Play

पोखरामा एकैदिन ६ हजार बिरुवा रोपिएको र २ लाख २६ हजार बिरुवा रोप्ने लक्ष रहेको महानगरको दाबि

गुरुकुल खबर


पोखरा, विश्व वातावरण दिवसको अवसरमा शुक्रबार पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा एकै दिन ६ हजारभन्दा बढी बिरुवा रोपिएका छन। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा उपत्यका नगर विकास समितिको कार्यालय परिसरमा फलफूल र फूलका बिरुवा रोपेर अभियानको सुरुवात गर्दै पोखरालाई स्वच्छ र हरित सहरका रूपमा विकास गर्न ग्रिन पोखरा, क्लिन पोखरा परियोजनाअन्तर्गत यो मेगा वृक्षारोपण अभियान सुरु गरिएको आचार्यले बताए ।

पोखरा महानगर क्षेत्रको ७ सय किलोमिटर सडक र राजमार्गको साथै ६७ किलोमिटर नदी तथा खोला किनार र २९ वटा सार्वजनिक स्थलका १ सय २५ हेक्टर खुला क्षेत्रमा बिरुवा रोप्ने अभियान अन्तर्गत २ लाख २६ हजार बिरुवा रोप्ने लक्ष राखिएको आचार्यले जानकारी दिए । वन विज्ञान अध्ययन संस्थान र वातावरण विज्ञहरूको सुझावका आधारमा  वृक्षारोपणका लागि ३८ प्रजातिका बिरुवा छनोट गरिएको बताइएको छ ।

नगर प्रमुख आचार्यले ग्रिन पोखरा र क्लिन पोखरा निर्माणमा योगदान गर्न सबै नगरवासीलाई आह्वान गरेका छन् । ‘आफ्नो घर र पसल अगाडि लगाइएका बिरुवाहरूको नियमित गोडमेल र संरक्षण गर्दै वातावरणीय स्वच्छता प्रवर्द्धन गर्न म सबैलाई आग्रह गर्दछु,’ उनले भने । आफ्नो वरपरको वातावरण सफा र हरियाली बनाउनु सबैको जिम्मेवारी भएको उनले उल्लेख गरे ।

पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले पनि अभियानलाई सफल बनाउन नगरवासीको सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिए । हरेक नागरिकले आफ्नै घर अगाडिका बिरुवा संरक्षण गर्ने दायित्व लिएमा मात्र महानगरको उद्देश्य पूरा हुने उनले बताए। महानगरपालिकाले वातावरण सफा र स्वच्छ राख्ने काममा सधैं नगरवासीलाई साथ दिने उनले विश्वास दिलाए ।

विज्ञहरूको सिफारिसमा महानगरका विभिन्न भागमा वर, पिपल, शमी, पैयुँ, कोइरालो र टाँकी जस्ता बिरुवा रोपिने छन् । लाली गुराँस, असारे, आँप, अमला, अशोका, कल्की फूल र राइखन्यु पनि रोपणका लागि छनोट भएका छन् । त्यसैगरी गुलमोहर, बैँस, लालुपाते, कागज पाते, पालम, धुपी, बाँस, खयर र सिसौ लगायतका प्रजाति यसमा समावेश छन् । जंगली केरा, नारेश्वर, बेडुला, रुद्राक्ष, कदम, निमारो, अम्बा र बेल जस्ता फलफूल तथा धार्मिक महत्त्वका बिरुवा पनि यो अभियानमा लगाइने महानगरले जनाएको छ ।

२२ जेष्ठ २०८३, शुक्रबार १४:०७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा