पोखरा, पोखरा महानगरपालिकाले गठन गर्ने पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा प्रसिद्ध साहित्यकार सरस्वती लालचन ‘प्रतीक्षा’ लाई नियुक्त गरिएको छ । पोखरा महानगरपालिकाका उपप्रमुख मंजुदेबी गुरुङको संयोकत्वमा रहेको सिफारिस समितिले गरेको सिफारिसको आधारमा प्रतिष्ठानको कुलपति सहित अन्य पदमा पनि नियुक्ति दिईएको हो ।
कुलपतिमा नियुक्ति भएपछि प्रतीक्षाले आफूलाई प्रदान गरिएको जिम्मेवारी निष्ठापूर्वक बहन गर्ने प्रतिबद्धता व्यक्त गरिन । पोखरेली प्राज्ञिक क्षेत्रको विकास र श्रीवृद्धिमा आँफु र आंफ्नो नेतृत्वको टिम समर्पित भएर लाग्ने उल्लेख गर्दै उनले पोखरा प्रज्ञा प्रतिष्ठानलाई नमुना प्रतिष्ठानका रूपमा स्थापित गर्ने समेत उद्घोष गरिन ।

पोखरा महानगरपालिकाका प्रमुख प्रमुख धनराज आचार्यले बुधबार आयोजित एक समारोहमा प्रतिष्ठानका नवनियुक्त कुलपति सरस्वती लालचन ‘प्रतीक्षा’ (भाषा तथा साहित्य), उपकुलपति तिलक पुर्जा पुन मगर (कला तथा साहित्य) र सदस्य–सचिव जीवन दाहाल (लोकगीत तथा सङ्गीत) लाई जिम्मेवारी सहित नियुक्ति प्रदान गरेका छन।

पोखरा महानगरपालिकाले पोखरा प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ (दोस्रो संशोधन, २०८२) अनुसार कुलपति लगायतका पदाधिकारीहरू नियुक्त तथा मनोनयन गरेको हो । प्रतिष्ठानको प्रज्ञा परिषद् सदस्यमा श्रीजङ्ग गुरुङ (नृत्य), हरेराम जोजेजु (फाइन आर्ट ललितकला), दिलीप गायक (सङ्गीत तथा वाद्यवादन) र प्रमीला ताम्राकार तुलाचन (रङ्गमञ्च तथा अभिनय) रहेका छन।
यस्तै प्रज्ञा सभा सदस्यमा कल्पना चिलवाल (साहित्य), कृष्णप्रसाद गौतम (संस्कृति), गमबहादुर परियार (नृत्य निर्देशन तथा कलाकार), ज्योति गुरुङ (फाइन आर्टल ललितकला), नवराज अधिकारी (लेखनाथ साहित्य प्रतिष्ठान), प्रेमराज अधिकारी (लोकगीत तथा सङ्गीत, गीतकार), भास्करध्वज श्रेष्ठ (सङ्गीत तथा ब्याण्ड), रवीन्द्र माकाजु (साहित्य तथा इतिहास), रिता पाहारी (साहित्य तथा कला), शिवहरि ढुङ्गाना (लोक तथा दोहोरी गीत–सङ्गीत) रहेको पोखरा महानगरपालिकाले जनाएको छ।

त्यस अबसरमा बोल्दै महानगर प्रमुख आचार्यले प्रतिष्ठानका गतिविधिहरू मार्फत पोखरा महानगरपालिका क्षेत्रको साहित्य, कला, संस्कृति, भाषा लगायत समग्र प्राज्ञिक क्षेत्रको उन्नयन र विकासमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले प्रतिष्ठानका गतिविधिहरूलाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यले संस्थागत रूपमा पोखरा घरमा व्यवस्थित कार्यालय र कार्य सञ्चालनका लागि कानुनी रूपमा पर्याप्त व्यवस्था र बजेटको समेत प्रबन्ध गरिएको समेत जानाकरी दिए।
उपप्रमुख मन्जुदेवी गुरुङले प्रतिष्ठानको सक्रियताले नगर क्षेत्रको साहित्य, कला, भाषा, सृजना र संस्कृतिको विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिन। महानगरपालिकाले यसका गतिविधिहरूलाई चलायमान बनाउनका लागि आवश्यक सहयोग तथा सहजीकरण गर्ने उनको भनाई थियो ।
तस्बिर – राधिका कंडेल















