न्युयोर्क, अमेरिकाको पूर्वी तटीय क्षेत्रमा सोमबार आएको भीषण हिमपातले जनजीवन अस्तव्यस्त बनाएको छ। दशकौँपछिको रेकर्ड तोड्ने गरी भएको यो हिमपातका कारण लाखौँ मानिस प्रभावित भएका छन् भने हजारौँ उडानहरू रद्द गरिएका छन्।
न्युयोर्कको सेन्ट्रल पार्कमा मात्रै १९ इन्चभन्दा बढी हिउँ परेको रेकर्ड गरिएको छ। न्युयोर्कका सरकारी निकायहरूले यात्रा गर्नै नसकिने स्थिति रहेको भन्दै चेतावनी जारी गरेका छन्। हिमपातका कारण न्यु जर्सी र म्यासाचुसेट्समा सबैभन्दा बढी प्रभाव परेको छ, जहाँ ६ लाखभन्दा बढी घर र व्यवसायहरूमा विद्युत् आपूर्ति बन्द भएको छ।
यो हिमपातले ४८ वर्षअघिको ऐतिहासिक रेकर्ड समेत ध्वस्त पारेको छ। रोड आइल्याण्डको राजधानी प्रोभिडेन्समा सन् १९७८ को फेब्रुअरीमा कायम भएको २८.६ इन्च हिउँको रेकर्डलाई उछिन्दै यस पटक ३३ इन्च हिउँ परेको छ। मौसमविद्हरूले यो अवस्थालाई सोचेभन्दा निकै भयावह र अनपेक्षित भनेका छन्।

रोड आइल्यान्ड र छिमेकी कनेक्टिक्ट मा अत्यावश्यक बाहेकका यात्रा प्रतिबन्ध लगाइएको छ । म्यासाचुसेट्सकी गभर्नर मउरा हिलीले दक्षिण–पूर्वी म्यासाचुसेट्समा गैर–आवश्यक सवारी चलाउन प्रतिबन्ध लगाउँदै प्रमुख राजमार्गमा सवारीको गति ४० माइल प्रतिघण्टामा सीमित गर्न निर्देशन दिएकी छन् । उनले ‘ह्वाइटआउट’ अवस्थाका कारण यात्रा अत्यन्त जोखिमपूर्ण भएको भन्दै सर्वसाधारणलाई घरमै बस्न आग्रह गरेकी छन् ।
म्यासाचुसेट्समा करिब ३ लाख उपभोक्ता विद्युत् विहीन भएका छन्, जसमा केप कोड क्षेत्र पर्ने बार्नस्टेबल काउन्टीका ८५ प्रतिशत उपभोक्ता प्रभावित भएको बीबीसीले जनाएको छ । न्यूयोर्क सिटीमा यात्रा प्रतिबन्धका कारण ८० लाखभन्दा बढी जनसंख्या भएको शहर केही समयका लागि ठप्प जस्तै बनेको थियो । दिउँसो १२ बजेपछि भने प्रतिबन्ध हटाइएको थियो ।
हिमपातका कारण हवाई उडान सेवामा ठूलो असर परेको छ । न्युयोर्कका लागाार्डिया र जेएफके विमानस्थलबाट हुने ९० प्रतिशतभन्दा बढी उडान ठप्प भए भने बोस्टन र न्यु जर्सीका प्रमुख विमानस्थलहरूले पनि आफ्ना अधिकांश उडान कटौती गर्नुपर्यो। उडान ट्र्याकिङ साइट फ्लाइट अवेरका अनुसार सोमबार अमेरिका भित्रिने र बाहिरिने गरी ५ हजार ६७५ भन्दा बढी उडान रद्द भएका छन् ।
ला गार्डिया विमानस्थलबाट ९८ प्रतिशत र जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट ९१ प्रतिशत उडान रद्द भएका छन् । लोगन अन्तर्राष्ट्रिय विमानस्थल, नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थल र फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थमा पनि अधिकांश उडान रद्द भएका छन् ।
कनेक्टिकट र न्यु जर्सीमा रुख ढल्ने र हाँगा भाँचिने जोखिमका कारण सडक अवस्था झन् जोखिमपूर्ण बन्न सक्ने चिन्ता व्यक्त गरिएको छ । प्रोभिडेन्समा हिउँ पन्छ्याउने सवारीलाई अवरोध पुर्याएको भन्दै ३०० भन्दा बढी गाडीलाई क्रेनको सहायतालाई हटाइएको थियो । हिउँको थुप्रोका कारण सडकमा गुडिरहेका सयौँ सवारी साधनहरू बिचैमा फसेका छन् ।
सुरक्षालाई ध्यानमा राख्दै रोड आइल्याण्ड, कनेक्टिकट र म्यासाचुसेट्स जस्ता राज्यहरूमा अत्यावश्यक बाहेकका सबै यात्रामा प्रतिबन्ध लगाइएको छ। म्यासाचुसेट्सकी गभर्नर माउरा हिलीले मानिसहरूलाई घरभित्रै रहन आग्रह गर्दै हिउँका कारण केही नदेखिने अवस्थाले गर्दा उद्धार कार्यमा समेत कठिनाइ भइरहेको बताएकी छन्। न्युयोर्क जस्तो व्यस्त सहर पनि सोमबार दिउँसोसम्म झण्डै सुनसान बनेको थियो।














