Play

पोखरा महानगरको नीति तथा कार्यक्रम: आकर्षक नारा सहितका ३३ वटा अभियान, कार्यान्वयन भने चुनौतीपूर्ण

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिकाको बिहिबार शुरु भएको १९ औं नगरसभामा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ।पोखरा महानगरका प्रमुख धनराज आचार्यले आंफ्नो कार्यकालको अन्तिम मार्गचित्र भन्दै प्रस्तुत गरेको उक्त नीति तथा कार्यक्रममा केहि प्रचारमुखी कार्यक्रम र केहि महत्वाकाक्षी अभियान समेत समाबेश गरिएको छ ।  मेयर आचार्यले आगामी आर्थिक बर्ष गर्ने भन्दै आकर्षक नाराहरु दिएर ३३ वटा अभियानहरु संचालन गर्ने उल्लेख गरेका छन भने शहरी बिकास, बित्ता ब्यबस्थापन, राजस्व, संचार तथा सूचना र प्रबिधि, सामाजिक बिकास, स्वास्थ्य, शिक्षा, र संस्थागत बिकास एबम सुशासन जस्ता बिषयमा १ सय १६ बुँदामा आंफ्नो ४ बर्षे कार्यकालको सफलता सहित केहि योजना अगाडी सारेका छन  पोखरा महानगरपालिकाले यस अगाडिका बर्षहरुमा गरेको कार्यप्रगतिलाई दृष्टिगत गर्ने हो भने यस पटक प्रस्तुत गरिएको नीति तथा कार्यक्रम कार्यन्वयन गर्न निकै चुनौतीपूर्ण देखिन्छ ।

आगामी आर्थिक वर्षमा पोखरा महानगरपालिकाले सबै विद्यालयमा आर.यू. एण्ड ग्रीन क्लब गठन गर्ने, विद्यालय तहमा मनोसामाजिक परामर्श, खेलकुद तथा नेतृत्व विकासलाई प्रबर्द्दन गर्न मनोसामाजिक प्रशिक्षक तथा खेलकुद शिक्षकका लागि आधारभूत तालिम अभियानका रुपमा सञ्चालन गर्ने र विद्यालयहरू बीच हरियाली प्रबर्दनको लागि प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न ग्रीन शिक्षक तथा विद्यालय विकास अभियान संचालन गर्ने जनाएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख तीन नाका प्रवेश तथा सीमा क्षेत्रमा धार्मिकपर्यटकहरुको सुविधाका लागि भान्छाघर तथा सार्वजनिक शौचालय निर्माण गर्ने अर्थात सीमा नाकामा रिफ्रेसमेन्ट सेन्टर बनाइने, प्रत्येक वडामा कम्तीमा एक आधुनिक, व्यवस्थित र अपाङ्गमैत्री सार्वजनिक शौचालय निर्माण गरिने, सडक सुरक्षालाई प्रभावकारी बनाउन सडकमा सीसीटिभी क्यामराको जडान सम्बन्धमा विद्यमान कानुनी व्यवस्थाबारे जनचेतना अभिवृद्धि गरि घर, व्यवसायिक प्रतिष्ठान तथा संघसंस्थाहरूलाई सडकतर्फ कम्तीमा एउटा सीसी क्यामराको दृश्य देखिने गरी जडान गर्न प्रोत्साहित गरिने भएको छ ।

यसैगरी महानगरको नीति तथा कार्यक्रममा प्रत्येक घरमा बाहिरबाट देखिने गरी फूल, बिरुवा तथा गमला राख्ने अभियान सञ्चालन गरिने, सबैभन्दा बढी वृक्षारोपण तथा हरियाली प्रबर्दन गर्ने ३ विद्यालय, ३ सरकारी कार्यालय, ५ टोल विकास संस्था र ७ आमासमुहलाई “वार्षिक ग्रीन अवार्ड” प्रदान गरिने, उत्कृष्ट करदातालाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिँदै सफाई, व्यवस्थापन र सामुदायिक सक्रियताका आधारमा उत्कृष्ट टोल विकास संस्थालाई पुरस्कार प्रदान गरिने, सकारात्मक सोच, महिला सशक्तीकरण तथा महिला आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याउने आमा समूहहरूमध्येबाट वडा स्तरमा १/१ समूह तथा समग्र महानगरबाट उत्कृष्ट १० आमा समूहलाई नगद पुरस्कार सहित सम्मान गरिने कुरा पनि समाबेश गरिएको छ ।

सुशासन, कार्यसम्पादन, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक गतिविधिमा सकारात्मक योगदान पुर्याउने सहकारी संस्थाहरूमध्येबाट १० सहकारीलाई पुरस्कार प्रदान गरिने, कृषि, शिक्षा तथा उद्यमशीलताको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरू मध्येबाट वर्ष कृषक’, वर्ष शिक्षक,शिक्षिका’ तथा वर्ष उद्यमी’ घोषणा गरी नगद पुरस्कार सहित सम्मान गर्ने, पर्यटन क्षेत्रमा विशिष्ट योगदान पुर्याउने उत्कृष्ट पर्यटन व्यवसायी तथा पर्यटन संस्थाहरूलाई वार्षिक पर्यटन उत्कृष्टता पुरस्कार दिईने,  हरेक घर, पसल र कार्यालयले आफ्नो अगाडिको सडक र नाली सफा राख्ने कार्यलाई अभियानका रुपमा सञ्चालन गरिने, एक पटक प्रयोग हुने प्लास्टिकको प्रयोगलाई घटाएर कपडाको झोला प्रयोगलाई प्रोत्साहन गरिने, मुस्कान सहितको पोखरा अभियान संचालन गरिने जस्ता कुरा पनि नीति तथा कार्यक्रममा समाबेश गरिएका छन ।

यसैगरी प्रत्येक घर र व्यवसायिक भवनमा कम्तीमा एक फूल वा बिरुवा लगाउने कार्यलाई अभियानका रुपमा सञ्चालन गरिने, सडक किनार र सार्वजनिक स्थलमा फूल रोप्ने कार्यलाई प्रोत्साहन गरिने, नगरक्षेत्रमा रहेका पर्खाललाई स्थानीय कला, संस्कृति र पर्यटन झल्काउने कामका लागि कलाकारहरु सम्वद्ध संघसँस्थाहरु र कलाकर्मी विद्यार्थीहरुसँगको साझेदारीमा भित्तेचित्रले सजाइने,  अनावश्यक हर्न बजाउने प्रवृत्ति घटाइने, पर्यटकमैत्री र सभ्य ट्राफिक संस्कृतिको विकास गरिने, पोखरा भ्रमणमा आउने पर्यटकहरुलाई नागरिक स्तरबाट आवश्यक जानकारी सहित पोखरा भ्रमणको निम्तो दिने कार्यलाई अभियानका रुपमा सञ्चालन गर्न ‘एक पर्यटक, एक मित्र’ अभियान सञ्चालन गरिने कुरा मेयर आचार्यले प्रस्तुत गरेको नीति कार्यक्रममा उल्लेख छ ।

निजी व्यवसायलाई पनि पर्यटकका लागि शौचालय खुला राख्न प्रेरित गरिने, व्यवस्थापनमा उत्कृष्टता हाषिल गर्ने महानगरपालिकाको तर्फबाट उचित सम्मान गरिने, महानगरक्षेत्रका व्यस्त सडकहरुमा पैदलयात्रुहरुका लागि जेब्राक्रसिब प्रयोग गर्ने बानीको विकासका लागि आवश्यक सचेतना अभियान सञ्चालन गरिने, फोहोर देख्नासाथ व्यवस्थापनमा तदारुकता देखाउने र फोहरमैला फोहोर बोक्ने गाडीमा मात्रै फोहोर बिसर्जन गर्ने कार्यलाई प्रोत्साहन गर्न ‘सभ्य र सुसंस्कृत पोखरेली’ अभियान सञ्चालन गरिने कुराको साथै पोखरा पर्यटन दूत अभियान,  साप्ताहिक कार–फ्री सडक अभियान, सेवाग्राहीको भिडभाड हुने कार्यालयमा लाइन बस्ने संस्कृतिको विकासमा जोड, सार्वजनिक व्यवहार, सामाजिक सञ्जाल र सेवामा सभ्य भाषाको प्रयोगलाई प्रोत्साहन, उज्यालो र सुरक्षित पोखरा अभियान, पोखराको फोटो, विश्वभर प्रचार अभियान, अतिथि देवो भवः अभियान जस्ता नारा पनि नीति कार्यक्रममा समाबेश गरिएको छ ।

यसका साथै हरेक नागरिकले दैनिक १० मिनेट आफ्नो टोल, पार्क वा सार्वजनिक स्थल सफा गर्नेकार्यलाई प्रोत्साहन गरिने, महानगर भित्रका घरपालुवा कुकुरहरूको अनिवार्य दर्ता र नवीकरण प्रणाली लागू गरिने, सामुदायिक कुकुरहरूको लगत संकलन, बन्ध्याकरण र रेबिज विरुद्धको खोप अभियान संचालन गरी सामुदायिक कुकुरको व्यवस्थापन गरिने, मोवाइल एप, वेवसाईट, क्युआर कोड लगायतका प्रविधिको प्रयोग गरी सार्वजनिक महत्वका विषयमा महानगरपालिका समक्ष सुझाव, समस्या र गुनासो दर्ता गर्न डिजिटल गुनासो अभियान सञ्चालन गरिने एबम सडकपेटी, नदिकिनार, खुल्ला तथा सार्वजनिक स्थल अतिक्रमण गर्ने कार्यलाई निरुत्साहन गर्दै संरक्षण अभियान र नगरक्षेत्रमा ध्वनी तथा धुँवा प्रदुषण रोक्नआवश्यक सचेतना अभियान सञ्चालन गरिने समेत उल्लेख गरिएको छ।

नीति तथा कार्यक्रममा मेयर आचार्यले यस अगाडि गरिएका र प्राप्त भएका उपलब्धिलाई आंफ्नो सफलताको रुपमा ब्याख्या गरेका छन । म्युनिसिपल एक्सेलेन्स अवार्डबाट पोखरा महानगरपालिका पुरस्कृत भएको र पोखरालाई  पर्यटकीय राजधानी घोषणा गरिएको कुरालाई समेत महत्वपूर्ण उपलब्धिको रुपमा चर्चा गरेका छन। फेवाताल संरक्षणका लागि विभिन्न प्रयत्न हुने क्रममा पछिल्लो समय सर्वोच्च अदालतको आदेशानुसार सिमांकन कार्य सम्पन्न गरी १ हजार ५५ सीमा स्तम्भहरु गाडिएको, तालघरबाट ६५ मिटरको क्षेत्रलाई मध्यवर्ती क्षेत्रका रुपमा विकास गर्ने प्रक्रिया अघि बढाइएको र पछिल्लो सर्भे अनुसार तालको क्षेत्रफल ६.३४३ वर्ग किमी अर्थात १२ हजार ६४८ रोपनी ३ पैसा ३ दाम कायम भएको उनले उल्लेख गरेका छन ।

महानगरले फिर्केखोलाको खोलाघर भित्र निर्माण भएका ३९ वटा कम्पाउन्ड वाल, ५८ वटा अस्थायी र ६३ वटा स्थायी गरी १६० वटा संरचनाहरु हटाएको छ उल्लेख गर्दै नीति तथा कार्यक्रममा यसलाई केवल खोला संरक्षणको योजना मात्र नभई “हरित, स्वच्छ, आधुनिक र जीवन्त सार्वजनिक करिडोर शहर” विकास गर्ने दूरदर्शी अभियानको रुपमा व्याख्या गरेका छन ।

उनले पृथ्वीचोकस्थित पोखरा उपत्यका नगरविकास समितिको स्वामित्वमा रहेको जग्गामा वर्षौ अगाडीदेखि विभिन्न संघसंस्थाहरुले निर्माण गरी भोगचलन गर्दै आइरहेका भवनहरु हटाइ नयाँबजार जोड्ने फुटपाथ सहितको सुविधायुक्त सडक निर्माणको प्रक्रिया अगाडी बढाइएको, अमरसिंह माध्यमिक विद्यालयसँगको सहकार्यमा अमरसिंहचोक स्थित पृथ्वीराजमार्गसँग जोडिएको क्षेत्रमा रहेका जिर्ण संरचना तथा सटर कवलहरु पूर्ण रुपमा हटाइएको समेत जनाएका छन ।

दशकौँ अगाडी पोखरा बसपार्क निर्माणका लागि अधिग्रहण गरिएको जग्गामा बसोबास गरिरहेका भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासीहरुलाई सो स्थानबाट स्थानान्तरणको प्रक्रिया अगाडी बढाइएको र यसका लागि बास्तविक सुकुम्बासीहरु पहिचान, जग्गा व्यवस्थापन र बसपार्क क्षेत्रमा जग्गाधनी प्रमाण पूर्जा भएकाहरुको हकमा सत्यतथ्य छानविनको प्रक्रिया थालिएको उनले उल्लेख गरेका छन ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँगको सहकार्यमा नगरक्षेत्रमा सञ्चालित दीर्घकालिन महत्वका परियोजनाहरु नतिजामुखी बन्दै गइरहेको दाबि गर्दै उनले विश्व बैंकको सहयोगमा निर्माण थालिएको तालचोक वेगनास सडक निर्माण सम्पन्न हुने क्रममा रहेको र शिशुवा चोकदेखी खुदीखोलापुल र पुँडीटारदेखि लामगाढी हुँदै लामेआहालसम्म अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको सडक निर्माण गरिएको, कोरिया अन्तराष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा सञ्चालित हरित रोजगारी सिर्जना परियोजना अन्तरगत नयाँबजारमा ग्रीन भेन्चर जोनसेन्टर निर्माण सम्पन्न हुने क्रममा रहेको परियोजनाले रिसाइक्लिब र अपसाइक्लिब मार्फत ३ हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको उनले जनाएका छन।

कोरियाली सरकारको सहयोगमा पोखराको सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाउँदै ग्रीन ट्रान्सपोर्टेसनको अवधारणा अनुरुप हरित यातायात विकास परियोजना सञ्चालनको क्रममा रहेको, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा वेष्ट वाटर म्यानेजमेन्ट परियोजनाको पश्चिम क्षेत्रमा निर्माण हुने ट्रिटमेन्ट प्लान्टको वृस्तित अध्ययन भई प्रतिवेदन नेपाल सरकार र महानगरपालिकालाई बुझाईसकेको, एशियाली विकास बैंक (एडिवी) को हयोगमा इ–मोबिलिटि र दिगो पर्यटन विकासका परियोजनाहरु अगाडी बढाइएको, पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट केहि चार्टर्ड उडानहरु गरिएको, पोखरालाई कार्बन तटस्थ शहरको रूपमा विकास गर्ने महानगरको दीर्घकालीन परिकल्पनालाई साकार पार्न प्रथम पञ्चवर्षीय नगर ऊर्जा योजना तयार गरिएको जस्ता कुरालाईमेयर आचार्यले आंफ्नो सफलताको रुपमा उल्लेख गरेका छन।

५ असार २०८३, शुक्रबार ०८:५५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा