पोखरा, पर्यटकीय राजधानी पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा अनैतिक क्रियाकलापमा संलग्न रहेको र आन्तरिक तथा बाह्य पर्यटकलाई अनावश्यक दुःख हैरानी दिएको भन्दै प्रहरीले १६ जना महिलाहरुलाई पक्राउ गरेर हिरासतमा राखेको छ ।
शनिबार बिहान पक्राउ परेका उनीहरुमाथि के कस्तो मुद्धा वा अभियोग लगाउने भन्नेबारेमा प्रहरीले स्पष्ट जानकारी दिएको छैन। शनिबार बिहान अर्थात मध्यरातमा पक्राउ गरिएको भएपनि शनिबार र आइतबार सार्बजनिक बिदा भएको कारण प्रहरीले उनीहरुलाई हिरासतमा नै राखेको बुझिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले मिति शनिबार बिहान राति १२:३० बजेदेखि राति २ बजेसम्मको समयमा गरेको विशेष अपरेसनका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।
लेकसाइडको सडकमा रातिको समयमा पर्यटकहरूलाई विभिन्न प्रलोभन देखाउने, हैरानी दिने तथा लुटपाट र अनैतिक कार्यमा संलग्न भई शान्ति सुरक्षामा खलल पुऱ्याएको भन्ने जनगुनासो आएपछि प्रहरीले यस किसिमको कदम चालेको जनाएको छ।
पक्राउ परेका महिलाहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ। पोखराको पर्यटनलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले यस्ता गतिविधिमा संलग्नमाथि निगरानी र कडाइलाई निरन्तरता दिने बताएको छ।
पोखराको लेकसाइड क्षेत्रका रेस्टुरेन्टहरु, क्लब र डान्सबारहरु मध्ये केहि रातभर संचालन हुने गर्छन र त्यहाँ सर्बसाधारण देखि युवतीहरु समेत पुग्ने गर्छन कतिपय पोखरा घुम्न आएका आन्तरिक र बाह्य पर्यटक हुनेगरेको भएपनि अधिकांश स्थानीय र नियमित ति स्थानमा पुग्ने युवती वा महिला हुने गर्छन।
लेकसाइड क्षेत्रबाट पक्राउ परेकाहरुलाई के कस्तो मुद्धा लगाउने तयारी गर्ने र त्यसको प्रक्रिया कसरी अगाडी बढाउला भन्ने बारेमा सोमबारमात्र थाहा हुने एक रात्रीकालिन ब्यबसायीको भनाई छ।
यसपटक प्रहरीले केहीलाई पक्राऊ गरेकोमा उनीहरु के कस्तो काममा संलग्न थिए भन्ने स्पष्ट नपार्नुले प्रहरीको उक्त कारबाही केहि ब्यबसायी र महिलाहरुलाई धम्क्याउने र बार्गेनिंग गर्ने किसिमको मात्र त हैन भन्ने प्रश्न समेत उठ्न थालेको छ।
यस सम्बन्धमा प्रहरीले उनीहरुको कारबाही प्रक्रिया कसरि अगाडी बढाउँछ, सोहि अनुरुप नै लेकसाइड क्षेत्रका रात्रीकालिन ब्यबसायीहरुबाट प्रतिक्रिया आउने देखिन्छ।














