एजेन्सी, बुकायो साकाले ह्याट्रिक गरेपछि इङ्ग्ल्यान्डले रोमाञ्चक १० गोल भएको खेलमा फ्रान्सलाई ६-४ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को तेस्रो स्थान हासिल गरेको छ। अर्जेन्टिनासँग सेमिफाइनलमा हार बेहोरेको इङ्ग्ल्यान्डले तेस्रो स्थानका लागि भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै ४-० को बलियो अग्रता बनाउन सफल भएको थियो।
तेस्रो मिनेटमा डेक्लान राइसले गोल गर्दै इङ्ग्ल्यान्डलाई अग्रता दिलाए। त्यसपछि १८औं मिनेटमा एज्री कोन्सा र ३७औं तथा पहिलो हाफको इन्जुरी समयमा बुकायो साकाले गोल गर्दै पहिलो हाफमै खेल ४-० मा पुर्याए।

दोस्रो हाफमा भने फ्रान्सले आक्रामक प्रदर्शन गर्यो। ४८औं र ६६औं मिनेटमा किलियन एमबाप्पे तथा ५४औं मिनेटमा ब्राड्ली बारकोलाले गोल गर्दै फ्रान्सलाई खेलमा फर्काए। फ्रान्सले बराबरी गर्ने केही उत्कृष्ट अवसर पनि गुमायो।
एमबाप्पेका २ गोलसँगै उनले विश्वकपमा आफ्नो कुल गोल संख्या २२ पुर्याउँदै अर्जेन्टिनाका लियोनेल मेस्सीलाई पछि पारेर विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बने। साथै उनी गोल्डेन बुटको दौडमा पनि शीर्ष स्थानमा पुगे। १० गोलका साथ एमबाप्पेले यसपटकको विश्वकपको अन्त्य गरेका छन्।
८७औं मिनेटमा जेड स्पेन्समाथि मालो गुस्टोले फाउल गरेपछि प्राप्त पेनाल्टीलाई साकाले गोलमा परिणत गर्दै आफ्नो ह्याट्रिक पूरा गरे र इङ्ग्ल्यान्डलाई ५-३ को अग्रता दिलाए।

इन्जुरी समयको छैटौं मिनेटमा उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सलाई ५-४ को अवस्थामा पुर्याए । इन्जुरी समयको आठौं मिनेटमा जुड बेलिङ्घमले व्यक्तिगत उत्कृष्ट गोल गर्दै इङ्ग्ल्यान्डको ६-४ को जित सुनिश्चित गरे।
यो विश्वकपमा बेलिङ्घमको यो सातौं गोल थियो। एकै संस्करणको विश्वकपमा कुनै पनि इङ्ग्लिस खेलाडीले गरेको यो सर्वाधिक गोल हो।
यो जितसँगै इङ्ग्ल्यान्डले सन् १९६६ मा विश्वकप जितेपछि पहिलो पटक विश्वकपमा उत्कृष्ट नतिजा हासिल गरेको छ। साथै विदेशी भूमिमा इङ्ग्ल्यान्डको यो अहिलेसम्मकै उत्कृष्ट विश्वकप प्रदर्शन पनि हो।

यो खेलले विश्वकप इतिहासकै सर्वाधिक गोल भएको तेस्रो स्थानको खेलको कीर्तिमान समेत बनाएको छ। यसअघि सन् १९५८ मा फ्रान्सले पश्चिम जर्मनीलाई ६-३ ले हराएको खेलमा ९ गोल भएको थियो।
















