Play

स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरबको आयोजनाको रुपमा अगाडी बढाउने गगन थापाको घोषणा

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने घोषणा गरेका छन् । ‘स्वास्थ्य परोपकार होइन, सुरक्षा हो’ भन्ने मान्यताका साथ अबको सरकारले स्वास्थ्य बीमालाई उच्च प्राथमिकतामा राख्ने उनले बताएका हुन् । सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले उपचारका लागि नागरिकले घरखेत बेच्नुपर्ने अवस्थाको अन्त्य गर्न कांग्रेसले स्पष्ट खाका तयार पारेको दाबी गरे । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले आफ्नो कार्यकालमा देखेको पीडादायी अवस्थालाई स्मरण गर्दै अहिलेको स्वास्थ्य प्रणालीमा आमूल सुधारको आवश्यकता औँल्याएका छन् ।

उनले धेरै नागरिकले पैसा नभएकै कारण बिचमै उपचार छाड्नुपरेको र गरिबीबाट बल्लतल्ल माथि उठेको परिवार कडा रोग लाग्दा पुनः गरिबीमै भासिने अवस्था रहेको बताए । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार नागरिकले उपचारमा आफ्नो खल्तीबाट बढीमा २० प्रतिशत मात्र खर्च गर्नुपर्ने भए पनि नेपालमा यो दर ५७ प्रतिशतभन्दा माथि रहेको तथ्याङ्क उनले प्रस्तुत गरे । यो तथ्याङ्कले स्वास्थ्य क्षेत्रमा राज्यले आफ्नो भूमिका सही रूपमा निर्वाह गर्न नसकेको प्रस्ट हुने उनको भनाइ छ ।

आफ्नै कार्यकालमा स्वास्थ्य बीमा ऐन बनेको र कार्यक्रम सुरु भएको भए पनि पछिल्लो समय यो कार्यक्रम अस्तव्यस्त बनेकोमा उनले चिन्ता व्यक्त गरे । स्वास्थ्य मन्त्रालयमा रहँदा प्रदीप पौडेलले सुधारको प्रयास गरे पनि अहिले कार्यक्रम बन्द नै हुने हो कि भन्ने अवस्थामा पुगेको भन्दै उनले यसलाई ट्र्याकमा ल्याउनु आफ्नो पहिलो प्राथमिकता हुने बताए ।

कांग्रेसको सङ्कल्प पत्रमा स्वास्थ्य बीमालाई व्यवस्थित बनाउने विस्तृत योजना समेटिने जानकारी दिँदै उनले जिम्मेवारी पाएको खण्डमा यसलाई राष्ट्रिय गौरवको आयोजना बनाउने प्रतिबद्धता जनाए । थापाले स्वास्थ्य बीमा सुधारका लागि चारवटा मुख्य आधारस्तम्भ प्रस्तुत गरेका छन् । पहिलो आधारका रूपमा उनले ‘विश्वव्यापी पहुँच’ (युनिभर्सल कभरेज) लाई लिएका छन् । अनौपचारिक क्षेत्रलाई समेट्दै प्रत्येक नेपालीको अनिवार्य बीमा गरिने र प्रिमियम तिर्न नसक्ने अति विपन्न, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको जिम्मा राज्यले लिने उनले बताए । यसका लागि रक्सी, चुरोटजस्ता वस्तुमा विशेष कर लगाएर सो रकम सिधै स्वास्थ्य बीमा कोषमा जाने व्यवस्था मिलाइने उनको योजना छ ।

दोस्रो सुधारका रूपमा उनले स्वास्थ्य र सामाजिक सुरक्षाका छरिएर रहेका कार्यक्रमलाई एकीकरण गर्ने बताए । तेस्रो, सङ्घीयता अनुरूप तीनै तहका सरकार र निजी क्षेत्रको भूमिका स्पष्ट पार्दै स्वास्थ्य प्रणालीलाई सुदृढ गरिनेछ ।  चौथो तथा महत्त्वपूर्ण पक्षका रूपमा सुशासनलाई जोड दिँदै उनले डिजिटल प्रणालीमार्फत दाबी भुक्तानीलाई छिटो र पारदर्शी बनाउने, दोहोरोपन हटाउने र बोर्डलाई शक्तिशाली बनाउने योजना अघि सारेका छन् ।

थापाले आगामी ५ वर्षभित्र स्वास्थ्य बीमालाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने चरणबद्ध योजना समेत सार्वजनिक गरेका छन् । उनका अनुसार सरकार बनेको पहिलो चरणमा अहिलेको अस्तव्यस्तता हटाइनेछ भने दोस्रो चरणमा बीमाको दायरा बढाइनेछ ।  तेस्रो चरण अर्थात् पाँचौँ वर्षसम्म पुग्दा निश्चित नकारात्मक सूचीबाहेक सबै उपचार खर्च बीमाले ब्यहोर्ने अवस्था सिर्जना गरिनेछ । यसो हुन सकेमा कुनै पनि नागरिकले पैसाको अभावमा उपचार नपाउने वा उपचारकै कारण घरखेत बेच्नुपर्ने बाध्यता सदाका लागि अन्त्य हुने उनको जिकिर छ । स्वास्थ्य संवैधानिक हक भएकाले यसलाई परोपकारका रूपमा नभई नागरिकको सुरक्षाको ग्यारेन्टीका रूपमा लिनुपर्नेमा उनले जोड दिएका छन् ।

२५ माघ २०८२, आईतवार ११:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा