पोखरा, पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट दुबईसम्मको हवाई यात्रालाई सुनिश्चित बनाउन फ्लाइ दुबईले सन् २०२७ सम्मको लामो उडान तालिका सार्वजनिक गरेको छ । फ्लाई दुबईले लामो उडान तालिका सार्बजनिक गरेसंगै पोखराका ब्यबसायीहरु एबम पर्यटकीय एबम अन्य ब्यबसायिक संघसंस्थाले पोखराको बिकासमा महत्वपूर्ण सहयोग पुग्ने भन्दै खुशी प्रकट गरेका छन। शुरुमा आगामी भदौ ७ गतेदेखि एक महिनाको लागि मात्र पोखरामा उडान गर्ने भन्दै दैनिक तालिका सार्बजनिक गरेको फ्लाई दुबईले सन् २०२७ मार्च २६ सम्मको उडान तालिका सार्बजनिक गरेपछि पोखरा – दुबईको उडान दिर्घकालिन हुने सम्भावना देखिएको भन्दै पोखरेलीहरु उत्साहित बनेको छन।
पोखराको भ्रमणमा रहेर बिभिन्न संघ संस्थासंग भेटघाट गरेका फ्लाइ दुबईका नेपालस्थित जनरल म्यानेजर नवराज शाहीले पोखराको उडानलाई दिगो बनाउने गरी काम अगाडि बढाइएको जानकारी दिएका छन । शाहीले काठमाडौं र दुबईको उडान सन्दर्भ जोड्दै विगतमा हप्ताको ४ उडानबाट सुरु भएको यात्रा अहिले दिनकै ४ वटामा पुगेको जानकारी दिए । उनले भैरहवाको उडानको अनुभव तितो रहेको भएपनि पोखरामा हुने उडान मीठो रहने उल्लेख गर्दैपोखराको उडानलाई स्थायित्व दिन स्थानीय बासिन्दा र सरोकारवालाको सहयोग महत्वपूर्ण हुने उल्लेख गरे ।
शाहीले पोखरास्थित बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुसंगको भेटघाट र छलफललाई तिब्रता दिने क्रममा पोखरा उद्योग वाणिज्य संघसँग आइतबार भएको छलफलमा बोल्दै पोखरा–दुबई उडानले यहाँका नागरिकलाई विश्वका २६० वटा गन्तव्यमा सोझै जोड्ने अवसर दिने दाबी गरे। उनका अनुसार अब पोखराबाट यात्रुहरु दुबई हुँदै लन्डन, न्यूयोर्क वा जापानको टोकियोजस्ता सहरमा सहजै पुग्न सक्ने छन् ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले विमानस्थल निर्माणका लागि संघले गरेको पैरवी र लामो रिले अनसनको स्मरण गरे । उनले पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु हुनु खुसीको कुरा भएको बताउँदै यसलाई निरन्तरता दिन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘हामी यतिबेला अन्तर्राष्ट्रिय उडानको चाहना राखिरहेका छौँ, हामी भोको छौँ,’ अध्यक्ष कार्कीले भने, ‘भोको मान्छेलाई सुनकै थाली दिए पनि भोजन नभएपछि केही नहुँदो रहेछ ।’ उनले पोखराबाट नियमित उडानको खाँचो रहेको औंल्याए ।
संघकी महासचिव शोभा गौतमले सञ्चालन गरेको सो कार्यक्रममा फ्लाइ दुबईको भगिनी संस्था फ्लाइ इमिरेट्सका जनरल म्यानेजर रमेश लामिछानेले उडानलाई लामो समयसम्म लैजान सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । यस्तै पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले फ्लाइ दुबई र इमिरेट्सको यो यात्रा सफल नभए पोखराको विकास १० वर्ष पछाडि धकेलिने धारणा राखे ।
यसैगरी रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) पोखरा च्याप्टरका पदाधिकारी र सदस्यहरुसंग पनि फ्लाइ दुबईका प्रतिनिधिहरुको भेत्घ्ता र छलफल भएको छ रेबान सचिवालयमा भएको भेटघाटमा दुवै संस्थाका पदाधिकारीहरू बीच पर्यटन प्रवर्द्धन, व्यावसायिक सहकार्य तथा आपसी हितका विविध विषयमा फलदायी छलफल भएको रेबानका महासचिब बिरेन्द्र तुलाचनले गुरुकुल खबरलाई जानकारी दिए।

रेबान र फ्लाई दुबईका प्रतिनिधिहरुको बिचमा पर्यटन क्षेत्रको विकास, पारस्परिक सहकार्य अभिवृद्धि तथा आगामी दिनमा संयुक्त रूपमा सञ्चालन गर्न सकिने कार्यक्रमहरूबारे सकारात्मक विचार आदानप्रदान गरिएको महासचिब तुलाचनले जानकारी दिए ।
चिनियाँ ऋण सहयोगमा करिब २२ अर्ब नेपाली रुपैयाँ लगानी गरेर बनाइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ साल पुस १७ गते उद्घाटन गरिएको भएपानी लामो समय अन्तराष्ट्रिय उडान नहुँदा पोखरेलीहरु चिन्तित छन। यसअघि केही चार्टर उडान र सिचुवान एयरलाइन्सले केही उडान गरे पनि ती नियमित हुन सकेनन् । यो उडान सफल भएमा पोखराको पर्यटन र आर्थिक गतिविधिमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
















