पोखरा, प्रधानमन्त्री सुशीला कार्कीले आज शुक्रबार गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरी निर्वाचन तयारीको अनुगमन तथा समीक्षा गरेकी छन् । प्रधानमन्त्री कार्कीले मुस्ताङ जिल्लामा पुगेर मुक्तिनाथ मन्दिर, जोमसोम लगायतका क्षेत्रको अवलोकन समेत गरेकी छन । उनले स्थानीय बासिन्दा, सुरक्षा निकायका प्रमुखहरू तथा निर्वाचन तयारीमा खटिएका कर्मचारीहरूसँग प्रत्यक्ष छलफल गरेकी छन् ।
जोमसोममा आयोजित बैठकमा प्रमुख जिल्ला अधिकारी, मुख्य निर्वाचन अधिकारी (जिल्ला न्यायाधीश) तथा सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचनको अवस्था, सम्भावित चुनौती तथा विशेष गरी मौसमी प्रतिकूलताका विषयमा विस्तृत छलफल भएको थियो । हिमाली तथा माथिल्लो भेगमा हिमपात वा वर्षा भएमा मतदान प्रभावित हुन सक्ने विषय उठेपछि प्रधानमन्त्री कार्कीले त्यस्ता क्षेत्रमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीका लागि आवश्यक औषधी, प्राथमिक उपचार सामग्री र अन्य उपकरणको पर्याप्त व्यवस्था गर्न निर्देशन दिइन् । प्रधानमन्त्रीले मुस्ताङका विभिन्न हिमाली बस्तीहरूको हवाई निरीक्षणसमेत गरेकी छन् ।
मुस्ताङबाट फर्किएपछि प्रधानमन्त्री कार्कीकै उपस्थितिमा पोखराको विजयपुरस्थित नेपाली सेनाको पश्चिम पृतना मुख्यालयमा गण्डकी प्रदेश कमान्ड पोस्ट तथा निर्वाचन सेलमा उच्चस्तरीय बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि गण्डकी प्रदेशको सुरक्षा अवस्था र तयारीबारे उच्चस्तरीय चासो व्यक्त गरेकी थिईन।

बैठकमा सहभागी गण्डकी प्रदेशका प्रदेश प्रमुख सचिव डण्डुराज घिमिरे, , कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासे र प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले निर्वाचनको प्राविधिक तथा सुरक्षा पक्षबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए । यसैगरी प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुखहरू पृतनापति उपरथी भोला थापा, नेपाल प्रहरीका डीआईजी दीपेन्द्र जीसी, सशस्त्र प्रहरीका डीआईजी दीपेन्द्र शाह लगायतले निर्बाचन सुरक्षा र तयारीको बारेमा जानकारी गराएको श्रोतले जानकारी दिएको छ।
निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न चालिएका कदमबारे सुरक्षा निकायका प्रमुखहरूले जानकारी गराएका थिए । प्रमुख सचिव र पृतनापतिले निर्वाचन तयारी, सुरक्षा व्यवस्थापन, मतदान स्थल, मौसमी चुनौती तथा आकस्मिक योजनासम्बन्धी प्रस्तुतीकरण गरेका थिए । त्यसपछि विभिन्न निकायका प्रमुखहरूले आफ्नो धारणा राख्नुको साथै निर्बाचनको तयारीबारेमा जानकारी गराएका थिए।
पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहमा सहभागी हुन पोखरा पुगेकी प्रधानमन्त्रीले सोही अवसरमा प्रदेशको शान्ति सुरक्षा र निर्वाचन लक्षित तयारीबारे विस्तृत जानकारी लिएकी हुन् । प्रदेश प्रमुख सचिव घिमिरेका अनुसार प्रदेशमा क्रियाशील सुरक्षा संयन्त्रसहितको निर्वाचन सेलले गरिरहेका गतिविधि र हालसम्मको कार्यप्रगतिको प्रधानमन्त्रीले जानकारी लिएकी छन ।
उक्त अवसरमा प्रधानमन्त्रीले निर्वाचनलाई सुरक्षित बनाउन कुनै कसर बाँकी नराख्न निर्देशन दिँदै आवश्यक सुरक्षा रणनीतिबारे मार्गनिर्देशन समेत गरेकी थिइन्। निर्वाचन नजिकिँदै गर्दा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रदेशका सबै जिल्लामा उच्च सतर्कता अपनाउन र निर्वाचन सेललाई थप सक्रिय बनाउन उनले जोड दिएकी छन् ।
८ फाल्गुन २०८२, शुक्रबार २३:२७ मा प्रकाशित