काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनको परिणामलाई आत्मसात गर्दै जनताको फैसला शिरोधार्य गर्ने बताएका छन् । निर्वाचनमा आफू र समग्र पार्टीले अपेक्षित नतिजा हासिल गर्न नसके पनि लोकतन्त्रमा जनताकै निर्णय अन्तिम हुने र त्यसलाई स्विकार्नु आफ्नो कर्तव्य भएको उनले उल्लेख गरे ।
निर्वाचनपछि एमालेभित्रैबाट ओलीको राजीनामा माग्दै बहस सुरु भएको समयमा उनले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् । आफ्नै पद र राजीनामाका विषयमा भइरहेका चर्चाबारे कुनै प्रत्यक्ष प्रतिक्रिया नदिएका ओलीले निर्वाचनको समग्र परिणाम र आगामी कार्यदिशाका बारेमा भने प्रस्ट पारेका छन् ।
ओलीले आफ्नो वक्तव्यमा निर्वाचनको नतिजा सोचेजस्तो नभएको स्वीकार गरेका छन् । उनले भनेका छन्, ‘यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ । हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन । लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो ।’ उनले जनताको मतलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।
प्रतिकुल नतिजाका बाबजुद पनि सूर्य चिन्हमा मतदान गर्ने र पार्टीको पक्षमा उभिने सबैलाई उनले धन्यवाद दिएका छन् । उनले अगाडि भनेका छन्, ‘यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु । तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो र तपाईंहरूको साथ नै हाम्रो ताकत हो ।’
निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको सेवाभाव र प्रतिबद्धतामा कुनै कमी नआउने उनले बताएका छन् । आफूहरु अब पनि जनताकै बीचमा रहने र जनताकै लागि काम गरिरहने ओलीले उल्लेख गरे । जनतासँगको विश्वासको सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्ने प्रण गर्दै उनले मत दिने, साथ दिने र विश्वास राख्ने सबैलाई हृदयदेखि धन्यवाद दिएका छन् ।















