पोखरा, नेपालको वेलनेस तथा स्पा क्षेत्रमा नयाँ कीर्तिमान कायम गर्दै ट्रन्क्यूलिटी स्पा प्रालिले आईएसओ ९००१ः२०१५ गुणस्तर व्यवस्थापन प्रणालीको अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेको छ। यससँगै ट्रन्क्यूलिटी स्पा नेपालकै पहिलो तथा एकमात्र आईएसओ ९००१ः२०१५ प्रमाणित स्पा तथा वेलनेस ब्राण्ड बनेको कम्पनीको दाबि छ।
यो प्रमाणपत्र युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस) बाट प्रदान गरिएको हो। यूआरएस युकेएएस र आईएएफ बाट मान्यता प्राप्त विश्वव्यापी प्रमाणीकरण निकाय हो। प्रमाणीकरणको दायराभित्र थेराप्युटिक मसाज, सबै प्रकारका ब्युटी थेरापी, स्टिम, सौना, ज्याकुजी, जिम, स्विमिङ पुल तथा टेनिस सुविधा समेटिएका छन्। कम्पनीका अनुसार यसले सञ्चालन प्रणाली, सरसफाइ मापदण्ड र ग्राहक सेवा अन्तर्राष्ट्रिय स्तरअनुसार रहेको पुष्टि गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन फैजुले आईएसओ ९००१ः२०१५ प्रमाणपत्र केवल उपलब्धि मात्र नभई प्रत्येक ग्राहक प्रतिको प्रतिबद्धताको प्रतीक भएको बताए। उनका अनुसार ट्रन्क्यूलिटी स्पाको जुनसुकै शाखामा पुगे पनि ग्राहकले समान स्तरको सेवा, सरसफाइ र हेरचाह अनुभव गर्नेछन्।
त्यस्तै, प्रमुख सञ्चालन अधिकृत (सीओओ) रनिल फैजुले यो मान्यता वर्षौंदेखि कम्पनीले विकास गर्दै आएको प्रणाली र मापदण्डको अन्तर्राष्ट्रिय प्रमाणीकरण भएको उल्लेख गरे। उनले गुणस्तर, निरन्तर सुधार र सरसफाइलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे।
१८ वर्षअघि काठमाडौंको लाजिम्पाटबाट सुरु भएको ट्रन्क्यूलिटी स्पाले हाल काठमाडौं, पोखरा, चितवन, भैरहवा तथा मलेसियाका विभिन्न प्रतिष्ठित होटलसँगको सहकार्यमा सेवा सञ्चालन गर्दै आएको छ। कम्पनीमा ३ सयभन्दा बढीले रोजगारी पाएका छन्।















