पोखरा, पोखराको जेठो संस्था अनि पोखरेली उधोगी ब्यवसायीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको ३६ औँ महाधिवेशन आगामी भदौ २० र २१ गते हुने भएको छ। बिहीबार सम्पन्न पोखरा उधोग बाणिज्य संघको कार्यसमितिको ३० औं बैठकले भदौ २० र २१ गते महाधिबेशन गर्ने निर्णय सर्वसम्मत रुपमा गरेको हो। महाधिबेशनको मिति तोकिएसंगै पोखराका उधोगी ब्यबसायीहरुको बिचमा संघको नेतृत्व सहित कार्यसमितिमा कसलाई पठाउने वा को को उमेदवार बन्ने भन्ने चर्चा शुरु भैसकेको छ।
नेपाल उधोग बाणिज्य महासंघको कार्यसमिति सदस्य समेत रहेका पोउबासंघका अध्यक्ष गोकर्ण कार्कीले भदौको तेस्रो साता महाविधेशनको प्रस्ताव गरेका थिए। अध्यक्ष कार्कीको प्रस्तावलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको कारण उक्त मितिमा महाधिबेशन हुने भएको हो । महाधिवेशनले संघको नयाँ नेतृत्वसहित कार्चयसमिति चयन गर्नेछ ।
पोखरा उद्योग वाणिज्य संघको विधान अनुसार महाधिवेशनले कार्य समितिको अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योग र वाणिज्यतर्फका दुई जना उपाध्यक्ष, कोषाध्यक्ष र उपमहासचिवको साथै कार्यसमितिका १५ जना सदस्यहरु चयन गर्नेछ । सदस्यमध्ये १ जना औद्योगिक तर्फबाट , ४ जना बस्तुगत तर्फबाट र १० जना खुलातर्फबाट निर्वाचित हुनेछन् । कार्यसमितिको निबर्तमान अध्यक्ष पनि कार्यसमितिमा सदस्य रहने ब्यबस्था छ। संघमा हालसम्म २ हजार ८ सय १० जना सदस्य वा मतदाता रहेको र यहि असार मसान्तसम्म नबिकरण गर्ने समय रहेकोले केहि सदस्य थप हुने सम्भावना रहेको छ ।
पोउबासंघको अध्यक्षको उमेदवारको रुपमा धेरैको चर्चा
यसपटक पोखरा उधोग बाणिज्य संघको नेतृत्व लिनको लागि संघमा काम गरेका कम्तिमा ३ जनाले उमेदवारी दिने चर्चा चलेको छ। जस अनुसार संघका बरिष्ठ उपाध्यक्ष उत्तममान बुद्दाचार्य, उपाध्यक्ष बलराम आचार्य, महासचिब शोभा गौतम बर्तमान कार्यसमिति भित्रबाट उमेदवार बन्ने चर्चा छ। यस अगाडिको महाधिबेशनमा बुद्दाचार्य र आचार्य दुवै जनाले बरिष्ठ उपाध्यक्षमा दाबि गरेपछि प्यानल मिलाउन समेत समस्या भएको थियो। तर, अन्तिममा बुद्धाचार्य बरिष्ठ उपाध्यक्ष र आचार्य उपाध्यक्षको उमेदवार बनेका थिए। दुवै जना अध्यक्षका उमेदवार अर्जुन पोखरेलको प्यानलबाट उमेदवार बनेको भएपनि अध्यक्षका उमेदवार पोखरेल पराजित हुँदा उनको प्यानलबाट पदाधिकारीको उमेदवार बनेका सबै बिजयी बनेका थिए ।
यसबाहेक यस अगाडी दुई पटक सम्म अध्यक्ष पदमा उमेदवार बनेका पुर्व महासचिब अर्जुन पोखरेल, संघको पुर्व उपाध्यक्ष एबम पोखराको कर्माचार्य हाउसका निर्देशक माइकल कर्माचार्य र संघको कार्यसमितिमा रहेर काम गरिसकेका नारायण शर्मा समेत अध्यक्षको उमेदवार बन्ने चर्चा ब्यबसायीहरु माझ चलेको छ। कर्माचार्य हाल नेपाल – अष्ट्रेलिया च्याम्बर अफ कमर्सका सदस्य हुन। उनले नेपाल उधोग बाणिज्य महासंघको बिभिन्न उपसमितिमा समेत रहेर काम गरिसकेका छन ।
पोखरेल, कर्माचार्य र शर्मा मध्ये पोखरेल र शर्माले केहि ठाउँमा आँफु उमेदवार बन्ने चाहना समेत प्रकट गरेको बताइए पनि कर्माचार्यलाई भने केहि उधोगी, ब्यबसायीहरुले संघको अध्यक्ष बनाउन उपयुक्त हुने भन्दै लबिंग गरेको बुझिएको छ। कर्माचार्य आँफैले भने हालसम्म अध्यक्ष पदमा चुनाबमा जाने चाहना ब्यक्त गरिसकेका छैनन। कर्माचार्य केहि बर्ष अगाडी कृष्णमोहन श्रेष्ठसंग अध्यक्ष पदमा प्रतिष्पर्धा गरेको भएपनि श्रेष्ठ बिजयी बनेका थिए। त्यसपछिका दिनमा कर्माचार्यले पोउबासंघको राजनीतिमा त्यति चासो देखाएका छैनन।
महासचिब गौतमको घोषणा : म अध्यक्ष पदमा उमेदवार बन्छु
यसैबीच, पोखरा उद्योग वाणिज्य संघको महाधिबेशनको मिति तोकिएलगत्तै संघकी महासचिव शोभा गौतमले भने आँफु अध्यक्ष पदमा उमेदवार बन्ने घोषणा गरेकी छन । संघका विभिन्न उपसमिति, कार्यसमिति सदस्य, उपमहासचिव हुँदै महासचिवसम्मको जिम्मेवारीमा रहेकी गौतमले संघको संस्थागत विकास र व्यवसायीहरूको हकहितका लागि आँफु अध्यक्ष पदमा उमेदवार बन्न लागेको सार्बजनिक गरेकी हुन ।

उनले पदभन्दा कामलाई प्राथमिकता दिने नेतृत्व अहिलेको आबश्यकता हो भन्दै पदभन्दा काम ठूलो मानेर आंफुले पोउबासंघ संस्था र व्यवसायीहरूको हितमा निष्ठा र समर्पणका साथ निरन्तर काम गरेको बताएकी छन । पोउबासंघको इतिहासमा महिलाले अध्यक्ष बनेर नेतृत्व गर्ने अवसर पाउन नसकेको अबस्थामा आफूलाई आँफुलाई उधोगी व्यवसायीको छोरी र चेलीको रुपमा प्रस्तुत गर्दै गौतमले गुरुकुल खबरसंग भनिन। ‘बिभिन्न अवसर र चुनौतीको बिचमा संघका सदस्यहरुले म माथि जुन विश्वास देखाउनुभएको छ अब अध्यक्ष बनेर काम गर्ने अवसर पनि दिनुहुनेछ भन्नेमा विश्वस्त छु।’
सक्षम, समावेशी र प्रतिबद्ध प्यानल घोषणा गरेर चुनाबी प्रक्रियामा जाने बताउंदै गौतमले भनिन, ‘अबको केहि दिनमा हामीले हाम्रो टिम सहित साझा दृष्टिकोण, प्राथमिकता र आगामी कार्ययोजनाहरू पनि सार्वजनिक गर्नेछौँ ।’
















