काठमाडौँ, प्रतिनिधिसभाको निर्बाचन पछिको राजनीतिक अबस्था र समानुपातिक तर्फबाट सांसद बन्नेहरुको नाम टुंगो लगाउन बिभिन्न राजनीतिक दलको बैठक आइतबार बस्दै छ यसैक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक, नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक र नेपाली कम्युनिष्ट पार्टीको बैठक आइतबार बस्दैछ ।
रास्वपाका उपसभापति डोलप्रसाद अर्यालका अनुसार प्रतिनिधि सभाको समानुपातिकतर्फको सूची तय गर्नका लागि रास्वपा सचिबालयको बैठक बस्न लागेको हो । बैठकले समानुपातिकतर्फ बाट सांसद बन्नेहरुको सूची तय गरेपछि निर्वाचन आयोगमा नामावली बुझाउने कार्यक्रम रहेको छ ।
सभापति रवि लामिछानेको स्वास्थ्य प्रतिकूल भएपछि शनिबारका लागि आह्वान गरिएको सचिवालय बैठक आइतबार सारिएको हो । रास्वपाले प्रत्यक्षतर्फ १२५ स्थानमा विजयी हासिल गर्दा समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको र सोहि अनुरुप बिभिन्न क्लस्टरबाट नाम टुंगो लगाइने भएको हो ।
यसैगरी, नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि आइतबार बस्दैछ । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक सूची तय गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्न लागेको हो ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये दलले प्राप्त गरेको सिट सङ्ख्याका आधारमा प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने निर्णय गर्ने छ ।
यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभा सदस्यतर्फ समानुपातिकको सूची आइतबार टुङ्गो लगाउने भएको छ । निर्वाचन आयोगले तीन दिनभित्र समानुपातिकको नाम टुङ्गो लगाउन पत्र पठाएपछि नेकपाले आइतबार बैठक बसेर अन्तिम सूची तय गर्ने भएको हो । नेकपाको प्रत्यक्षतर्फ आठ सिट पाएको छ भने समानुपातिकमा नौ सिट मात्रै पाएको छ ।
नेकपा कार्यालयका सचिव गोविन्द आचार्यले पार्टीबाट समानुपातिक सांसद हुनेको नाम आइतबार बैठक बसेर टुङ्गो लगाउने जानकारी दिएका छन उनले सबै कलस्टर मिलाएर बैठक बसेर टुङ्गो लगाएपछि निर्वाचन आयोगलाई बुझाउने र बैठकमा निर्वाचन परिणामका विषयमा समेत छलफल हुने आचार्यले जानकारी दिए।















