बिरगंज, सुनसरीको देवानगञ्जमा भएको झडपको घटनापछि तराईका बिभिन्न जिल्लामा समेत प्रदर्शन र झडप हुँदा सिराहामा एक जनाको ज्यान गएको छ भने तोडफोड र आगजनी समेत भैरहेको छ। बिहीबार सुनसरी, धनुषा र सिरहामा दुई पक्षबीच भएको तनावका क्रममा सिराहामा दुई युवकलाई गोली लाग्दा एकजनाको मृत्यु भएको र अन्य कतिपय घाइते भएका छन। यस अगाडी सुनसरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भैसकेको छ ।
सुनसरीमा भएको झडपपछि अन्य जिल्लामास अमेत भएको झडपमा प्रहरीको गोली लागेर तीनजनाको मृत्यु भैसकेको छ भने दर्जनौं घाइते भएका छन। सुनसरीको घटनालाई लिएर सिराहाको गोलबजारमा बिहीबार बिहानैदेखि तनाव सुरू भएको थियो । बिभिन्न जिल्लामा प्रदर्शन चर्किएपछि बिहीबार सुनसरी, धनुषा र सिरहामा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।
गोलबजारमा भएको झडपको क्रममा सिरहाको तुलसीपुरका २० वर्षीय गणेश यादव र धनुषाको धारापानीका १९ वर्षीय सुभाष ठाकुरलाई प्रहरीको गोली लागेकोमा गणेश साहको मृत्यु भएको समाचार केहि संचारमाध्यमबाट समेत सार्बजनिक भैसकेको छ। उनीहरुलाई प्रहरीको गोली लागेपछि प्रदर्शनकारीहरूले स्थानीय एबी मलमा आगो लगाइदिएका थिए।
सिराहाका सहायक प्रमुख जिल्ला अधिकार चेतराज बरालका अनुसार घाइतेमध्ये गणेश साहको मृत्यु भइसकेको र सुभाषलाई गोलबजारमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरान रिफर गरिएको र उनको अवस्था पनि गम्भीर रहेको बुझिएको छ ।

सिराहाको गोलबजार र लाहान क्षेत्रमा कर्फ्यु आदेश
सिरहाको गोलबजार र लहान क्षेत्रमा जिल्ला प्रशासन कार्यालय सिरहाले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो । लहानमा पनि तनाव बढेपछि अपरान्हदेखि त्यहाँ पनि कर्फ्यु जारी गरिएकाे छ । जिल्लाको सुरक्षा अवस्थाको विश्लेषण गर्दै पूर्व-पश्चिम राजमार्गको गोलबजार नगरपालिका-३ स्थित कसहा खोलादेखि पश्चिमतर्फ चोहर्वा चोकसम्म, उत्तरतर्फ वडा – ६ को सैनिक चोकदेखि दक्षिणतर्फ वडा ४ को क्याम्पस वरिपरिको क्षेत्रमा कर्फ्यु लागू गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । गोलबजारमा बिहीबार बिहानैदेखि तनाव भएपछि जिल्ला प्रशासन कार्यालयले स्थिति नियन्त्रणमा लिन गोलबजारमा प्रहरीले २० राउन्डबढी अश्रुग्यास प्रहार गरेको थियो ।
धनुषाका तीनवटा पालिकामा कर्फ्यु आदेश
यसैगरी जिल्ला प्रशासन कार्यालय धनुषाले तीनवटा पालिकामा कर्फ्यु आदेश जारी गरेको छ । जनकपुर उपमहानगरपालिकाका सबै वडा, लक्ष्मीनिया गाउँपालिका र नगराइन नगरपालिकामा कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।बिहीबार दिउँसो ३:३० बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्मको लागि कर्फ्यु आदेश जारी गरिएको छ । सुनसरी घटनालाई लिएर जनकपुर र आसपासको क्षेत्रमा बिहीबार बिहानैदेखि प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश जारी गरेको हो ।
सुनसरीका १९ स्थानीय तहमा कर्फ्यु आदेश कायम
सुनसरीका १० स्थानीय तहमा मंगलबार रातिदेखिको कर्फ्यु आदेश बिहीबार पनि कायम छ। जिल्ला प्रशासन कार्यालयले मङ्गलबार राति ९ बजेदेखि जारी गरेको कर्फ्यु आदेश आज दिनभर लागू रहने जनाएको छ। सुरक्षाको अवस्था क्रमशः सहज बन्दै गए पनि मृतकका परिवारसँग सहमति हुन नसकेका कारण कर्फ्युलाई निरन्तरता दिइएको जनाइएको छ। घटनापछि विगत पाँच दिनदेखि प्रशासन र मृतक परिवारबीच प्रभावकारी समन्वय हुन नसक्दा मृतकको शव अझै अस्पतालमै राखिएको छ।
मृतकका परिवारले मृतकलाई सहिद घोषणा गर्न, उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा घटनाका दोषीमाथि कारबाही नभएसम्म शव नबुझ्ने अडान कायम राखेका छन्। प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न, अफवाहमा विश्वास नगर्न तथा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।
वीरगन्जमा निषेधाज्ञा
यसैगरी जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाको मुख्य तथा संवेदनशील क्षेत्रमा शुक्रबार बिहानसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । सम्भावित तनाव र शान्ति–सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले बिहीबार निषेधाज्ञाको आदेश जारी गरेका हुन्। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ। प्रशासनले सर्वसाधारणलाई संयमता अपनाउन, अफवाहमा नलाग्न तथा शान्ति–सुरक्षा कायम राख्न सुरक्षाकर्मीलाई सहयोग गर्न आग्रह गरेको छ।















