पोखरा , गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले वन संरक्षणमा वन प्राविधिकहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । प्रजातान्त्रिक वन प्राविधक संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशन कार्यक्रमलाई उदघाटन गर्दै उहाँले नेपालमा अनावश्यक रुपमा वन फडानी भइरहेको र यसको संरक्षणमा लाग्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
‘अनावश्यक रुपमा वन फडानी हुँदा प्राकृतिक विपति जस्ता समस्या आइरहेका छन्’, उहाँले भन्नुभयो, ‘हरियो वन नेपालको धन केवल नारामा मात्रै सिमित रहेको छ, यसको संरक्षणमा सबै जुट्नुपर्ने आवश्यकता छ ।’ मन्त्री थापाले प्रदेश सरकारले वन संरक्षण सम्बन्धि ऐन निर्माण गर्ने तयारी गरिरहेको र संघीय सरकारको केही झन्झटिलो नीति नियमका कारण रोकिएको बताउनुभयो । उहाँले वनलाई विकास निर्माण र देशको समृद्धिसँग पनि जोड्नुपर्ने आवश्यकतालाई औंल्याउनुभएको छ । जून वन प्राविधिकहरुले मात्र पूरा गर्न सक्ने धारणा उहाँको छ ।
मन्त्री थापाले वनले पर्यटन क्षेत्रको विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । सामुदायिक वनको संरक्षणले नेपालमा पाइने दुर्लभ वन्यजन्तुमा ह्रास नआउने र अवलोकनका लागि पर्यटकहरुको आगमन बढ्ने विश्वास उहाँको छ । उहाँले वन प्राविधिकहरुको समस्या न्युनिकरणमा प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । ‘वन प्राविधिकहरुलाई परेका समस्याको न्युनिकरणमा प्रदेश सरकार प्रतिबद्ध छ’, उहाँले भन्नुभयो, ‘दक्ष जनशक्तिलाई नेपालमै काम गर्ने वातावरण मिलाउन यहाँहरुले पनि सक्दो सहयोग गर्नुपर्यो ।’
मन्त्री थापाले विकास विरोधि वन ऐनका कारण कतिपय काठहरु वनमा नै कुहिएर नास हुने अवस्था रहेको बताउनुभयो । उहाँले वन सम्बन्धि ऐनलाई नै संशोधन गरी विकास अनुरुप बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभएको छ । ‘विकास विरोधि ऐनका कारण वर्षौ देखि वनमा आफै ढलेका रुखहरुलाई काठका रुपमा परिणत गरी विकास आयोजनामा प्रयोग गर्न सक्ने अवस्था छैन’, उहाँले भन्नुभयो, ‘भारतबाट काठ आयत गर्नुपर्ने अवस्था छ । यस्ता ऐन कानून संशोधन हुनुपर्छ ।’ वनलाई संरक्षण गर्दै पुराना रुखहरुलाई काठको रुपमा परिणत गरी विकास निर्माणमा प्रयोग गर्नुपर्ने धारणा उहाँको छ ।