Play

नेपाली काँग्रेसका ११ महिला नेतृ : पुर्व प्रधानमन्त्री र पुर्व मन्त्रीसहितका प्रभावशाली नेतासंग चुनाबी प्रतिष्पर्धामा

गुरुकुल खबर


पोखरा, देशको प्रमुख राजनीतिक दल नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ देशभर ११ जना महिलाहरुलाई उमेदवार बनाएको छ मुलुकभर १६५ निर्वाचन क्षेत्र रहेकोमा कांग्रेसले ११ वटा निर्बाचन क्षेत्रमा महिला र अन्य क्षेत्रमा पुरुषलाई उमेदवार बनाएको छ । नेपाली काँग्रेसले पार्टीको तर्फबाट सबै निर्बाचन क्षेत्रमा उमेदवारी दिएको छ ।

पार्टीको गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले राष्ट्रिय राजनीतिमा चिनिएका अनुहारमध्येबाट ७ जना र स्थानीयस्तरमै राजनीति गर्दै आएका ४ जना महिला नेतृहरूलाई प्रतिनिधिसभामा उमेदवार बनाएको हो । राष्ट्रिय राजनीतिमा परिचित अनुहारमध्ये मकवानपुर–१ मा निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, झापा–२ मा पार्टीको नेता सरिता प्रसाईं, महोत्तरी–२ मा किरण यादव, सिन्धुली–२ मा सुशीला थिङ, काठमाडौं–८ सपना राजभण्डारी, काठमाडौं–९ मा अघिल्लो पटकबाट नै केन्द्रीय सदस्य रहेकी नानु बास्तोला र रुकुमपूर्वबाट पनि केन्द्रीय सदस्य कुसुम थापा मगर उम्मेदवार छन् ।

यस्तै स्थानीयस्तरमा नेपाली कांग्रेसको राजनीतिमा सक्रियमध्ये झापा–५ मा मन्धरा चिमरिया, सिराहा–४ मा चन्द्रकला कुमारी यादव, चितवन–२ मा मीनाकुमारी खरेल र  दैलेख–१ मा बासना थापालाई उम्मेदवार बनाएको छ । प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसले अघि सारेका महिला उम्मेदवारहरू मुलुकको शासनसत्ता सम्हाली सकेका पूर्वप्रधानमन्त्रीदेखि मन्त्री बनिसकेका विपक्षी दलका ‘हेभी वेट’ नेताहरूसँग चुनावी प्रतिष्पर्धामा छन् ।

मन्धरा चिमरिया

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कांग्रेसले झापा-५ मा मन्धरा चिमरियालाई चुनावी मैदानमा उतारेको छ । यही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका उम्मेदवार बालेन्द्र शाह पनि चुनाव लड्दैछन् । उनी काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजिनामा दिएर चुनाबी प्रतिष्पर्धामा उत्रिएका हुन । चिमरिया राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रीय उपाध्यक्ष हुन् । उनले दमकमा बाल आश्रम स्थापना गरेकी छन् । लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएकी चिमरिया महिला अधिकारको क्षेत्रमा क्रियाशील छिन् ।

कुसुम थापामगर

पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रूकुम पूर्वमा कांग्रेस नेतृ कुसुम थापामगर चुनावी प्रतिष्पर्धामा छन् । उनी विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित नेतृ हुन् । विघटित प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणाली मार्फत् सांसद बनेकी उनी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति थिइन् । उनि बिधार्थीकाल देखि नै राजनीतिमा सक्रिय थिईन।

मीनाकुमारी खरेल

चितवन–२ मा कांग्रेस नेतृ मीनाकुमारी खरेलको पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रविलामिछानेसँग प्रतिस्पर्धा हुँदैछ । चितवनमा कांग्रेसको राजनीतिमा सक्रिय खरेलले समाजशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरेकी छन् । वीरेन्द्र बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को नेतृत्व गरिसकेकी उनी कांग्रेस चितवनको जिल्ला कार्यसमिति सदस्य र १४ औं महाधिवशेनबाट महासमिति सदस्य भएकी थिइन्। सामाजिक कार्यमा सक्रिय खरेल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान र पुरस्कार पाएकी छन् । उनले सामाजिक क्षेत्रमा सक्रिय रहेर सैयौं मानिसहरुलाई बिभिन्न किसिमको सेवा दिंदै आएकी थिईन । सामाजिक काममा निरन्तरता दिंदै आएको भएपनि बाहिर चर्चामा त्यति नाएकी मिना खरेल अहिले चुनाब लड्ने भएपछि बढी चर्चामा छिन ।

सरिता प्रसाईं

कांग्रेसले विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र उपससभामुख इन्दिरा रानासँग झापा–२ मा नेतृ सरिता प्रसाईंलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ । निवर्तमान केन्द्रीय सदस्य प्रसाईं विघटित प्रतिनिधिसभामा समानुपातिक सांसद थिइन् । उनले प्रतिनिधिसभामा दुई र राष्ट्रियसभामा एक कार्यकाल सांसद भएर काम गरिसकेकी छन् । संविधानसभा निर्वाचन–२०७० मा प्रतिनिधिसभामा समानुपातिक सांसदमा निर्वाचित प्रसाईंसँग कृषि राज्यमन्त्री भएर काम गरेको अनुभव छ । उनि पनि बिधार्थीकाल देखि नै कांग्रेसको राजनीतिमा जोडिएकी हुन नेतृ प्रसाईंले २०७४ मा राष्ट्रियसभामा कांग्रेसको प्रमुख सचेतकको भूमिकासमेत निर्वाह गरिसकेकी छन् । प्रसाईंको क्षेत्रमा नेकपा एमालेले निवर्तमान सभामुख घिमिरे, रास्वपाले निवर्तमान उपसभामुख रानालाई उम्मेदवार बनाएको छ । यहाँ नेकपाका तर्फबाट पूर्वमन्त्री धर्मशिला चापागाईं उमेदवार बनेकी छन् ।

चन्द्रकलाकुमारी यादव

कांग्रेसले सिराहा–४ बाट चन्द्रकलाकुमारी यादवलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ । संसदीय यात्राका लागि पहिलो पटक चुनावी मैदानमा उत्रिएकी उनी पहिलो अनुभवमै तीन जना पूर्वमन्त्रीसँग भिड्दै छिन् । नेतृ यादवसँग एमालेबाट धर्मनाथ प्रसाद साह, नेकपाबाट अयशंकर नायक, रास्वपाबाट तपेश्वर यादव र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट राजकिशोर यादव छन् । प्रतिस्पर्धीमध्ये एमालेका साह, नेकपाका नायक र जसपाका यादव पूर्वमन्त्री र पटक–पटक प्रत्यक्ष निर्वाचन जितेर सांसद भइसकेका नेता हुन् । उनको उमेद्वारीलाई स्थानीय महिला र सर्बसाधारणले महत्वका साथ हेरेको छन

किरण यादव

कांग्रेसले महोत्तरी–२ मा सबैभन्दा धेरै पटक मन्त्री बनिसकेका शरतसिंह भण्डारीविरूद्ध नेतृ किरण यादवलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ। उनी  दोस्रो संविधानसभा निर्वाचनमा महोत्तरी–२ बाट निर्वाचित भएकी थिइन् । नेतृ यादव पहिलो संविधानसभामा समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य थिइन् । कांग्रेसकी निवर्तमान केन्द्रीय सदस्य यादवसँग जसपा नेपालबाट शरतसिंह भण्डारीसँगै एमालेका कादिप नदाप, नेकपाका लक्ष्मणकुमार यादव, रास्वपाका दीपककुमार साह चुनावी मैदानमा छन् ।

नानु बास्तोला

कांग्रेसले काठमाडौं–९ मा केन्द्रीय सदस्य नानु बास्तोलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ । उनी संसदीय यात्राका लागि पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएकी हुन् । बिधार्थी कालमा र त्यस पछि पनि निरन्तर नेपाली काँग्रेसमा सक्रिय बाँस्तोलालाई संघर्षशिल युवा महिलाको रुपमा समेत लिने गरिन्छ। कांग्रेस उमेदवार नानु बाँस्तोलाको क्षेत्रमा रास्वपाका उपसभापति तथा पूर्वमन्त्री डोलप्रसाद अर्याल (डीपी), एमालेबाट बागमती प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री अजयक्रान्ति शाक्य लगायत अन्य समेत उमेदवार रहेपनि मुख्य प्रतिष्पर्धा बाँस्तोला, अर्याल र शाक्यको बिचमा हुने बताइएको छ ।

सपना राजभण्डारी

कांग्रेसले काठमाडौं–८ मा केन्द्रीय सदस्य सपना राजभण्डारीलाई उम्मेदवार बनाएको छ । विघटित प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट सांसद बनेकी राजभण्डारी प्रत्यक्षतर्फ पहिलो पटक प्रतिष्पर्धामा उत्रिएकी हुन् । उनीसँग एमालेबाट राजेश शाक्य, नेकपाबाट सुमन सायमी र रास्वपाबाट विराजभक्त श्रेष्ठ प्रतिस्पर्धामा छन् । श्रेष्ठ अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । विघटित प्रतिनिधिसभामा रास्वपा संसदीय दलका उपनेता रहिसकेका श्रेष्ठले खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाली सकेका छन् ।

सुशीला थिङ

कांग्रेसले सिन्धुली–२ बाट सुशीला थिङलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ । उनी पनि पहिलो पटक प्रतिनिधिसभामा प्रत्यक्षतर्फ भिड्न लागेकी छिन् । थिङ यस अगाडी विघटित प्रतिनिधिसभामा समानुपातिकतर्फ सांसद थिइन् । कांग्रेसले उनलाई सचेतकको जिम्मेवारी दिएको थियो । सिन्धुली–२ बाट एमालेका मनोजजंग थापा, नेकपाका लेखनाथ दाहाल र रास्वपाका आशिष गजुरेल उम्मेदवार छन् ।

बासना थापा

कांग्रेसले दैलेख–१ मा वासना थापालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ । उनी पनि संसदीय यात्राका पहिलो पटक चुनावी प्रतिस्पर्धामा छिन् ।कांग्रेसले नेतृ थापा पूर्वसांसद रहिसकेका नेकपाका अम्बबहादुर थापासँग चुनावी मैदानमा उतारेको छ । यहाँ एमालेबाट रविन्द्रराज शर्मा, रास्वपाबाट नन्दकिशोर बस्नेत उम्मेदवार छन् ।

महालक्ष्मी उपाध्याय ‘डिना’

कांग्रेसले निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ लाई मकवानपुर–१ बाट उम्मेदवार बनाएको छ । उनी पाँचौँ पटक चुनावी प्रतिस्पर्धामा उत्रिएकी हुन् । प्रतिनिधिसभा निर्वाचन–२०७९ मा उपाध्याय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपकबहादुर सिंहसँग यसै क्षेत्रमा पराजित भएकी थिइन् । अघिल्लो निर्वाचनमा उनि कांग्रेसभित्रको आन्तरिक मतभेदका कारण पराजित हुनुपरेको चर्चा चलेको थियो। २०४८ देखि २०७४ सम्म उनी मकवानपुर–२ मा चुनाव लडेकी थिइन् । लामो समयदेखि राजनीतिमा सक्रिय उपाध्याय चार पटक पराजित भइसकेकी छिन् । उपाध्याय पहिलो र दोस्रो संविधानसभामा समानुपातिक सभासद थिइन् । उनी पूर्वजलस्रोत राज्यमन्त्री पनि हुन् । आसन्न निर्वाचनमा मकवानपुर–२ मा एमालेका रामेश्वर रानामगर, नेकपाका विजय गौतम र रास्वपाका प्रकाश गौतम प्रतिस्पर्धामा छन् ।

गत निर्वाचनमा विजयी सीता गुरूङले पाइनन् टिकट

कांग्रेसले प्रतिनिधिसभा निर्वाचन–२०७९ मा प्रत्यक्षतर्फ सीता गुरूङमात्रै विजयी भएकी थिइन् । तर, उनलाई आसन्न निर्वाचनका लागि कांग्रेसले टिकटबाट वञ्चित गरेको छ । कांग्रेस नेतृ गुरूङ उम्मेदवारको आकांक्षी थिइन् । तर, उनलाई जिल्ला कार्यसमिति, तेह्रथुमले प्रदेश कार्यसमिति समक्ष सिफारिस नै गरेन । निवर्तमान सभापति शेरबहादुर देउवानिकट रहेको भन्दै गुरूङलाई जिल्लाका केही नेता–कार्यकर्ताविरूद्ध अनुशासनको कारबाही गराएको आरोप लगाइएको थियो ।

जिल्लाबाट उनी सिफारिसमा नपरेपछि कोशी प्रदेश कार्यसमितिले गुरूङको नाम थपेर केन्द्रमा पठाएका थियो । तर केन्द्रीय समितिले पनि उनलाई उमेदवार नबनाएको कारण उनि चुनाब लड्नबाट बन्चित भईन। जिल्ला कार्यसमितिले तत्कालीन महामन्त्री तथा बिशेष महाधिबेशनबाट सभापति बनेका गगनकुमार थापाको नाम मात्रै तेह्रथुमबाट सिफारिस गरेको थियो ।

गत निर्वाचनमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ विभिन्न दलका २२५ जना महिला नेतृ उम्मेदवार थिए । तीमध्ये नौ जना निर्वाचित भएका थिए ।विघटित प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित नौमध्ये कम्तिमा पाँच महिला नेतृहरू अबको संसदमा नदेखिने भएका छन् । उनीहरू यसपल्ट कोही स्वेच्छाले उम्मेदवार बनेका छैनन् भने कोही पार्टीको आन्तरिक कलहका कारण टिकटबाट वञ्चित भएका छन् । जसका कारण महिला प्रतिष्पर्धीहरुको संख्यामा कमि देखिएको छ।

२७ माघ २०८२, मंगलवार ०८:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा