पोखरा, पोखरा महानगरपालिकाले ३५ वर्षमुनिका ६ जना युवाहरूलाई ‘पोखरा महानगर युवा प्रतिभा पुरस्कार’ बाट पुरस्कृत गरेको छ । पोखरामा बिहिबार आयोजित एक कार्यक्रममा पोखरामा क्रियाशील पत्रकार दुर्गा राना मगर सहित सन्ध्या सुवेदी, खेलाडी नारायणी भण्डारी, समाजसेवी सुदीश पुन, युवा उद्यमी प्रतीकराज पहारी र नवज्योति सुवेदीलाइ जनही ३०/३० हजार रुपैयाँ नगद सहित पुरस्कृत तथा सम्मानित गरिएको थियो।

सम्मानित हुनेहरुमध्ये सन्ध्या सुबेदी शारीरिक चुनौतीलाई अवसर र सम्भावनाको यात्रामा रूपान्तरण गर्न सफल मानिएकी छन। यसबाहेक पत्रकारिता क्षेत्रमा क्रियाशील दुर्गा राना मगर, खेलकुद क्षेत्रमा सफलता प्राप्त गरेकी नारायणी, सामाजिक क्षेत्रमा सक्रिय सुदिश पुन र पर्यटन व्यवसायमा सक्रिय प्रतिक राज पहारीलाई छनोट गरेर सम्मान गरिएको बताइएको छ पोखराका मेयर धनराज आचार्यले उनीहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । पोखरालाई कर्मथलो बनाई आआफ्नो क्षेत्रमा योगदान गरेका युवालाई महानगर युवा परिषद मार्फत पुरस्कृत गरिएको हो ।
यी युवाहरुको कामले पोखरालाई योगदान गरेको मात्रै नभई अरु थुप्रै युवालाई नेपालमै केही गर्न सकिन्छ भन्ने प्रेरणा दिएको मेयर आचार्यले बताए । महानगर युवा परिषद अध्यक्ष सन्तोष न्यौपानेले युवाहरुको सत्कर्मलाई पुरस्कृत गर्न पाउनु नै गर्वलायक काम भएको विचार राखे । युवा प्रतिभा छनोट गर्नको लागि परिषदले डा, भीमनाथ बरालको संयोजकत्वमा ५ सदस्यीय छनोट समिति गठन गरेको थियो । समिति खेलकुदकर्मी तेज गुरुङ, उद्यमी विक्रम कर्माचार्य, अपांगता अधिकारकर्मी अन्जना केसी र पत्रकार केशवशरण लामिछाने थिए ।
















