Play

करिब पांच अर्बको खानेपानी आयोजना पुरा भएपनि पोखराको लेकसाइडमा खानेपानीको अभाव

गुरुकुल खबर


पोखरा, पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा खानेपानीको चर्को अभाव भएको भन्दै होटल संघ पोखरा नेपालको एक समूहले नेपाल खानेपानी संस्थानको पोखरा कार्यालयमा पुगेर समस्या अवगत गराउंदै तत्काल पिउने पानीको आपुर्ती सहज बनाउन माग गरेको छ । पोखरा पर्यटनको राजधानी भए पनि प्रदेशकै प्रमुख पर्यटककीय केन्द्रमा  पिउने पानीको समेत अभाव भएपछि संस्थानको ध्यानाकर्षण गराइएको होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले झण्डै पाँच अर्ब रुपैयाँ खर्च गरेर खानेपानी आयोजना सम्पन्न गरे पनि पानी अभाव हुनु साह्रै लाजमर्दो विषय भएको होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले बताए । पोखरामा २० वर्ष खानेपानीको अभाव हुन्न भनेर जाइकाले आयोजना बनाइदिए पनि धारामा पानी नआएपछि व्यवसायी र पोखरेली पिडित बन्नु परेको पराजुलीले दुःखेसो पोखे।

‘दिनदिनै ट्यांकरमा पानी किनेर व्यवसाय चलाउनुपरेको छ,’ होटल संघ नेपालका केन्द्रिय सदस्य समेत रहेका पराजुलीले भने, ‘पर्यटकीय राजधानी भनेपछि कम्तिमा खानेपानी त दिनुस् ।’ खानेपानी अभाव हुनुको कारणबारे बुझ्न आफूहरु संस्थान पुगेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । ठूलो आयोजना सम्पन्न भएपनि खानेपानीको मुहान मर्दीखोलाबाट पोखरासम्म आउने मुख्य पाइप नै सानो हुँदा समस्या भएको संस्थानका इञ्जिनियर लक्ष्मण पाण्डेले बताएको सल्लाहकार परिषद् संयोजक पराजुलीले जानकारी दिए । ‘जाइका मार्फत् ठूलो रकम खर्च गरेर पनि पानी दिन नसकिएको स्वयं संस्थानका इञ्जिनियले बताए’, पराजुलीले भने, ‘ठूलो पाइप राख्ने माग तपाइँहरुले नै सरकारसँग गरिदिनुपर्यो भनेर इञ्जिनियले उल्टो हामीसँग आग्रह गरे ।’

समस्या समाधानका लागि पोखरा महानगरपालिका र प्रदेश सरकार गंभीर बन्नुपर्नेमा उनीहरुको जोड छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले ठूलो पाइप राख्नका लागि बजेट छुट्याउनुपर्ने पराजुलीले बताए । मेयर र मुख्यमन्त्रीले यसमा इनिसियसन लिनुपर्छ, उनले भने । पानी अभावका कारण धाराहरुमा लामो लाइन देखिने गरेको उनले बताए ।

पोखरेलीलाई प्रशोधित पानी पुर्याउने उद्देश्यका साथ २०७४ भदौमा सम्झौता गरिएको ‘पोखरा खानेपानी सुधार आयोजना’को काम सकेर जाइकाले नेपाल सरकारलाई २०८१ मंसिरमा आयोजना हस्तान्तरण गरिसकेको छ । यो आयोजना बनाउन जापान सरकारको ४ अर्ब ८१ करोड ३० लाख रुपैयाँ लगानी भएको छ । आयोजना अन्तर्गत दैनिक ४ लाख १० हजार लिटर पानीलाई शुद्धीकरण गरेर घर घरमा पठाउने योजना भए पनि पोखरामा दैनिक ८ करोड लिटर भन्दा बढी पानीको माग छ ।

पोखराको मुख्य पानीको श्रोत १२ किलोमिटर उत्तरको मर्दिखोला हो । पुरुञ्चौरमा शुद्धीकरण गरिएको पानी वितरणका लागि २० इन्चका चारवटा पाइपबाट उक्त पानि पोखरामा ल्याइएको छ । यसका लागि २० लाख लिटर क्षमताका तीनवटा ट्यांकी निर्माण गरिएको भए पनि हाल पोखरा– ५ प्रस्यांग र पोखरा– ११ फूलबारीबाट पानी वितरण हुँदै आएको छ । पोखरा– १५ कोलपाटनको ट्यांकी भने नागरिक उड्डयन प्राधिकरणको अबरोधका कारण संचालनमा आउन सकेको छैन ।

७ असार २०८३, आईतवार ०९:३३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा