पोखरा, काठमाडौँबाट पोखरा आउँदै गरेको माइक्रोबस पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेमा हिजो शनिबार भएको दुर्घटनामा ८ जना यात्रु घाइते भएका छन् । गण्डकी प्रदेश ०१-००१ ख ०१७१ नम्बरको माइक्रोबस सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो।
दुर्घटनाग्रस्त गाडीलाई स्थानीय र सुरक्षाकर्मीको पहलमा केहि समयमा सडकबाट हटाएपछि मात्र अबरुद्ध बनेको पृथ्वीराजमार्गको सडक सुचारु भएको दमौलीबाट प्राप्त समाचारमा जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार दुर्घटनामा परेको माइक्रोबसमा चालकसहित १२ जना यात्रु सवार रहेकामा चारजना भने सकुशल रहेका थिए। तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार घाइतेहरूको तनहुँको डुम्रेस्थित लक्ष्मी अस्पताल र प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ ।
दुर्घटना पछि तनहुँका प्रहरी नायब उपरिक्षक द्वारिका प्रसाद घिमिरेको कमाण्डमा ट्राफिक प्रहरी सहित १५ जनाको टोली घटनास्थलमा खटिएर घाईतेहरुलाई उद्धार गरी उपचारको अस्पताल पठाइएको थियो ।

उक्त दुर्घटनामा घाइते भएर तनहुँको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार गराएकाहरु मध्ये बाँके जिल्ला खजुरा गाउँ पालिका- २ बस्ने बर्ष ३२ को रमेश क्षेत्रीको घांटी र हातमा चोट लागेको छ भने काठमाण्डौको नागार्जुन नपा- १ बस्ने बर्ष ५६ को शशीकला अधिकारीको घांटी र कुममा गम्भीर चोट लागेको छ।
दुर्घटनामा परेर घाइते भएका अन्यमा कास्कीको पोखरा महानगरपालिका -११ का बर्ष ५५ को दयाराम पोखरेलको दाहिने हातमा, झापा भद्रपुर- १ बस्ने बर्ष ३५ को तारा सुब्बाको ढाड र कम्मरमा चोट लागेको अस्पताललाई उधृत गर्दै प्रहरीले जनाएको छ।
यसैगरी दैलेख जिल्लाको दुङगेश्वर गाउँपालिका-.२ का बर्ष २७ को नबिन खड्का, सप्तरी जिल्लाको खडक नगरपालिका- ४ अमाहाका १७ बर्षीय उज्वल यादवको पनि सोहि अस्पतालमा उपचार गरिएको हो ।
घाइतेहरु मध्ये प्रदेश अस्पताल दमौलीमा उपचार गरेकाहरुमा बझाङ जिल्लाको जय पृथ्वी नगरपालिका- २ बाझगाउका बर्ष २९ का माधब प्रसाद जोशी र बझाङ जिल्लाकै बिथरचिर गाउँपालिका – ८ सुनपुणाका बर्ष २४ को जिबन जोशीको अबस्था भने सामान्य रहेको बुझिएको छ ।




तस्बिर – सेतिमादी डेली















