Play

पोखराको हिमालय आँखा अस्पतालद्वारा कर्णाली प्रदेशमा एकै बर्षमा १७ हजार बढीको आँखा उपचार, १ हजारको अपरेसन

गुरुकुल खबर


पोखरा, नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित पोखराको हिमालय आँखा अस्पताल पोखराले गत आर्थिक वर्ष २०८२/८३ मा कर्णाली प्रदेशका विभिन्न जिल्लामा ९ सय ५३ जनाको आँखाको शल्यक्रिया निशुल्क रुपमा गरेको जनाएको छ । कर्णाली प्रदेशका अति दुर्गम तथा सेवाको पहुँचबाट टाढा रहेका समुदायमा सञ्चालन गरेका निःशुल्क आँखा शिविरमार्फत उक्त सेवा प्रदान गरिएको हो ।

अस्पतालका बाह्य कार्यक्रम प्रमुख तथा नेत्र अधिकृत सुवास नेपालका अनुसार गत आवमा अस्पतालले कर्णाली प्रदेशका १७ हजारभन्दा बढी नागरिकलाई आँखा उपचार सेवा प्रदान गरेको थियो। त्यस अवधिमा बाह्य कार्यक्रममार्फत ७ हजार २१७ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो भने अस्पताल अन्तर्गत सञ्चालित आँखा उपचार केन्द्रहरू मार्फत १० हजार ४ सय ३२ जनाले आँखा उपचार सेवा प्राप्त गरेको अस्पतालले जनाएको छ । यसरी बाह्य कार्यक्रम र आँखा उपचार केन्द्रमार्फत गरी कर्णाली प्रदेशमा एक वर्षमा १७ हजार ६ सय ४९ जनालाई आँखा स्वास्थ्य सेवा प्रदान गरिएको छ ।

हिमालय आँखा अस्पताल अन्तर्गत कर्णाली प्रदेशका चन्दननाथ आँखा अस्पताल खलङ्गा–जुम्ला, मान्म–कालीकोट, सिमकोट–हुम्ला, सिंजा–जुम्ला र गमगढी–मुगुमा आँखा उपचार केन्द्रहरु सञ्चालनमा रहेका छन । यी अस्पताल, उपचार केन्द्र तथा समुदायस्तरमा सञ्चालन गरिने बाह्य कार्यक्रम र शिविरमार्फत भौगोलिक रूपमा विकट क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आँखा परीक्षण, उपचार, आवश्यक परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध गराइँदै आएको छ ।

अस्पतालको प्रमुख मेडिकल निर्देशक डा बबिता गुरुङका अनुसार अस्पतालले गत आर्थिक वर्षमा अस्पतालको बहिरङ्ग विभागमार्फत मात्रै एक लाख ८८ हजार ९ सय १४ जनालाई आँखा उपचार सेवा प्रदान गरेको छ । अस्पतालले जारी गरेको विज्ञप्तिका अनुसार सेवा लिनेमा १ लाख ६ हजार ४ सय ५९ महिला र ८२ हजार ४ सय ९८ पुरुष रहेका छन् । कूल सेवाग्राहीमध्ये करिब ५६ प्रतिशत महिला र ४४ प्रतिशत पुरुष छन् ।

हिमालय आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र थापामगरले कर्णाली प्रदेशमा विशेषज्ञ आँखा उपचार सेवालाई थप विस्तार र सुदृढ गर्ने योजना अघि बढाएको जानकारी दिए । वरिष्ठ अधिवक्ता समेत रहेका मगरले भने, “जुम्लामा नेत्र विशेषज्ञमार्फत नियमित विशेषज्ञ सेवा उपलब्ध गराउने तथा कर्णालीका अन्य तीन जिल्लामा ‘सर्जिकल सेन्टर’का रूपमा सेवा विकास गरी स्थानीयस्तरमै आँखाको शल्यक्रिया सेवा उपलब्ध गराउने योजना रहेको छ । भौगोलिक विकटता र यातायातको कठिनाइका कारण सामान्य आँखा उपचार तथा शल्यक्रियाका लागि समेत टाढासम्म जानुपर्ने बाध्यतालाई कम गर्न विशेषज्ञ तथा शल्यक्रिया सेवालाई जिल्लास्तरसम्म विस्तार गर्न लागिएको छ ।”

यसबाट दुर्गम क्षेत्रका नागरिकले आफ्नै जिल्लामा वा नजिकको सेवा केन्द्रबाट समयमै गुणस्तरीय आँखा उपचार तथा शल्यक्रिया सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ ।

यसैबीच, नेपाल नेत्रज्योति सङ्घ हिमालय आँखा अस्पतालअन्तर्गत गण्डकी तथा कर्णाली प्रदेशमा सञ्चालित आँखा अस्पताल तथा आँखा उपचार केन्द्रको वार्षिक कार्ययोजना तथा समीक्षा गोष्ठी पोखरामा हालै सम्पन्न भएको छ । कार्यक्रममा ती प्रदेशका आँखा अस्पताल तथा आँखा उपचार केन्द्रका प्रतिनिधि, नेत्र विशेषज्ञ, स्वास्थ्यकर्मी तथा सरोकारवालाको सहभागिता थियो । त्यस अवसरमा हिमालय आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ अधिवक्ता मगर, नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्द, नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश सभापति प्रा डा दिलबहादुर क्षेत्री र सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले सङ्घको गतिविधि तथा कार्ययोजनाका बारेमा प्रस्तुति गरेका थिए ।

गोष्ठीमा गत आर्थिक वर्षका उपलब्धि तथा प्रगतिको समीक्षा गर्नुका साथै आगामी वर्षको कार्ययोजना तर्जुमा गरिएको थियो । सङ्घका कार्यकारी निर्देशक डा मिश्रले गोष्ठीमा समुदायस्तरमा गुणस्तरीय आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार, दुर्गम क्षेत्रमा विशेषज्ञ तथा शल्यक्रिया सेवा विस्तार, आँखा उपचार केन्द्रहरूको क्षमता अभिवृद्धि तथा सेवा प्रभावकारिता बढाउने विषयमा छलफल, अनुभव आदानप्रदान र आगामी रणनीति निर्माण गरिएको जानकारी दिए ।

हिमालय आँखा अस्पतालले अस्पतालमा आधारित सेवासँगै आँखा उपचार केन्द्र, बाह्य कार्यक्रम तथा निःशुल्क आँखा शिविरमार्फत गण्डकी र कर्णाली प्रदेशका नागरिकलाई आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । विशेषगरी कर्णालीका दुर्गम जिल्लामा विशेषज्ञ तथा शल्यक्रिया सेवा विस्तार गरी नागरिकलाई उनीहरूको नजिकै गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउने लक्ष्यसहित अस्पतालले आगामी कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

सङ्घले स्थापनादेखि २८ आँखा अस्पताल, ४४ जिल्ला शाखा, २२६ आँखा उपचार केन्द्रको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक एबम आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया भइसकेको जनाएको छ ।

४ श्रावण २०८३, सोमबार १२:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा