पोखरा, मुलुकको पर्यटकीय राजधानी पोखराको विभिन्न स्थानमा केहि दिनयता शृंखलाबद्ध रूपमा भएका चोरीका घटना भैरहेको र ठाउँ ठाउँमा भएका चोरीका घटनामा नेपाली सहित बिदेशीहरु समेत संलग्न रहेको खुलेको छ। यसैक्रममा कास्की प्रहरीले बिभिन्न स्थानमा चोरी गरेको अभियोगमा ४ जना विदेशी नागरिकसहित ९ जनालाई पक्राउ गरेको छ। पटक पटक बिभिन्न ठाउँमा भएका चोरीका घटनाले पर्यटकीय नगर पोखराको सुरक्षा ब्यबस्थालाई नै चुनौती थपिएको महशुस सर्बसाधारण र ब्यबसायीले गरेका छन ।
उनीहरुबाट २५ तोलाभन्दा बढी सुनका गरगहना, ९ वटा मोबाइल, १ वटा ल्यापटप, १ वटा स्मार्ट घडी र २ लाख १ हजार २ सय २० रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ। कास्की प्रहरीले दिएको जानकारी अनुसार गत असार १४ गते राति २ बजे पोखरा महानगरपालिका–१८ मणिपार्कस्थित हेमराज गिरीको घरमा भएको थियो। त्यहाँबाट विभिन्न किसिमका २५ तोला बराबरका सुनका गरगहना र ७० हजार रुपैयाँ नगद चोरी भएको थियो भने असार २४ गते राति १ बजे पोखरा–१७ छोरेपाटनस्थित शिवप्रसाद बरालको घरबाट आधा तोला बराबरका सुनका गरगहना, २ लाख ५० हजार रुपैयाँ नगद, १ वटा ल्यापटप र १ वटा मोबाइल चोरी भएको थियो।
यसैगरी असार २३ गते राति १२ बजेर ४६ मिनेटमा पोखरा–८ ज्ञानकुञ्ज मार्गस्थित मोहसेन खातामीको कोठाबाट २ वटा मोबाइल र २५ हजार रुपैयाँ नगद तथा असार २३ गते राति २ बजेर ३० मिनेटमा पोखरा–६ लेकसाइडस्थित हिरामणी लामिछानेको घरबाट १ वटा आइफोनसहितका सामान चोरी भएको थियो। चोरहरुले असार २५ गते राति २ बजे पोखरा–१८ भकुण्डेस्थित गिरीश श्रेष्ठको घरबाट २ वटा मोबाइल र १ तोला ५४ लाल बराबरका सुनका गरगहना चोरी गरेको प्रहरीले जनाएको छ।

उल्लिखित ठाउँबाट चोरी भएको जानकारीको आधारमा प्रहरीले सूक्ष्म अनुसन्धान गर्दै जाँदा केहि व्यक्तिहरूलाई चोरीका सामानसहित पक्राउ गरेको र उनीहरु विरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीका सुचना अधिकारी बिरेन्द्र पासवानले गुरुकुल खबरलाई जानकारी दिए। पक्राउ पर्ने बिदेशी नागरिकहरुमा भारतको उत्तर प्रदेशस्थित बस्ती जिल्लाको अशोकपुर निवासी २३ वर्षीय राहुल निषाद, चीनको गुइझाउ निवासी ३० वर्षीय वेन जिए, चीनको सान्दोङ निवासी ३७ वर्षीय वाङ लियानयिन, भारतको महाराष्ट्रस्थित सोलापुर निवासी ४० वर्षीय सोमनाथ हनुमन्त जायभये रहेको प्रहरीको भनाई छ
चोरीका घटनामा पक्राउ पर्ने नेपाली नागरिकहरुमा स्यांग्जाको चापाकोट नगरपालिका–३ का ४२ वर्षीय राजकुमार बिक, कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–७ का ५० वर्षीय राज केसी, अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–३ का २९ वर्षीय अशोक पोखरेल, पोखरा महानगरपालिका – १६ का ५१ वर्षीय केशव पाइजा मगर र बागलुङ नगरपालिका–१२ का २७ वर्षीय अनिल बिक छन्। पक्राउ परेका व्यक्ति र उनिहरुबाट बरामद गरिएका सामानको बारेमा थप अनुसन्धान भइरहेको र अनुसन्धानका क्रममा अन्य संलग्न व्यक्ति खुलेमा कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट ९ वटा मोबाइल फोन, १ वटा स्मार्ट घडी, १ वटा ल्यापटप, १ दशमलव ३१४ तोला तौल भएको सुनको ब्रेसलेट, ० दशमलव ६४४ तोला तौलका ५ वटा सुनका टुक्रा, १ दशमलव २४२ तोलाको १ वटा सुनको टिका, १ दशमलव ७०३ तोलाको १ वटा सुनको टिका, १ दशमलव ०५४ तोलाको १ वटा सुनको टिका, ० दशमलव ५०५ तोलाको १ वटा सुनको टिका, ० दशमलव ४७७ तोलाको १ वटा सुनको टिका तथा २ लाख १ हजार २ सय २० रुपैयाँ नगद बरामद गरेको जनाएको छ।
















