पोखरा, पोखरामा घर भाडामा लिएर एशिया र युरोपका बिभिन्न मुलुकमा घुम्न लैजाने भन्दै अनलाइन र फोनबाट बिभिन्न व्यक्ति सम्पर्क गरि ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। अनलाइन स्क्याम गरेको आरोपमा पक्राउ पर्नेहरुमा सप्तरी जिल्लाको कञ्चनपुर नगरपालिका वडा नं.१२ बस्ने बर्ष २६ को विवेक रेग्मी र भारतको कर्नाटक राज्य महेश्वर जिल्ला शान्तिनगर बस्ने बर्ष ३० का मोहम्मद याशिर रहेको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुले पोखरा महानगरपालिका वडा नं.-५ प्रस्याङस्थित पुष्पेन्द्र कोइरालाको घर भाडामा लिएर विभिन्न मानिसहरुलाई एसिया र युरोप महादेशका बिभिन्न देशहरुमा घुम्न लैजाने भनी स्क्याम गरी रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र मातहत वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो।
पक्राउ परेका दुबैजनाले ओआसिस टुरिज्म इन्टरनेसनल नाममा संस्था स्थापना गरी १५ जना युवक, युवतीहरुलाई समेत खटाएर अनलाईन र फोनको माध्यमबाट विभिन्न व्यक्तिहरुलाई सम्पर्क गर्ने र ‘तिन रात चार दिनको होलिडे भौचर’ भर्न लगाएर उपहार जित्ने आस्वाशन दिंदै रकम समेत उठाउने गरेका थिए।
उनीहरुले हालसम्म ३० जना व्यक्तिलाई एसिया र युरोप महादेशका विभिन्न देशमा घुम्न लैजाने प्रलोभनमा पारी उक्त कुपन भर्न लगाएर ९ लाख ६५ हजार ठगी गरिसकेको खुलेको छ। उनीहरुले काममा लगाएका १५ जना बेरोजगार युवायुवतीलाई रोजगारीको प्रलोभन देखाएको र बैधानिक काम हो, चिन्ता नगर्नु भन्दै काममा लगाएको बुझिएको छ ।
पक्राउ परेका व्यक्तिहरुबाट कम्प्युटर, मनिटर २ थान, विभिन्न रजिष्टर तथा रेकर्ड बुक ८ थान, कुपन रसिद ६ थान, स्टेम्प छाप ४ थान र विभिन्न व्यक्तिहरुको नाममा काटिएका कुपनहरुको अर्धकट्टी समेत बरामद गरिएको कास्की प्रहरीले जनाएको छ ।















