काठमाडौँ । नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’ समेटने भएको छ । मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले घोषणापत्रले मुलुकको यथार्थ अवस्था चित्रण गर्दै सुशासन, विकास र व्यवहारिक कार्ययोजनालाई मुख्य आधार बनाउने बताएका हुन् । नेपाली कांग्रेसले सुधार, एकता र विकासको प्रतिबद्धतासहित जनतामाझ बलियो उपस्थिति जनाउने बिश्वास चालिसेले ब्यक्त गरेका छन
प्रबक्ता चालिसेले कांग्रेसको घोषणापत्र केवल आकांक्षा र प्रतिबद्धतामा सीमित नहुने, त्यसलाई कार्यान्वयन गर्न आवश्यक स्रोत र उपायसमेत स्पष्ट रूपमा उल्लेख गरिने स्पष्ट पारे । उनले भने “घोषणापत्रमा स्रोत व्यवस्थापनका उपाय पनि समेटिन्छन्, हाल घोषणापत्र निर्माणका क्रममा पार्टीले जिल्ला–जिल्लाबाट सुझाव सङ्कलन गरिरहेको छ ।” स्थानीय तह, क्षेत्र र जिल्लाबाट आएका सुझावलाई एकीकृत गरेर राष्ट्रिय आवश्यकतासँग जोडिने उनको भनाइ छ । “कांग्रेसले गर्न सक्ने क्षमता, व्यवहारिकता र कार्यान्वयनयोग्य कार्यक्रम समेटिएको घोषणापत्र ल्याउँछ,” प्रवक्ता चालिसेले भने, “घोषणापत्रमार्फत हरेक नागरिकको मन छुने, सबै वर्ग, क्षेत्र र समुदायको भावना अटाउने प्रयास गरिने छ ।”
उनका अनुसार कांग्रेसको घोषणापत्रले वर्तमान चुनौती र भविष्यको दिशालाई एकैसाथ सम्बोधन गर्दै विश्वासयोग्य विकल्प प्रस्तुत गर्नेछ । पार्टीले घोषणापत्रमार्फत स्थिरता, उत्तरदायित्व र समावेशी विकासको स्पष्ट खाका जनतासामु राख्ने तयारी गरेको छ । पत्रकार सम्मेलनमा प्रबक्ता चालिसेले चुनाबको लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा पार्टीका सबै उम्मेदवारहरू कायम रहेको, विद्रोह गरेका केही साथीहरूले मनोनयन फिर्ता लिइसकेको र बाँकी रहेका थोरै स्थानमा पनि उम्मेदवारी स्थगन गरी पार्टीका अन्य उम्मेदवारहरूलाई विजयी बनाउन आह्वान गर्ने क्रम जारी रहेको जानकारी दिए ।
उनले विशेष महाधिवेशनपछि गठित नयाँ केन्द्रीय कार्यसमितिले अत्यन्त सीमित समयमा उम्मेदवार चयन, प्रचार र परिचालनका कार्यहरूलाई व्यवस्थित रूपमा सञ्चालन गरिरहेकोबताउंदै प्रदेश, जिल्ला, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र हुँदै नगरपालिका, गाउँपालिका र वडा तहसम्म प्रचार प्रसार तथा परिचालन समिति गठनको कार्य अबको दुई दिनभित्र सम्पन्न हुने बिश्वास ब्यक्त गरे ।
उनले निर्वाचन प्रचार–प्रसारका क्रममा निर्वाचन आयोगको आचार संहितालाई पूर्ण रूपमा पालना गरिने र गलत संस्कृतिको विकास नहोस् र प्रतिस्पर्धा मर्यादित रहोस् भन्ने उद्देश्यले पार्टीले आन्तरिक रूपमा थप आचार संहिता निर्माण गरी मातहतका निकायहरूलाई कडाइका साथ पालना गर्न निर्देशन दिएको समेत उल्लेख गरे । चुनाबी प्रचारको क्रममा पार्टीका नीति, योजना तथा कार्यक्रमहरूलाई प्राथमिकता दिई जनतामा विश्वास र भरोसा स्थापित गर्ने प्रयास गरिने, प्रचार शैलीलाई मितव्ययी, प्रभावकारी र आधुनिक बनाइने समेत उनको भनाई थियो
बिशेष महाधिबेशनपछि पार्टीमा पुराना साथीहरू जोडिने क्रम बढेको छ भने नयाँ प्रवेशको लहर चलेको दाबि गर्दै प्रबक्ता चालिसेले अन्य दलका उम्मेदवार, समर्थक तथा कार्यकर्ताहरूको पार्टी प्रवेश निरन्तर बढिरहेको बताए यसैक्रममा डोल्पाका अन्य पार्टीका उम्मेदवार दिल वहादुर विष्ट र जुनु भण्डारी ले आफ्नो उम्मेदवारी फिर्ता लिई नेपाली कांग्रेसमा प्रवेश गरेका स्पष्ट पारे ।
कांग्रेस सभापति गगनकुमार थापा सर्लाहीको क्षेत्र न.४ मा र अन्य शीर्ष नेताहरू निर्वाचन क्षेत्रहरूमा मतदातासँग नियमित सम्पर्कमा तथा चुनाबी कार्यक्रममा ब्यस्त रहेको बताउंदै चालिसेले फाल्गुण ७ गते जनकपुरधाममा विशेष सभाको आयोजना गरिने र त्यसपछि केन्द्रीयस्तरको आमसभा अन्य क्षेत्रमा क्रमशः आयोजना गरिने समेत जानकारी दिए ।
















