सिचुआन (चिन), चिनको सिचुवान प्रान्तीय वैदेशिक मामिला कार्यालयले चीनको याआन नगरको आर्थिक सहयोग तथा वैदेशिक मामिला ब्युरोको व्यवस्थापनमा आयोजना गरेको ‘चीन (सिचुआन) नेपाल कृषि प्राविधिक तालिम-२०२६ हालै सम्पन्न भएको छ। अप्रिल २० अर्थात बैशाखको पहिलो साताबाट याआनमा भएको तालिममा नेपालका सरकारी अधिकारी, विज्ञ र प्राविधिक र संचारकर्मी सहितको १५ जनाको टोली सहभागी थियो।
नेपाल जस्तै पहाडी भूगोल भएको चीनको सिचुआन प्रान्तले विगत केही वर्षदेखि नेपाली कृषि प्राविधिकहरूलाई यस किसिमको तालिम दिँदै आफ्नो ग्रामीण पुनरुत्थानको अनुभव आदानप्रदान गर्दै आएको छ। सन २०१९ मा याआन नगर र नेपालको घोराही उपमहानगरपालिका बीच मैत्रीपूर्ण सम्बन्ध स्थापना भएपछि जनस्तरको सहकार्य अझ मजबुत बनेको छ।
चीन ग्रामीण विकास प्रतिष्ठानको नेपाल कार्यालयकी निर्देशक जोउ झिछियाङका अनुसार ‘बेल्ट एण्ड रोड’ अर्थात बीआरआई अवधारणा अन्तर्गत भइरहेको यो कृषि सहकार्यले नेपालको कृषिलाई आधुनिकीकरण, प्राविधिक रूपान्तरण र उत्पादकत्व बढाउन एउटा पुलको काम गरिरहेको छ ।
नेपालबाट तालिममा सहभागी बनेका नेपाल कृषि अनुसन्धान परिषदका प्रशासनिक महाशाखा प्रमुख नविन प्रकाश पौडेलले कृषि प्राविधिक तालिम मार्फत नेपालमा कृषिको सम्भावनालाई चीनको प्रविधि र अनुभवसँग जोड्ने र कृषकको भविष्यसंगै मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउने लक्ष राखिएको बताए।
तालिमको उद्घाटन समारोहमा बोल्दै उनले गत वर्षको तालिम चिया उद्योग प्रविधिमा केन्द्रित एकल विन्दुको सफलता थियो भने यस वर्षको तालिमले धेरै विशिष्ट कृषि क्षेत्रहरूलाई समेटेको कारण अघिल्लो बर्षको तालिमको पूर्ण बिस्तारित रुप बनेको स्पष्ट पारे।
तालिमको लागि चिन पुगेका सहभागीहरु मिङ्सान जिल्लामा चिया उद्योगको विकासको अवलोकन गर्नुका साथै शिमियन काउन्टीको मेइलुओ टाउन र हानयुआन काउन्टीको छिङसी टाउन लगायतका स्थानहरूको भ्रमण गरेका थिए।

भ्रमणको क्रममा उनीहरूले सरिफा,एभोकाडो, स्विट चेरी, टिमुर जस्ता फलफुलसंग सम्बन्धित उद्योग र आधुनिक कृषि प्रबिधि र विकासको अवस्थाबारे अध्ययन गरेका थिए । घाम लाग्ने समय, वर्षाको मात्रा, किसानको आम्दानी र सरकारी सहयोग नीति एबम प्रबिधिको बारेमा सहभागीहरुले चिनिया टोलीसंग जानकारी लिएका थिए ।
शिमियन काउन्टीको मेइलुओ टाउनमा रहेको लोक्वाट प्रमाणीकरण खेती प्रदर्शन केन्द्रमा प्रशिक्षार्थीहरूले बगानभित्रै गएर यसको खेतीबारे जानकारी लिए। देशभरमै सबैभन्दा चाँडो बजारमा आउने लोक्वाट उत्पादन क्षेत्रको हजारौँ एकड जमिन अहिले वर्षकै सबैभन्दा महत्त्वपूर्ण ‘फ्रुट ब्यागिङ’ (फललाई कभर गर्ने) र व्यवस्थापनको चरणमा रहेको छ।
सहभागीहरुले नेपालको जलवायु र माटोको अवस्था शिमियनसँग मिल्दोजुल्दो रहेको र भविष्यमा लोक्वाट खेतीको प्रविधि पनि नेपालमा लैजान चाहेको बताए। यसैगरी सहभागीहरुले हानयुआनमा पुगेर पहाडभरिका स्विट चेरीका बोटहरूको अबलोकन गरे करिब १६०० मिटरको उचाइमा रहेको छिङसी टाउन स्विट चेरीको मुख्य उत्पादन क्षेत्र हो। यी चेरीका बोटहरू सन् १९८४ देखि भित्र्याइएका हुन्।
पहिलेको परम्परागत खेती प्रणालीमा त्यहाँको मुख्य बाली आलु र मकै रहेकोमा पछिल्लो समय स्विट चेरी खेतीलाई बिस्तार गरिएको छ छिङसी टाउनका प्रमुख जेङ दाईसोङका अनुसार स्विट चेरी फूल फुल्नदेखि फल लाग्नसम्म केवल एक महिना लाग्छ। बाँकी समयमा कृषकहरू अन्य काम वा वैदेशिक रोजगारीमा गएर आफ्नो आम्दानी बढाउन सक्छन्।
यसैगरि तालिममा गएको टोली हानयुआनको हजारौँ एकडको गोङ्चियाओ (शाही टिमुर) कोसेली केन्द्रमा पुगेर टिमुर उद्योग र आधुनिक कृषि प्रविधिको प्रयोगको अवलोकन गरेको थियो। त्यहाँका कर्मचारीहरूले स्थलगत रूपमै मेसिनले काटछाँट गर्ने प्रबिधि र ड्रोन सिँचाइ प्रविधिको प्रदर्शन गराएका थिए ।

तालिमको उद्घाटन समारोहमा चीन ग्रामीण विकास प्रतिष्ठानको नेपाल कार्यालयकी निर्देशक जोउ झिछियाङले नेपालबाट तालिममा सहभागी कमल बहादुर तामांगले उपहार स्वरूप दिएको ‘ग्रिन टी’ चियाको प्याकेट देखाउंदै उक्त प्याकेटको चिया नेपालको नुवाकोट जिल्ला, म्यागाङ गाउँपालिकामा उत्पादित चिया भएको जानकारी गराईन । तालिम टोलीको नेतृत्व गरिरहेकी जोउ झिछियाङले याआनमा सिकाइका लागि यस बर्ष दोस्रो पटक बिभिन्न कृषिसंग सम्बन्धित व्यक्तित्वहरु आएको जानकारी दिईन ।
‘गत वर्षको अप्रिलमा, सिचुआन वैदेशिक मामिला कार्यालयको सहयोगमा हामीले चिया किसानहरूको पहिलो टोलीलाई याआनमा सिकाइका लागि ल्याएका थियौँ। उनीहरू फर्किएपछि चिया उद्योगको विकासमा नयाँ उपलब्धिहरू हासिल भएका छन’ उनले भनिन्। ‘यो उनीहरूले अघिल्लो पटक सिकेर फर्किएपछि उत्पादन गरेको पहिलो ब्याचको चिया हो।’
मिङ्सान जिल्लाको गाओगाङ गाउँका पार्टी सचिव वु होङचिन र छिभोङ गाउँका पार्टी सचिव झान जाओजीले चिया बगानमा विशेष उपहार प्राप्त गरेकोभन्दै खुसि प्रकट गरे नेपालको कृषि प्राविधिक तालिम टोलीका प्रशिक्षार्थीहरूले हिमालय पर्वत शृङ्खला पार गरेर ल्याएको एउटा विशेष कोसेलीको रुपमा चर्चा गर्दै उनीहरुले अन्तर्राष्ट्रिय चियाको प्याकेट प्राप्त गर्दा निकै अचम्मित र खुसी भएको प्रतिक्रिया दिए।
‘अघिल्लो बर्ष चिन आएर तालिममा सहभागि बनेर फर्किएपछि चिनिया प्रक्रिया अबलम्बन गरेर उत्पादन गरिएको भन्ने सुन्दा एउटा छुट्टै र व्यक्त गर्न नसकिने गौरवको अनुभूति भयो’ वु होङचिनले भनिन्। ‘अहिले त्यहाँका स्थानीय महिलाहरू हरेक दिन चिया टिप्न पहाड चढ्छन् र उनीहरूको चिया काठमाडौँको बजारसम्म सफलतापूर्वक बिक्री भइरहेको छ भन्ने सुन्दा निकै खुसि लागेको छ।’
चीन ग्रामीण विकास प्रतिष्ठानको सहयोगमा गत बर्षको नेपाल कृषि प्राविधिक तालिममा सहभागी बनेका नेपाली प्रशिक्षार्थी तामांगको गाउँमा पहिलेदेखि नै चिया खेती भएपनि उपयुक्त प्रविधि र बजार व्यवस्थापनको अभाव रहेकोमा याआनका आधुनिक र सूक्ष्म व्यवस्थापनका विधिहरू सिकेपछि तामाङलेआफ्नै गाउँमा चिया खेतीको शैली नै बदलेका छन ।
जसका कारण उनको गाउँमा चियाको उत्पादन ३ टनबाट बढेर १० टन पुगेको र चियाको गुणस्तरमा पनि सुधार आएको छ। हाल त्यहाँका स्थानीय महिलाहरूले उत्पादन गरेको चिया काठमाडौँको बजारसम्म पुग्न थालेको छ र उनको गाउँ ‘ऊर्जावान् गाउँ’ को रूपमा चिनिन थालेको छ।
तालिमले कृषि प्रविधिको प्रवर्द्धन, विशिष्ट उद्योगहरूको विकास, कृषि उत्पादनको व्यापारिक आदानप्रदान, र प्रतिभा विकास तथा क्षमता अभिवृद्धि जस्ता क्षेत्रमा हुने सहयोगलाई अझ प्रभावकारी बनाउने बिश्वास नेपाली टोलीले लिएको जनाएको छ । यस पटकको प्रशिक्षार्थी प्रतिनिधिका रूपमा सहभागि कृषि अनुसन्धान परिषदका प्रशासनिक महाशाखा प्रमुख पौडेलले पनि भ्रमण निकै फलदायी रहेको बताए।
‘हामी चीनको प्राविधिक रूपान्तरण, प्राविधिक प्रगति र प्राविधिक नवप्रवर्तनलाई नेपालमा लैजानेछौँ। भविष्यमा हाम्रो उत्पादन प्रणालीमा सुधार ल्याउन र नेपालको कृषिको आधुनिकीकरण हासिल गर्न हामी अझ बढी अनुभवहरू सिक्नेछौँ।’ उनले भने।














