पोखरा, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री तथा गण्डकी प्रदेश सभा सदस्य माननीय रेखा गुरुङले पोखरा महानगरपालिका–१३ मा पाटनबेसी टोल विकास संस्था अन्तर्गत सञ्चालित पाटनबेसी योग साधना केन्द्रको शुक्रबार निरीक्षण गरेकी छन। त्यस अबसरमा मन्त्री गुरुङले केन्द्रमा नियमित रूपमा सञ्चालन हुँदै आएको योग, ध्यान, प्राणायाम तथा आध्यात्मिक साधना कार्यक्रमको अवलोकन गर्नुका साथै साधक सदस्यहरूसँग अन्तरक्रिया गरेकी थिईन।
उनले योग साधनाले समुदायमा शारीरिक स्वास्थ्य, मानसिक सन्तुलन, अनुशासन, सकारात्मक सोच तथा आध्यात्मिक जीवनशैलीको विकासमा खेलेको भूमिकाको खुलेर प्रशंसा गर्दै सीमित स्रोत–साधनका बाबजुद समुदायको हितका लागि निरन्तर सञ्चालन भइरहेको पाटनबेसी योग साधना केन्द्रको सञ्चालनका लागि आवश्यक योग सामग्री, फर्निचर तथा अन्य भौतिक सामग्री उपलब्ध गराउन मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी थिईन।
योग साधनाकेन्द्रका अध्यक्ष टिकादेबी पराजुली बराल ,पाटनबेसी टोल विकास संस्थाका अध्यक्ष रवि बराल,अग्रज पत्रकार एबम केन्द्रका सल्लाहकार शिरोमणि बराल, केन्द्रका उपाध्यक्ष भिम केसी लगायत केन्द्रका पदाधिकारी, सल्लाहकार एबम साधकहरुले स्वागत गरेका थिए।
कार्यक्रममा केन्द्रका अध्यक्ष टिकादेबीले पाटनबेसी योग साधना केन्द्रको स्थापना, उद्देश्य, हालसम्म सञ्चालन भएका गतिविधि, नियमित योग कक्षा, सदस्य विस्तार, समुदायमा परेको सकारात्मक प्रभाव तथा आगामी योजनाबारे साथै केन्द्रमा आवश्यक पर्ने भौतिक पूर्वाधार, योग सामग्रीका बारेमा जानकारी गराएकी थिईन।
कार्यक्रममा अग्रज पत्रकार तथा केन्द्रका सल्लाहकार शिरोमणि बरालले योग साधना केन्द्रको स्थापना, समुदायमा यसको आवश्यकता तथा भविष्यका योजनाबारे जानकारी गराउँदै केन्द्रलाई सहयोग गर्न मन्त्री गुरुङसमक्ष अनुरोध गरेका थिए।
















