काठमाडौँ, नेपाली कांग्रेसका नवनिर्बाचित सभापति गगनकुमार थापाले निर्वाचन आयोगले कांग्रेसको विशेष महाधिवेशनबाट निर्बाचित नयाँ कार्य समितिलाई आधिकारिता दिइएकोमा खुशी ब्यक्त गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष, शेखर कोइराला पक्ष र भृकुटीमण्डप महाधिवेशनमा अनुपस्थित रहने कांग्रेस सदस्यहरुलाई हारेको महसुस नगर्न अपिल गरेका छन।
‘हामीलाई प्रारम्भदेखि नै पार्टीको विधान र हाम्रो संविधानबाट स्थापति भएको देशको संवैधानिक निकायले विधि विधानभित्र बसेर निर्णय गर्छ भन्ने पूर्ण विश्वास थियो। नेपालको निर्वाचन आयोगले लामो समयदेखि जनविश्वास र प्रतिष्ठा आर्जन गरेको छ, त्यसमा आँच पुर्याउने काम गर्दैन र विधिसम्मत ढंगले भएको अधिवेशनको निर्णयलाई स्वीकार गर्छ भन्ने हाम्रो विश्वास थियो । हाम्रो विश्वास अनुरूप भएको छ । त्यसैले स्वाभाविक पनि लागेको छ र एकदम खुसी पनि लागेको छ ।’ सभापति थापाले एक अनलाइनसंगको कुराकानीमा भनेका छन ।
पार्टीका तत्कालिन काबा सभापति पूर्णबहादुर खड्काले आँफुहरुको पक्षमा निर्बाचन आयोगले मान्यता नदिए आन्दोलन गर्ने चेतावनी दिएको प्रसंगमा सभापति थापाले भने पार्टीमा लामो समयसम्म कार्यकर्ता भएर काम गर्दा हामीले के सिक्यौँ भने कुनै पनि निर्णयमा विमति हुन सक्छ, विमति राख्न सक्छ तर विधिसम्मत निर्णयलाई सबैले मान्नुपर्छ। उहाँले एउटा परिस्थितिमा रोषवश ती कुरा भन्नुभएको होला। अब आयोगको निर्णय आइसकेपछि उहाँ लगायत सबै साथीहरूले यसलाई स्वीकार गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु।
थापाले विधानसम्मत अधिवेशन गरेर आयोगले त्यसलाई परीक्षण गरेर सदर गरिसकेपछि यसलाई बिबादको बिषय नबनाउन उनले आग्रह गरे ‘यो पार्टी फुटको विषय होइन, केवल नेतृत्व परिवर्तनको एउटा लोकतान्त्रिक प्रक्रिया हो। हामी भोलिबाटै एकजुट भएर अगाडि बढ्नुपर्छ। केही समय लाग्ला, मनमा केही रोष होला, तर हामी सबै सम्हालिन्छौँ र एक ठाउँमा उभिन्छौँ।’ उनले भनेका छन। थापाले यो विशेष महाधिवेशनले वर्षौँ देखिको गुटगत राजनीति र औपचारिक समूहहरूलाई विधिगत रूपमै अन्त्य गरिदिएको बताएका छन ‘अधिवेशनको चरण सकियो, अब म सबैको सभापति हुँ। मैले सबैलाई समान व्यवहार गर्नेछु र न्यायपूर्ण ढङ्गले काम गर्नेछु।’
कांग्रेस नेता डा. शेखर कोइरालाले बाह्य तत्वको इशारामा गरिएको षडयन्त्रको रुपमा कांग्रेसको पछिल्लो घटनाक्रमलाई लिएको भन्ने सन्दर्भमा थापाले कुनै पनि प्रश्न आफूतिर तेर्सिँदा त्यसलाई षड्यन्त्र वा परिचालित भन्नु हाम्रो पुरानो पुस्ताको एउटा दुर्भाग्यपूर्ण प्रवृत्तिको रुपमा चित्रण गरे। ‘यसो भन्नु भनेको हजारौँ कार्यकर्ताको अपमान गर्नुहो। म आफैँ यो विशेष महाधिवेशनको मुख्य आह्वानकर्ता हुँ। त्यसैले उहाँको यो अभिव्यक्ति केवल रोष मात्र हो, पछि उहाँले पनि यसलाई बुझ्नुहुनेछ।’
उनले भने अर्को प्रश्नमा सभापति थापाले भने, ‘अहिले हाम्रो सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित छ। सँगसँगै अधिवेशनका कामहरू पनि समयमै सम्पन्न गरिनेछ। टिकटका लागि १६५ वटै क्षेत्रबाट सिफारिसहरू आइरहेका छन्। टिमले अनौपचारिक छलफल गरिरहेको छ, भोलिबाट औपचारिक काम सुरु हुन्छ।
‘पार्टी भनेको विचार र आत्मा हो। हामीसँग अब कानुनी जिम्मेवारी पनि छ। हामी जिम्मेवार भएर अगाडि बढ्छौँ। केही समयको आक्रोशलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा हाम्रो ध्यान छ। कतै पनि मुठभेड नगरिकन हामी परिस्थितिलाई सम्हाल्नेछौँ। हाम्रो परराष्ट्र नीति र भू-राजनीतिक अडानमा पार्टीको मूल नीति र संविधानकै मार्गदर्शन रहनेछ। यसमा निरन्तरता रहन्छ। विगतमा कतिपय सन्दर्भमा सम्प्रेषण वा प्रतिक्रियामा हामी चुकेका हुन सक्छौँ, तर संस्थापक नेताहरूले सिकाएको परिपक्वतालाई अनुसरण गर्दै हामी अगाडि बढ्नेछौँ।’ थापाले भनेका छन।















