Play

कन्स्ट्रक्सनमा भन्दा डिस्ट्रक्सनमा सबैको चासो: फिर्केखोला र बसपार्कका संरचना भत्काएपछि बनाउने काम कहिले?

गुरुकुल खबर


पोखरा, पोखरा बजारको बीचभागबाट बग्ने फिर्केखोला क्षेत्रमा बनेका संरचना हटाउने अभियान चलाएको पोखरा महानगरले एकसाताको अबधिमा १ सय ६७ भन्दा बढी ठुला र साना एबम पक्कि र कच्ची संरचना भत्काएको जनाएको छ। जेठ १० गतेबाट शुरु भएको डोजर अपरेसनका कारण फिर्केखोला क्षेत्रमा बनेका निजि एबम सामुदायिक भवन र स्कुलहरु भत्काउने क्रममा पोखरा महानगरको लाखौँ रुपैया खर्च भैसकेको छ। तर भत्किएर अलपत्र अबस्थामा रहेको फिर्के खोला क्षेत्र कहिले ब्यबस्थित बन्ला भन्ने बिषय भने अनुत्तरित नै छ ।

भत्केको ठाउँको ब्यबस्थापन कहिलेसम्ममा ? 

पोखरा महानगरले फिर्के खोला क्षेत्रको तिन ठाउँबाट डोजर अपरेसन गर्दा निजि भवनहरु मात्र नभएर बिभिन्न संघ संस्थाले बनाएका ब्यापारिक भवनहरु, जातीय संस्थाले बनाएका सामुदायिक भवनहरु, शिक्षण संस्थाका भवनहरु र क्रियापुत्री भवन र सौचालयहरु समेत भत्काइएका छन । फिर्के खोला घर क्षेत्रमा बनाइएको भन्दै पोखरा महानगरले भत्काएका संरचनालाई ब्यबस्थित ढंगले भत्काएको भए तिनको मर्मत र पुनर्निर्माण कार्यमा कम खर्च लाग्नेमा डोजर चलाएर जबर्जस्ति भत्काईएको कारण ति संरचनाको मर्मत एबम पुननिर्माणमा समेत ठुलो रकम खर्च हुने भएको छ।

संरचना भत्काउन मात्र पनि लाखौँ रुपैया खर्च गरेको पोखरा महानगरपालिकाले फिर्केखोला क्षेत्रमा करिडोर वा फुटपाथ बनाउने योजना अगाडी सारेको भएपनि त्यो परियोजना कहिले शुरु हुने भन्ने अझै टुंगो छैन । त्यसमाथि फिर्केखोला र किनारमा संरचना भत्काएर अलपत्र अबस्थामा फालिएको कंक्रिट सहित ढुंगा माटो र फलामको ब्यबस्थापन कहिले सम्म सक्ने भन्ने बिषयमा समेत पोखरा महानगरपालिकासंग जवाफ छैन ।

बर्षाको कारण थप क्षति हुने र फेवाताल पुर्ने सम्भावना

अहिले बर्षायामको समयमा पोखरामा ठुलो पानि पर्ने गर्छ, पोखराको आकासमा पानि परेमा फिर्केखोलाको अँधेरीकुना देखि आउने बाढीले फिर्केखोला क्षेत्रमा भत्काइएका संरचनाका टुक्राहरू र ढुंगा माटो सहितको फोहरमैला सिधै फेवातालमा पुर्याउने निश्चित छ । यसले फेवाताल पुर्न र तालमा फोहरमैला सजिलो संग पुर्याउन सक्नेमा दुईमत छैन । पोखरा महानगर प्रहरी बलका प्रमुख पुरुषोत्तम थापाका अनुसार फिर्के खोलाको अधिकांश ठाउँमा रुट क्लियर भैसकेको छ भने भग्नावशेष हटाउने र सरसफाई गर्ने क्रम जारी छ ।

 नगर प्रहरी बलका प्रमुख थापाले गरेको दाबि जस्तो फिर्के खोला क्षेत्रको भग्नावशेष हटाउने तथा सरसफाई गर्ने काम खासै भएको देखिन्न ।  लायन्सको भवन, सोपाल तमु समाज, फिर्के तमु समाज, बगालेटोल सामुदायिक भवन, बराल समाजको भवन, लिटिल स्टेप स्कुलको भवनसहित अन्य व्यक्तिका संरचना भत्काएको स्थानमा भग्नावशेष अलपत्र अबस्थामा देखिन्छ । कतिपय स्थानमा बनाइएका संरचना भत्काएपछि माटो ढुंगा निस्केर बर्षा संगै थप भत्किने र व्यक्ति वा अन्यको संरचनामा समेत क्षती पुग्ने सम्भावना बढेको छ ।

सुकुम्बासीका ४० परिवार बिस्थापित

फिर्के खोला किनारको बिभिन्न स्थानमा बनेका संरचना भत्काउदा वास्तविक सुकुम्बासीको रुपमा महानगरले निस्सा समेत दिएका ४० परिवार बिस्थापित हुन् पुगेको बताइएको छ । पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालका अनुसार बिस्थापित भएका सुकुम्बासी परिवारलाई व्यवस्थापन गर्न केन्द्र सरकारको मापदण्ड अनुसार तिन महिनाको राहत रकम दिईने भनिएको छ । तर पोखरा महानगरपालिका संग ती परिवारलाई दिनको लागि आबश्यक राहत रकमको समेत ब्यबस्था गरिएको छैन । जसका कारण महानगरले अब छुट्टै रकम व्यवस्थापन गर्नुपर्ने अबस्था सृजना भएको छ।

बिना योजना डोजर चल्दा अलपत्र पर्ने सम्भावना 

यसरि हेर्दा पोखरा महानगरपालिकाले बिना योजना र पुर्व तयारी हतारमा डोजर अपरेसन शुरु गरेको महशुश धेरैले गरेका छन । जसरी पोखराको फेवाताल किनारमा रातारातर एकदिनमात्र डोजर चलाएर एक किसिमको आतंक सिर्जना गरियो र त्यसपछि भत्केका संरचना एबम ताल किनारालाई त्यसै छोडियो । अनि तिनै भत्केका संरचना मिलाएर बस्ने र ब्यबसाय गर्ने कामले निरन्तरता पाएको जस्तै फिर्केखोला किनारमा पनि केहि दिन डोजर चलाउने र त्यसै छाड्ने अबस्था आउने त हैन भन्ने आशंका उब्जिन थालेको छ ।

महानगरपालिकाले पुर्व तयारी र योजना अनुरुप चरणबद्ध रुपमा फिर्क्र खोला क्षेत्रको अतिक्रमण हटाउन लागेको भए महानगर सहित फिर्केखोला किनारमा रहेका सर्बसाधारणले समेत सहज महशुश गर्ने थिए । पहिलो चरणमा खालि जग्ग भएको ठाउँमा जमिनको सतह मिलाउने, दोश्रो चरणमा केहि दिनको समय दिएर कच्ची संरचना भत्काउने र तेश्रो चरणमा पक्कि संरचना तथा बिभिन्न सामुदायिक भवनहरुमा डोजर चलाउने गरेको भएपनि सबैलाई समय पुग्ने थियो । तर, महानगरले अरु कुरा छोडेर संरचना वा भवनहरु मात्र भत्काउने योजना अगाडी सारेको कारण कतिपय व्यक्ति र संस्थाले ठुलो समस्या र क्षती समेत व्यहोर्नुपरेको छ ।

थप संरचना भत्काउन पनि बजेट अपुग हुनसक्ने 

महानगरले चालु आर्थिक वर्षका लागि फिर्के करिडोर व्यवस्थापन शिर्षकमा ४० लाख रुपैयाँ बजेट छुट्याएको थियो तर फिर्केखोला किनारको आधा जति संरचना भत्काउँदैमा उक्त बजेट सकिएको छ । अतिक्रमण हटाउने क्रममा हुनसक्ने सम्भावित अवरोध ख्याल गरेर महानगरले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो । प्राप्त जानकारी अनुसार ७ दिनको अबधिमा १ हजार ३ सय ४८ जना सुरक्षाकर्मी फिर्केखोलाको फिल्डमा खटिएका थिए । जसमध्ये नेपाल प्रहरीका ६ सय ५५ जना, सशस्त्र प्रहरीका ४ सय ४० जना, नगर प्रहरी २ सय ५३ जना रहेको छन । यसबाहेक केहि कर्मचारी पनि नियमित रुपमा फिल्डमा खटिएका छन ।

भत्काउने कुरामा रमाउंदै केहि जनप्रतिनिधि र सामाजिक संजाल चलाउनेहरु  

महानगरले डोजर अपरेसन शुरु गर्ने र भवन तथा अन्य संरचना हटाउन लागेपछि सामाजिक संजालमा रमाउने एक किसिमको जमातले निकै खुसी प्रकट गर्दै महानगरको काम कारबाहीको प्रशंसा गरेको देखिन्छ । जनप्रतिनिधिको रुपमा रहेका वडाध्यक्षहरु समेत चरणबद्ध रुपमा भत्काउने र फिर्केखोला ब्यबस्थित गर्ने तर्फ भन्दा पनि खोला किनारमा बनेका ठुला संरचनामा डोजर हान्नमा नै रमाउने गरेको देखियो । २/४ दिन समय माग्दा पनि तत्काल डोजर चलाएर भत्काउँदा आँफु सफल भएको ठान्ने प्रवृति पोखरा महानगरका केहि वडाध्यक्षहरुमा देखिएको छ। उनीहरुले आँफै त्यहाँ पुगेर खोला किनारका ठुला र पक्कि संरचना भत्काउन निर्देशन दिएको कुरालाई गर्वका साथ आंफ्नो सामाजिक संजालमा राख्ने गरेको देख्दा कतिपयले जनप्रतिनिधिहरु ब्यबहारिक बन्न नसकेको भन्दै टिप्पणी गरेको छन ।

आंफ्नो कार्यालय बनाउन नसकेर मासिक ८ लाख भाडा तिरेर बस्छ ‘पोखरा महानगरपलिका’ 

अहिलेको समाज नै भत्काउने, बिगार्ने अनि अराजकता र नकारात्मकता तर्फ गैरहेको छ । समाजलाई पनि यस्तै कुरा मन पर्छ । पोखरा महानगर पालिकाले जेनजी विद्रोहका क्रममा जलाइएका र तोडफोड गरिएका आंफ्ना संरचना बनाउन अझै सकेको छैन । कतिपय वडा कार्यालयहरु टीनको टहरामा कामचलाउ किसिमले संचालन भैरहेका छन भने कतिपय वडा कार्यालयहरु नागरिकहरुको आर्थिक एबम अन्य सहयोगबाट मर्मत गरेर संचालन भैरहेको छन । पोखरा महानगरको मुख्य कार्यालयको मर्मत वा पुनर्निर्माण भने कहिले शुरु हुने भन्ने समेत अत्तोपत्तो छैन । जसका कारण पोखरा महानगरपालिका आँफैले मासिक करिब ८ लाख रुपैया भाडा तिरेर राष्ट्रिय बाणिज्य बैंकको सुबिधासम्पन्न भवनमा कार्यालय संचालन गरेर बसिरहेको छ । उक्त भवनमा महानगरपालिकाको कार्यालय ब्यबस्थापन गर्दा समेत लाखौ रुपैया खर्च गरिएको थियो ।

बसपार्क क्षेत्रका पांचवटा भवन भत्काउँदा करिब ७ करोडको क्षति

फिर्के खोला क्षेत्र मात्र नभएर पोखराको पृथ्वीचोक बसपार्क क्षेत्रमा पनि महानगरले बिना योजना डोजर चलाएर बिभिन्न संघ संस्थाले बनाएका भवन र पक्कि संरचनाहरु भत्काएको छ । पोखरा उपत्यका नगर बिकास समितिको उक्त जग्गामा सहारा क्लब, हिमाली सांस्कृतिक परिवार, सामुदायिक प्रहरी सेवा जिल्ला समिति, नेपाल स्वतन्त्र यातायात मजदुर संगठन, जिफन्ट, नेपाल ट्रेड युनियन कांग्रेस र नेपाल ट्रेड युनियन महासंघ लगायतले भवन बनाएर आंफ्नो कार्यालय संचालन गर्नुको साथै ब्यबसायिक रुपमा भाडामा समेत लगाएका थिए ।

बसपार्क नजिक सडक किनारमा एकै लाइनमा बनेका पांचवटा भवनको निर्माणमा मात्र ७ करोड बढी खर्च भएको अनुमान गर्न सकिन्छ । महानगरले करिब तिन दिनको अबधिमा नै करोडौं रुपैया खर्च गरेर बनाइएका ति संरचना त भत्काएको थियो । बसपार्क क्षेत्रका संरचनामा मात्र नभएर फिर्के खोला किनारामा बनेका सामुदायिक भवन एबम संघसंस्थाको भवन र संरचना निर्माणमा सम्बन्धित संस्थाका सदस्यसहित निजि क्षेत्रबाट संकलित रकम अनि पोखरा महानगरपालिका सहित राज्यको बिभिन्न निकायको करोडौं रुपैया खर्च भएको छ । पृथ्वीचोक क्षेत्रमा सडक चाक्लो बनाउन मात्र सहारा क्लब, सामुदायिक प्रहरी, हिमाली सांस्कृतिक परिवार र ट्रेड युनियाँ संगठनका भवनहरु भत्काइएको पोखरा महानगरका मेयर धनराज आचार्यले बताउंदै आएका छन ।

उपयुक्त संरचना राज्यका निकायले उपयोगमा ल्याए राम्रो हुने सुझाब 

सडक चाक्लो बनाउनको लागि मात्र ति संरचना हटाईएको हो भने त्यहा सडक चाक्लो बनाउन सकिने अर्को उपाय पनि छ । किनकि उक्त स्थानको सडकको पश्चिम तर्फपनि सरकारी खाली जग्गा रहेकोले त्यहाँको केहि जग्गा उपयोग गरेर त्यहाँ दुई लेनको सडक बनाउन कुनै समस्या देखिन्न । यदि नगरपालिकाले संरचना भत्काउने कुरालाई मात्र आंफ्नो प्राथमिकता नसम्झेको ति संरचनालाई नगरपालिका वा राज्यले आंफ्नो नियन्त्रणमा राखेर सोहि ठाउँबाट महानगरले कतिपय कार्यालय संचालन गर्न सकिने प्रशस्त सम्भावना थियो । त्यसो गर्दा करोडौं रुपैया खर्च गरेर बनेका संरचना पनि नबिग्रने अनि नगरपालिका वा राज्यले तिनै भवनमा कार्यालय संचालन गरेर उपयोग गर्दा राज्यको खर्च समेत जोगिन सक्थ्यो । तर, महानगरपालिकाका केहि जनप्रतिनिधिहरु सहित समाजका केहि व्यक्तिहरुको लहडमा सम्भावनाको खोजि समेत नगरी एकाएक पक्कि भवन भत्काउने काम मात्र हुन् पुगेको छ ।

बसपार्क क्षेत्रको एकमात्र सार्बजनिक शौचालय पनि भत्काइयो. समस्यामा सर्बसाधारण 

हजारौ मानिसहरुको ओहोरदोहोर हुने बसपार्क क्षेत्रमा सहारा क्लबले बनाएको सार्बजनिक शौचालय समेत भत्काईएपछि बसपार्क पुग्ने जो कोहिले पनि शौचालयको अभावमा समस्या भोग्नुपरेको छ । महानगरपालिकाले अर्को शौचालयको ब्यबस्था नहुँदा सम्म वा उक्त शौचालयको कारण अन्य काममा अबरोध नपुग्दासम्म शौचालय नभत्काएको भए धेरै सर्बसाधारण र यात्रुहरुलाई सुबिधा पुग्ने भनाई यातायात मजदुर र ब्यबसायीहरुको रहेको छ । ‘यात्रु एबम सर्बसाधारणले सार्बजनिक शौचालय कता छ भनेर सोध्छन, पहिले त त्यहि देखाउन मिल्थ्यो अहिले भत्काईदिएपछि त सबैले समस्या भोग्नुपरेको छ’ एक यातायात मजदुरको प्रतिक्रिया थियो ।

‘तिन दिन सम्म डोजर चलाएर भत्काएको संरचनाको भग्नावशेष अझैसम्म पनि सडकबाट हटिसकेको छैन । हटाउने काम त भैरहेको छ, तर आज एक हप्ता पुगिसक्यो । सडकबाट भग्नावशेष नहटेको कारण त्यहाँ रहेका हंगकंग बजार समेत संचालन हुन् सकेको छैन ।’ उक्त बजारका संचालक मिलन तिवारीका अनुसार महानगरले ति संरचना आँफैले उपयोग गरे हुनेमा सबै भत्काएर नष्ट गर्ने काम मात्र गरिएको छ । त्यसमाथि भत्केपछिको धुनाग सिमेन्ट रड आदि यत्रतत्र छरिएको कारण सर्बसाधारणले हिंडडुल गर्न समेत समस्या भोग्नुपरेको छ । जसका कारण ब्यबसायीहरुले आंफ्नो पसल खोल्न सकेको छैनन भने सर्बसाधारण र ग्राहक आउँन पनि समस्या परेको छ ।

कन्स्ट्रक्सन भन्दा डिस्ट्रक्सनमा रमाउने प्रवृति बढ्दो 

महानगरपालिकाले पुर्व तयारी बिना वा योजना बिना सबैतिर संरचना भत्काएर अलपत्र अबस्थामा रहने हो कि भन्ने चिन्ता समेत कतिपयको छ । तर बर्तमान अबस्थामा सकारात्मक भन्दा नकारात्मक कुरामा र कन्स्ट्रक्सन भन्दा डिस्ट्रक्सनमा रमाउने प्रवृतिका कारण नगरपालिका र केहि जनप्रतिनिधिलाई तत्काल केहि वाहीवाही मिलिरहेको छ । तर यसको नतिजा उपयुक्त समयमा नआएमा अहिले वाहीवाही गरेको यहि समाजले आक्रोश ब्यक्त गर्ने अबस्था नआउला भन्न सकिन्न यस तर्फ जनप्रतिनिधि र राज्यका निकाय गम्भीर बन्नु आबश्यक छ । तसर्थ भत्काउने काम संगै बनाउने तर्फ पनि पोखरा महानगरपालिकाको चासो र चिन्ता हुनुपर्ने धेरैको धारणा रहेको छ ।

१९ जेष्ठ २०८३, मंगलवार १३:४९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा