बागमती प्रदेशको हेटौडामा मुख्य कार्यालय रहेको समृद्धि फाइनान्स र गण्डकी प्रदेशको पोखरामा मुख्य कार्यालय रहेको पोखरा फाइनान्स एकआपसमा गाभिने भएका छन् । यी दुवै संस्था बराबरीको हैसियतमा गाभिन लागेको र यस सम्बन्धि प्रस्ताब बुधबार सम्पन्न दुवै संस्थाको साधारणसभाले पारित गरेको छ । सभाले संयुक्त मर्जर समितिले तय गरेको १ः१ सेयर अनुपातलाई अनुमोदन गरेपछि दुई संस्थाबीच मर्जरको प्रक्रिया अगाडी बढ्ने भएको हो। यी दुई संस्थाबीच गत साउनमा नै मर्जरमा जाने समझदारी भएको थियो
दुवै संस्थाको साधारणसभाबाट अनुमति पाएसँगै अब मर्जरको अन्तिम प्रक्रिया अघि बढेको छ । दुवै संस्थाले अब अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने तयारी थालेका छन् । राष्ट्र बैंकले स्वीकृति दिएपछि औपचारिक रूपमा एकीकृत कारोबार सुरु हुनेछ । गाभिएपछि बन्ने संस्थाको नाम ‘पोखरा फाइनान्स लिमिटेड’ रहनेछ ।
मर्जरपछिको सञ्चालक समिति र नेतृत्वको विषय पनि टुंगो लागेको छ । एकीकृत संस्थाको अध्यक्ष समृद्धि फाइनान्सबाट चयन हुनेछन् । सञ्चालक समितिमा जम्मा ७ जना सदस्य रहने व्यवस्था मिलाइएको छ । त्यसमा ४ जना सदस्य समृद्धि फाइनान्सबाट आउने छन् । बाँकी ३ जना सञ्चालक भने पोखरा फाइनान्सबाट रहने छन् ।
दुई संस्थाबीच यस अगाडी भएको समझदारी अनुसार प्रक्रिया अघि बढाउन संयुक्त मर्जर समिति बनेको थियो । समितिले सम्पत्ति, दायित्व तथा कारोबारको यथार्थ विवरण निकाल्न मूल्यांकनकर्ता नियुक्त गरेको थियो । मूल्यांकनकर्ताले तयार पारेको प्रतिवेदनका आधारमा दुवैको हैसियत बराबरी कायम गरिएको हो । साधारण सभाले सोही प्रतिवेदन र स्वाप रेसियो पास गरेको छ । मर्जर प्रक्रिया सकिएपछि एकीकृत संस्थाको मुख्य कार्यालय काठमाडौंमा सारिने योजना छ ।
















