पोखरा, नेपाली काँग्रेस कास्कीका नेता एबम प्रजातन्त्रका सेनानी पोखराको बैदाम निवासी नेत्रपाणी न्यौपानेको ७७ बर्षको उमेरमा सोमबार निधन भएको छ। नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य एबम नेपाली काँग्रेस पोखरा -६ वडा कार्यसमितिको सभापतिको जिम्मेवारीमा रहेर काम गरिसकेका न्यौपाने नेपाली काँग्रेसको राजनीतिमा निरन्तर क्रियाशील रहँदै आएका थिए।
प्रजातन्त्र प्राप्तिको आन्दोलनको क्रममा २०४६ सालमा जेल जिबन समेत बिताएका न्यौपाने नेपाली काँग्रेसले संचालन गर्ने हरेक आन्दोलनमा अग्रमोर्चामा सहभागी हुँदै आएका थिए। सरल स्वभावका न्यौपानेको निधनले नेपाली काँग्रेस र स्थानीय समुदायलाई अपुरणीय क्षती पुगेको छ।
कांग्रेस नेता न्यौपाने केहि बर्ष अगाडी आन्द्राको क्यान्सरको कारण गम्भीर बिरामी परेका थिए। उनको पोखरा र काठमाडौँलगायत बिभिन्न स्थानमा उपचार गरेपछि स्वास्थ्य अबस्था सामान्य जस्तै बनेको थियो तर बिगत केहि महिनादेखि फेरी गम्भीर बिरामी परेका उनलाई काठमाडौँस्थित अस्पतालमा राखेर उपचार गरिंदै आएको थियो ।
स्व. न्यौपानेकी धर्मपत्नी बिष्णु सहित दुई छोरा तेजनाथ न्यौपाने र शुक्रराज न्यौपाने एबम छोरी बिष्णुमाया लामिछाने रहेका छन । छोराहरु तेजनाथ र शुक्रराज दुवै जना नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहँदै आएको छन।
तेजनाथ पोखरामा बसेर आंफ्नो ब्यबसाय सहित राजनीतिमा सक्रिय छन भने शुक्रराज आयरल्याण्डमा रहेको भएपानी नेपाली काँग्रेस सम्बद्ध नेपाली जनसम्पर्क समिति जस्ता संस्थामा सक्रिय रहँदै आएको स्थानीय युवा तेजनारायण पराजुलीले गुरुकुल खबरलाई जानकारी दिए।
आज मंगलवार बिहान पोखरा बैदामस्थित निवासबाट स्व. न्यौपानेको शवयात्रा गरि सेती नदीमा उनको अन्त्येष्टि गरिने नेपाली काँग्रेस पोखरा – ६ वडा कार्यसमितिका कार्यबाहक सभापति अनिल पहारीले जानकारी दिए।

















