Play

जनसम्पर्क समिती अमेरिकाको नेतृत्वको लागी दौडधुप शुरु, गगन-विश्वको समर्थन रहेको भन्दै आन्तरिक प्रचार

गुरुकुल खबर


अमेरिका, नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिबेशन आगामी अगष्ट १४ देखि १६ सम्म अमेरिकाको भर्जिनियामा हुँदैछ। सन् २०१४ मा भएको अधिबेशनबाट निर्बाचित अध्यक्ष आनन्द बिष्ट नेतृत्वको समितिको आन्तरिक कारण एबम पार्टीले बिभिन्न समयमा दिएको निर्देशनका कारण जनसम्पर्क समितिको अधिबेशन पटक पटक अबरुद्ध बन्दै आएको थियो। यस पटक अधिबेशन सम्पन्न गर्न नेपाली काँग्रेसले बिष्ट नेतृत्वको समितिका बरिष्ठ उपाध्यक्ष रहेका धनन्जय नरसिंह केसीलाई जिम्मेवारी दिएको छ।

यसपटक भने बिष्ट अध्यक्ष रहेको समय अर्थात गत डिसेम्बरमा नै अमेरिकाका २५ भन्दा बढी राज्यमा नेपाली जनसम्पर्क समितिको अधिबेशन सम्पन्न भैसकेको छ। बिभिन्न राज्यको अधिबेशन सकिएर अमेरिकाको केन्द्रीय अधिबेशन हुनु अगाडी नेपाली काँग्रेसको बिशेष महाधिबेशन र नेपालमा संसदीय चुनाब समेत भएको कारण बिभिन्न राज्यमा अधिबेशन सकिएपनि अमेरिकाको केन्द्रीय अधिबेशन हुनमा ढिलाई भएको हो।

नेपाली काँग्रेसले पुषको अन्त्यमा बिशेष महाधिबेशन गरेर गगन थापा नेतृत्वमा नयाँ केन्द्रीय समिति बनाएपछि बिष्टलाई फागुन २१ मा चुनाब लड्ने उमेदवार र केसीलाई जनसम्पर्क समितिको अधिबेशन गर्न संयोजकको जिम्मेवारी दिईएको हो। नेपाली जनसम्पर्क समिति अमेरिकामा यस अगाडी पनि पटक पटक बिबाद हुँदै आएको थियो।

शुरुवातमा पनि अर्जुन देवकोटा र आनन्द बिष्ट दुबैजनाले समितिको संयोजक दाबि गरेर काम गर्न थालेपछि पार्टीले खगेन्द्र जिसीलाई जन सम्पर्क समिति अमेरिकाको अध्यक्ष बनाएर पठाएको थियो । जिसीले काम गरिरहेको भएपनि उनले समेत समयमै अधिबेशन गर्न नसकेको भन्दै सुशील कोइराला पार्टीको सभापति हुँदा बिष्णु सुबेदीलाई पार्टीले अधिबेशन गर्ने जिम्मेवारी सुम्पिएको थियो। त्यसपछि भएको समितिको  अधिबेशनमा सुबेदी र आनन्द बिष्टको बिचमा प्रतिष्पर्धा हुँदा बिष्ट निर्बाचित भएका थिए ।

२०१४ मा भएको उक्त अधिबेशनपछि पटक पटक अधिबेशन गर्नुपर्ने आवाज उठेको भएपनि समिति भित्रको आन्तरिक बिबाद र पार्टीको स्पष्ट निर्देशनको अभावको कारण अधिबेशनको उद्घाटन भएर पनि नेतृत्व चयनको प्रक्रिया टुंगिन सकेको थिएन।

१२ बर्षपछि यहि अगष्टमा हुने भनिएको अधिबेशनबाट नेतृत्वमा पुग्न केहि पुरानै र केहि नयाँ अनुहारले चासो देखाएका छन। केहिले उमेदवार बन्ने औपचारिक घोषणा समेत गरिसकेको र केहिले आन्तरिक रुपमा तयारी अगाडी बढाएको बुझिएको छ। तर, आर्थिक कारणले अधिबेशन फेरी रोकिने त हैन भन्ने आशंका समेत उब्जिएको छ ।

को को छन त अध्यक्षका आकांक्षीहरु ?

यसपटक नेपाली जनसम्पर्क समितिको अध्यक्ष पदका लागि यस अगाडीका अध्यक्षका प्रतिष्पर्धी बिष्णु सुबेदी, बिष्ट नेतृत्वको समितिका उपाध्यक्ष सिपि पौडेल, महासचिब मुनिन्द्र नेम्बांग, यस अगाडी महासचिबमा नेम्बांगसंगै प्रतिष्पर्धा गरेका बिनोद भट्ट र केन्द्रीय सदस्य एबम प्रबक्ता रहेका गौतम दाहालले अध्यक्ष बन्ने चाहना राखेका छन। कतिपयले जनसम्पर्क समितिका संस्थापक समेत रहेका कांग्रेस महाधिबेशन प्रतिनिधि बेदप्रकाश खरेललाई पनि अध्यक्षको आकांक्षीको रुपमा लिएको छन ।

अमेरिकाको जनसम्पर्क समितिको नेतृत्व लिन आकांक्षीको रुपमा चर्चामा रहेकाहरु मध्ये अधिकांश कांग्रेसको बर्तमान नेतृत्व अर्थात गगन र विश्वप्रकाशसंग निकट रहेको अर्थात उनीहरुको समर्थन आँफुलाई मिल्ने भन्दै सबैले आन्तरिक रुपमा प्रचार शुरु गरेका छन । अध्यक्ष पदमा सबै भन्दा पहिले औपचारिक रुपमा उमेदवारी घोषणा गरेका गौतम दाहालले पनि आँफुलाई गगन र विश्वसंग निकट रहेको र उनीहरुको समर्थन आँफुलाई मिल्ने बताउंदै आएको बुझिएको छ।

उनि आनन्द बिष्ट नेतृत्वको समितिमा प्रबक्ता बनेको कारण कतिपयले उनलाई पार्टी भित्र देउवा समुहको भनेर चिन्ने गरेका थिए। तर, उनले आंफुले गगन पार्टीको महामन्त्री हुँदा उनको निर्देशनमा अमेरिकामा केहि काम गरेको र विश्वप्रकाशसंग पनि छहारी सम्बाद लगायतका कार्यक्रम संगै गरेकोले उनीहरुको समर्थन आँफुलाई मिल्ने दाबि गर्छन। नेपालमा ओखलढुंगा घर भएका उनि अमेरिकाको मेरिल्याण्डमा बस्दै आएका छन।

अघिल्लो पटक आनन्द बिष्टसंग पराजित बिष्णु सुबेदी बिगतमा डा. शेखर कोइरालाको पक्षधर मानिन्थे । सोहि समुहका नेताहरुको समर्थनमा जनसम्पर्क समितिको विश्व संजालको अध्यक्ष बनेको भएपनि पार्टीले विश्व संजाललाई आधिकारिकता नदिएको कारण उनको नेतृत्वमा बनेको  समिति करिब बेवारिसे जस्तै बनेको छ। यसपटक सुबेदीले सम्भव भएसम्म समितिको विश्वसंजाललाई नै आधिकारिकता दिलाएर आँफु सोहि संजालको अध्यक्ष बन्ने अन्यथा अमेरिकाको मात्र भएपनि अध्यक्ष बन्ने सोचाई अनुरुप अगाडी बढेको बताइएको छ।

बिगतमा कोइराला पक्षधर् मानिने सुबेदी कांग्रेसको बिशेष महाधिबेशनमा नेपाल आएर गगन थापालाई पार्टीको सभापति बनाउन बिभिन्न सहयोग गरेको कारण आँफुलाई गगन थापाको सहयोग मिल्नेमा विश्वस्त देखिन्छन। सुबेदीको घर नेपालको बाग्लुंग जिल्लामा रहेको र हाल उनि टेक्सासमा बस्दै आएको छन।

यसैगरी आनन्द बिष्ट नेतृत्वको समितिको उपाध्यक्ष रहेर काम गरेका सिपि पौडेल अर्थात चेतप्रसाद पौडेलले पनि यस पटक अध्यक्ष पदमा चुनाब लड्ने चाहना व्यक्त गरेको बुझिएको छ। नेपालको सिन्धुली घर भएका पौडेल अमेरिकाको टेक्सासमा बस्दै आएका छन।

अर्का आकांक्षी मुनिन्द्र नेम्वांग यस अगाडिको आनन्द बिष्ट नेतृत्वको कार्यसमितिका महासचिब हुन । नेपालको पांचथर जिल्ला घर भएका नेम्वांग अमेरिकाको न्युयोर्कमा बस्दै आएको छन। उनले आँफुलाई नेपाली काँग्रेसका बर्तमान उपसभापति विश्वप्रकाश शर्मासंग निकट रहेको भन्दै शर्माको समर्थन आँफुलाई नै रहने बताउंदै आएका छन। २०७२ सालमा नेपालमा भूकम्प गएको बेला अमेरिकामा नेपालीहरुबाट संकलित चन्दा सहयोगको रकमको कारण उनि पनि समितिभित्र बिबादमा परेका थिए। तर उक्त बिबाद त्यसै मत्थर हुँदै गएको छ।

यसैगरि जनसम्पर्क समितिको नेतृत्व लिन चाहना राख्ने अर्का व्यक्ति बिनोद भट्ट पनि हुन। उनि यस अगाडिको अधिबेशनमा महासचिब पदको प्रतिष्पर्धी थिए। तर महासचिबमा मुनिन्द्र बिजयी बनेको कारण उनि समिति बाहिर परेका थिए। यसपटक पनि नेम्वांगसंगै अध्यक्ष पदमा चुनाब लड्नेमा भट्टको चर्चा भैरहेको छ।

नेपालमा गोर्खा घर भएका भट्ट बिगतमा माओबादी पिडित समेत हुन। उनले पनि आँफुलाई पार्टीका सभापति गगन थापाको समर्थन रहने बिश्वास व्यक्त गर्दै आएका छन । उनि अमेरिकाको नर्थ क्यारोलिनमा बस्दै आएको छन।

अध्यक्षका अर्का आकांक्षीको रुपमा नेपालको चितवन घर भएका बेदप्रकाश खरेललाई पनि लिने गरिएको छ। जनसम्पर्क समितिको संस्थापक रहेका उनि यस अगाडी खगेन्द्र जिसी जनसम्पर्क समितिको  संयोजक हुँदा सहसंयोजक रहेका थिए नेपालको चितवन घर भएका खरेल लामो समयदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आएको छन। उनि बिभिन्न व्यवसायमा समेत संलग्न छन। देउवा समुहको बिरोधिको रुपमा चिनिने खरेलले यस अगाडीको अधिबेशनमा भने बिष्टलाई नै सहयोग गरेको चर्चा चलेको थियो।

यसपटक खरेलले गगन थापालाई पार्टीको बिशेष महाधिबेशन सम्पन्न गर्न अमेरिकाबाट राम्रो आर्थिक सहयोग पठाएको चर्चा समेत चलेको थियो। खरेलले अझैसम्म अध्यक्ष पदमा चुनाब लड्ने वा अरु कसैलाई सहयोग गर्ने भन्ने बारेमा मुख खोलेका छैनन। हाल उनि नेपालमा रहेको र केहि दिनभित्र अमेरिका पुगेर निर्णय गर्ने सोचाईमा रहेको बुझिएको छ ।

अधिबेशन रोकिने हो कि भन्ने आशंका

नेपाली जनसम्पर्क समिति अमेरिकामा अन्तर्गत रहेका सबै च्याप्टरको अधिबेशन बिबादरहित ढंगले सम्पन्न भैसकेको कारण यसपटक समितिको अधिबेशन पनि नरोकिने विश्वासमा सबैजसो देखिएको छन। तर, आर्थिक कारणले अधिबेशन रोकिने त हैन भन्ने चिन्ता पनि त्यत्तिकै छ ।

हाल अमेरिकामा करिब ४ हजार जना नेपाली जनसम्पर्क समितिको सदस्य रहेको र उनीहरुले सदस्यता शुल्क बापत प्रतिव्यक्ति बुझाएको ३० डलरबाट ५० प्रतिशत अर्थात १५ डलर नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा पठाउनुपर्ने प्रावधान रहेको छ। यसरि हेर्दा ४ हजार सदस्यको सदस्यता शुल्क मात्र पनि करिब एक करोड नेपाली रुपैया नेपालमा पठाउनुपर्ने हुन्छ। यसको मुख्य जिम्मेवारी अधिबेशन गराउन संयोजक नियुक्त धनन्जय नरसिंह केसी सामु आइपरेको छ ।

अमेरिकाबाट त्यति ठुलो रकम नेपालमा पठाउन सहज छैन। त्यसमाथि सदस्यता शुल्क जम्मा भएको बैंकको खातामा आनन्द बिष्टको हस्ताक्षर कायम रहेकोले उक्त हस्ताक्षर परिवर्तन गरेर धनन्जय नरसिंह केसीको नाममा ल्याउने प्रक्रिया अझै शुरु नहुँदा कतै आर्थिक समस्याको कारण अधिबेशन रोकिने त हैन भन्ने शंका समेत उब्जिएको छ।

तर, केसीले बैंकको खातामा जम्मा भएको पैसा चलाउने भन्दा पनि समितिको चुनाबमा उमेदवारी दिनेहरु र पार्टीको महाधिबेशन प्रतिनिधि बन्ने १४ जनाबाट ब्यबस्थापन गर्ने सोच बनाएको बुझिन्छ। उनले अधिबेशन सम्पन्न गर्ने कुरामा शंका नगर्न आग्रह गर्दै कुनै कारणले अधिबेशन रोकिन पुगेमा आंफु जिम्मेवारीबाट अलग रहने कुरा समाज टाइम्सलाई बताएको सार्बजनिक भएको छ ।

नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिबेशनको उद्घाटन गर्न पार्टीको तर्फबाट महामन्त्री गुरुराज घिमिरे जाने करिब निश्चित भएको बताइएको छ। घिमिरे सहित तीनजना अधिबेशनमा सहभागि बन्न जाँदा अमेरिकन राजदुताबासले भिषा बापत ३० हजार अमेरिकी डलर धरौटी माग गरेपछि उक्त रकमको समेत जोहो गर्नुपर्ने अबस्थामा आयोजक पुगेको बताइएको छ ।

१५ श्रावण २०८३, शुक्रबार १३:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा