Play

करिब २८ प्रतिशत बनक्षेत्र रहेको गण्डकी प्रदेशमा बन पैदावारको बिक्रिबाट करिब ३३ करोड राजस्व संकलन

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकार र संघीय सरकारबाट सञ्चालित बनसंग सम्बन्धित कार्यक्रमका लागि कुल १ अर्ब ६ करोड ८६ लाख ७२ हजार रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएकोमा ८२ करोड ९५ लाख रुपैयाँमात्र खर्च भएको अर्थात समग्र वित्तीय प्रगति ७८ प्रतिशत र भौतिक प्रगति ९१ प्रतिशत रहेको गण्डकी प्रदेशको बन निर्देशनालयले जनाएको छ। निर्देशनालयले आयोजना गरेको दुई दिने वार्षिक प्रगति समीक्षा गोष्ठीमा वन संरक्षण, जैविक विविधता, जलाधार व्यवस्थापन, वन्यजन्तु संरक्षण, वन पैदावार उत्पादन तथा राजस्व संकलनलगायतका क्षेत्रमा निर्देशनालायले उल्लेखनीय उपलब्धि हासिल गरेको बताइएको थियो ।

वन व्यवस्थापन अन्तर्गत दिगो वन व्यवस्थापन, काठ तथा दाउरा उत्पादन, वन पैदावारको सदुपयोग, विरुवा उत्पादन, वितरण तथा वृक्षारोपण कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिएको छ। कास्कीको महेन्द्रगुफा नर्सरीमा मात्रै ३० हजार ४ सय विरुवा उत्पादन गरिएको त्यस अबसरमा जानकारी दिईएको थियो । वन पैदावार बिक्री तथा उपयोगबाट आर्थिक वर्ष २०८२/८३ मा रु. ३२ करोड ६३ लाख ८१ हजार ३९७ रकम संकलन भएको छ भने राजस्व मात्रै रु. २० करोड ३३ लाख ५५ हजार ७९४.७५ रहेको बार्षिक प्रतिवेदनमा उल्लेख छ।

यससँगै वन क्षेत्रबाट रोजगारी सिर्जनामा समेत उल्लेखनीय योगदान पुगेको निर्देशनालयले जनाएको छ। समीक्षा अवधिमा वन्यजन्तु उद्धार, मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन, राहत वितरण, वन डढेलो नियन्त्रण, अग्नि नियन्त्रण उपकरण हस्तान्तरण, सामुदायिक वनमा अग्निरेखा निर्माण, वन अतिक्रमण नियन्त्रण तथा अवैध संरचना हटाउने कार्यलाई पनि प्राथमिकताका साथ अघि बढाइएको छ।

त्यसैगरी भू–संरक्षण तथा जलाधार व्यवस्थापनअन्तर्गत पहिरो नियन्त्रण, नदी तटबन्ध, सिंचाइ संरक्षण, पोखरी निर्माण, जडीबुटी विकास, कृषि वन प्रणाली प्रबर्द्दन, रुद्राक्ष खेती तथा सतुवा खेती विस्तारजस्ता कार्यक्रम सञ्चालन गरिएको छ। वन निर्देशनालयले वर्षभर विभिन्न जिल्लामा सञ्चालित वन, जलविद्युत, केबलकार, सडक तथा अन्य प्रयोजनका लागि वन क्षेत्र उपयोग भएका आयोजनाको अनुगमनसमेत गरेको जनाएको छ। साथै सामुदायिक वन, सिमसार संरक्षण, पहिरो नियन्त्रण, दिगो वन व्यवस्थापन र जलविद्युत आयोजनाको नियमित निरीक्षण गरिएको उल्लेख गरेको छ।

गण्डकी प्रदेशको कुल  क्षेत्रफल २१ लाख ९७ हजार ६३४ हेक्टर रहेकोमा ८ लाख १७ हजार २९० हेक्टर अर्थात् ३७.१८ प्रतिशत भूभाग वनले ढाकेको छ। प्रदेश पूर्वीय र पश्चिमी वानस्पतिक क्षेत्रको संगमस्थल भएकाले जैविक विविधताको दृष्टिले यो प्रदेश समृद्ध मानिन्छ। गण्डकी प्रदेशमा २ सय ६० भन्दा बढी आयुर्वेदिक महत्वका वनस्पति, विश्वशान्ति जैविक विविधता उद्यान, पञ्चासे वन क्षेत्र, फेवा जलाधार क्षेत्र तथा रामसार सूचीमा सूचीकृत तालतलैया समेत रहेका छन्।

प्रदेशभर ३ हजार ९सय ७९ सामुदायिक वन, १ हजार १ सय ४८ कबुलियती वन, ४४ धार्मिक वन, एक साझेदारी वन तथा सरकारद्वारा व्यवस्थित वनमार्फत वन संरक्षण र व्यवस्थापन भइरहेको उक्त गोष्ठीमा जानकारी गराइयो। गण्डकी प्रदेशमा चितवन राष्ट्रिय निकुञ्ज र ढोरपाटन शिकार आरक्षको आंशिक भाग तथा अन्नपूर्ण र मनास्लु संरक्षण क्षेत्रको सम्पूर्ण भाग गरी १० हजार ३९.५१ वर्ग किलोमिटर संरक्षित क्षेत्र रहेको छ। यो प्रदेशको कुल क्षेत्रफलको ४५.६८ प्रतिशत हो।  तनहुँको छिर्कनेस्थित भानुभक्त प्राणी उद्यान र कास्कीको पचभैयामा प्रदेशस्तरीय प्राणी उद्यान सञ्चालनमा रहेका छन्।

गोष्ठीले आगामी वर्षका लागि सबै कार्यालयलाई समयमै प्रगति विवरण पठाउने, वेबसाइट नियमित अद्यावधिक गर्ने, बायो–इन्जिनियरिङमा जोड दिने, गुणस्तरीय विरुवा उत्पादन गर्ने, सामुदायिक वनको सक्रिय अनुगमन बढाउने, बेरुजु फर्छ्योट गर्ने तथा स्थानीय तहसँग समन्वय गरेर शहरी वन प्रबर्द्दनका कार्यक्रम सञ्चालन गर्न सम्बन्धित कार्यालय र सरोकारवालालाई निर्देशन दिएको छ।

वन क्षेत्रको बजेट निरन्तर घट्दै जानु, वन कार्यक्रमले पर्याप्त प्राथमिकता नपाउनु, वन रक्षकको उच्च सरुवा दर, केही सब–डिभिजन कार्यालय अझै भाडाका भवनमा सञ्चालन हुनु तथा भू–क्षय र बाढीपहिरो न्यूनीकरणका लागि पर्याप्त बजेट अभाव रहनुलाई प्रमुख चुनौतीका रूपमा गोष्ठीमा चर्चा गरिएको थियो ।

यसैबीच गण्डकी प्रदेश सरकार, वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन निर्देशनालयको पञ्चासे वन संरक्षण क्षेत्र कार्यक्रम कार्यान्वयन इकाईले आर्थिक वर्ष २०८२/८३ मा वन संरक्षण, जैविक विविधता व्यवस्थापन, पर्यावरण संरक्षण तथा इको–पर्यटन प्रबर्द्दनको क्षेत्रमा कत्रिब ७० प्रतिशत प्रगति हासिल गरेको जनाएको छ। पञ्चासे वन संरक्षण क्षेत्र कास्की, पर्वत र स्याङ्जा गरी तीन जिल्लामा फैलिएको ५७.७५ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको छ।

यस क्षेत्रमा  ५ सय ८९ प्रजातिका वनस्पति, १ सय ४३ प्रजातिका सुनाखरी, १९ प्रजातिका स्तनधारी, २ सय ६२ भन्दा बढी प्रजातिका चरालगायत समृद्ध जैविक विविधता पाइन्छ। साथै फेवातालसहित पाँच प्रमुख नदीका मुहान यही क्षेत्रबाट उद्गम हुने भएकाले यसको वातावरणीय महत्व अझ बढी रहेको छ।

१३ श्रावण २०८३, बुधबार १०:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा