पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारका अनुसार खेल सप्ताहमा कुल सातवटा खेल समावेश गरिएका छन् । तीमध्ये दुईवटा राष्ट्रियस्तरका र पाँचवटा ग्रासरुट तहका प्रतियोगिता रहनेछन् । राष्ट्रियस्तरमा मुवाथाई र साइकलिङ प्रतियोगिता तथा ग्रासरुट तहमा जुडो, हक्की, फुल कन्ट्याक्ट कराते, टेबलटेनिस लगायतका खेल सञ्चालन गरिनेछ।
अध्यक्ष गोदारले ग्रासरुट तहका खेल प्रतियोगितामार्फत नयाँ खेलाडीको प्रतिभा पहिचान तथा विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार स्थानीयस्तरमै रहेका सम्भावनायुक्त खेलाडीलाई अवसर प्रदान गर्दै भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताहरू आयोजना गर्न लागिएको हो ।
समितिका सदस्य सचिव सुरज अधिकारीले खेल सप्ताहलाई सफल बनाउन तयारी तीव्र पारिएको जानकारी दिए ।खेल सप्ताहको अवसरमा मार्सल आर्ट फेस्टिभलसहित अन्य खेलसम्बन्धी कार्यक्रमहरू आयोजना गरिने सचिब अधिकारीले बताए । तयारीका क्रममा मंगलबार बसेको बैठकले विभिन्न समिति तथा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरेको छ । आवश्यक व्यवस्थापन, प्राविधिक समन्वय, खेल सञ्चालन तथा प्रचारप्रसारका कामलाई प्रभावकारी बनाउन समितिले तयारीलाई तीव्रता दिएको जनाएको छ।
सदस्य सचिव अधिकारीका अनुसार चालु वर्षमा राष्ट्रपति रनिङ शिल्डसहित महानगरपालिकाको आयोजना तथा सहजीकरणमा विभिन्न खेलकुद गतिविधि सम्पन्न भए पनि ती कार्यक्रममार्फत समेटिन नसकेका केही खेललाई खेल सप्ताहमा समावेश गरिएको हो । यसले विविध खेल विधालाई प्रवर्द्धन गर्नुका साथै खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
खेल सप्ताहले पोखरामा खेल संस्कृतिको विकास, नयाँ प्रतिभाको खोजी तथा विभिन्न खेल संघ–संस्थाबीच समन्वय अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास समितिले लिएको छ । यसका अलावा राष्ट्रिय स्तरका प्रतियोगिताले पोखरालाई खेल पर्यटनको गन्तव्यका रूपमा थप स्थापित गर्न समेत सहयोग पुग्ने अपेक्षा आयोजकले गरेका छन् ।
















