टीको नेतृत्वलाई दबाब दिइरहेका छन् । भीमप्रसाद ढुंगाना, चिरिबाबु महर्जन, उपेन्द्र कार्कीसहितका कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले ‘संयुक्त राष्ट्रिय दबाब अभियान’ सञ्चालन गरिरहेका छन् । उनीहरूले नेतृत्वलाई चेतावनी दिँदै पार्टी विभाजनको बाटोमा गए आफूहरूले सामूहिक रूपमा पदबाट राजीनामा बताएका छन् । उनीहरूले साउन २७ गते राष्ट्रिय भेला बोलाएका छन् ।

अर्को तर्फ उपचारका लागि हङकङमा रहेका निवर्तमान सभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले विशेष महाधिवेशनसम्बन्धी सर्वोच्चको फैसला पुनरवलोकनको माग गर्दै रिट दायर गरेका छन् । पार्टीभित्रको चर्को विवाद र दबाबबिच कांग्रेसले साउन २४ गते केन्द्रीय समिति बैठक बोलाएको छ । असोज १६ गतेदेखि १९ गतेसम्म १५ औँ महाधिवेशन गर्ने मिति तय गरेको कांग्रेसमा क्रियाशील सदस्यता वितरण र विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी विवाद चरमोत्कर्षमा छ ।

१७ श्रावण २०८३, आईतवार २२:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा