पोखरा, नेपाली कांग्रेसका बिशेष महाधिबेशन पक्षधरले गगन थापा नेतृत्वमा पार्टीको केन्द्रीय समिति चयन गर्ने प्रक्रिया शुरु गरेपछि पार्टी भित्र आन्तरिक रुपमा शुरु भएको बिबाद काठमाडौँको सडकमा पोखिएको छ। बिशेष महाधिबेशन पक्षधरले बनाएको गगन नेतृत्वको समूह र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको समूहबीच आधिकारिकताको बिषयलाई लिएर शुरु भएको आन्तरिक बिबाद निर्वाचन आयोग पुगेकोमा शुक्रबार दुई समूहले आमने सामने भएर पार्टीको वैधानिकता वा आधिकारिकताको विषयमा दिनभर आरोप–प्रत्यारोप र नाराबाजी गरे ।
दुई समुहका नेताहरु निर्बाचन आयोग भित्र गएर आंफ्नो कुरा सुनाउने र कार्यकर्ताहरु दिनभर आयोगको कार्यालय बाहिर सडकमा बसेर नाराबाजी गर्ने क्रम लामै समय चल्यो। २०७८ सालमा भएको १४ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा समूह र गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिएको विशेष महाधिवेशनबाट सभापतिमा सर्वसम्मत चयन भएका गगन थापा समूहबिच कांग्रेसको वैधानिकताका विषयमा आरोप–प्रत्यारोप र नाराबाजी सहितको सडक प्रदर्शनले उनीहरुबिचको बिबाद शुक्रबार सार्वजनिक रूपमै सतहमा देखिएको हो ।
आयोगको कार्यालय अगाडी सडकमा आमने सामने भएर नाराबाजीमा उत्रिएका दुवै समुहले परस्पर बिरोधि नाराहरु लगाएका थिए। जसका कारण त्यो क्षेत्र दिनभर जसो तनाबग्रस्त रहन पुग्यो। दुई पक्षबिच सम्भावित झडपका कारण ठुलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो। आयोगको गेट बाहिर एकातर्फ देउबाको पक्षमा नाराबाजी चलिरहेको थियो भने अर्को तर्फ गगनको पक्षमा नाराबाजी भैरहेको थियो। देउवा समुहको पक्षमा नेपाल तरुण दलका नेता कार्यकर्ताहरुको ठुलो संख्या उपस्थित थियो उनीहरुले ‘अरु केहि मान्दैनौ, बिशेष महाधिबेशन जान्दैनौं’ जस्ता नारा लगाएका थिए ।
बिहीबार गगन थापा समूहले पार्टीको विशेष महाधिवेशनले नयाँ नेतृत्व र कार्यसमिति चयन गरेको भन्दै त्यसलाई अध्यावधिक गरिदिन निर्वाचन आयोगमै पुगेर आग्रह गरेपछि देउवा समूहका कार्यबाहक सभापति पूर्णबहादुर खड्का सहितका नेताहरुको टोली शुक्रबार बिहान आयोगमा पुगेको थियो। त्यस अबसरमा खड्का सहितको टोलीले पार्टीको वैधानिक निकाय आफूहरू भएको बताउंदै व्यक्ति बिशेषले गरेको भेलालाई लिएर आयोगमा आधिकारिकता दाबी गर्न समेत नमिल्ने जिकिर गरेका थिए ।
देउवा समूहको तर्फबाट काबा सभापति खड्का र नेता डा. शेखर कोइराला सहितको टोली शुक्रबार बिहान आयोगमा पुगेर बैधानिकताको बारेमा प्रश्न उठाएपछि थापा समूहका उपसभापति विश्वप्रकाश शर्मा सहितको टोली पुनः आयोगमा पुगेर विधानमा भएको विशेष महाधिवेशनको व्यवस्थाबारेमा जानकारी गराउंदै आँफुहरुलाई नै आधिकारिकता दिनुपर्ने माग गरेका थिए ।
‘विधानको धारा १७ को २ को व्यवस्था बाध्यकारी हो । सो व्यवस्थाअनुसार ५४ दशमलब ५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष अवस्था आएकाले विशेष महाधिवेशन बोलाउन भन्दै माग गर्नुभएको हो, तर महाधिवेशन प्रतिनिधिले विधानतः प्राप्त गरेको सार्वभौम अधिकार प्रयोग गर्न नपाएपछि हामी दुई महामन्त्रीले विधानकै व्यवस्थाअनुसार विशेष महाधिवेशन आह्वान गरेका हौँ,’ आयोगका पदाधिकारीहरूसँगको छलफलमा थापा समुहका उपसभापति शर्माले भने, ‘सोही अनुसार पुस २७ देखि ३० सम्म विशेष महाधिवेशन सम्पन्न भयो । त्यसले नीतिहरूसँगै नेतृत्व पनि परिवर्तन गरेको छ । त्यो जानकारी हामीले हिजो (बिहीबार) नै औपचारिक जानकारी गराइसकेका छौँ ।’
गगन थापाको समूहले वैधानिकता दाबी गर्दै बिहिबार आयोगमा पुगेपछि २०७८ सालमा भएको महाधिवेशनबाट उपसभापतिमा निर्वाचित र गत असोज २८ गते सभापति देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी दिएका पूर्णबहादुर खड्काको निवास हात्तीगौडामा पूर्व महान्यायाधिवक्ता द्वय उपेन्द्रकेशरी न्यौपाने र खम्मबहादुर खाती, वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, डेमोक्रयाटिक लयर्श एसोसिएसनका निवर्तमान अध्यक्ष योगेन्द्र अधिकारी, वर्तमान महासचिव ज्ञानेन्द्र अधिकारी सहितका कानुन व्यवसायीसँग नेताहरूले कानुनी परामर्श गरेका थिए ।
खड्का निवासमा भएको परामर्शमा पार्टीभित्र देखिएको विवादलाई कसरी समाधान गर्ने ? केन्द्रीय कार्यसमितिको निर्णय र स्वामित्वबिना भएको विशेष महाधिवेशनका आधारमा निर्वाचित समितिलाई आयोगले वैधता दिन मिल्ने वा नमिल्ने ? र अब २०७८ सालमा १४औँ महाधिवेशनबाट निर्वाचित समितिलाई कायमै राखेर अगाडि बढ्न के गर्ने भन्ने जस्ता विषयमा नेताहरूले अधिवक्ताहरूसँग राय लिएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु बरालले गुरुकुल खबरलाई जानकारी दिए ।
बिहिबार संकलित रायको आधारमा शुक्रबार बिहान काबा सभापति खड्काकै नेतृत्वमा नेता डा. शेखर कोइरालासहितका नेताहरुको ठुलो टोली निर्वाचन आयोगमा पुगेको थियो। त्यस अबसरमा काबा सभापति खड्काले आयोगमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी सहितका आयोगका पदाधिकारी हरूसँग गगन थापा नेतृत्वको समितिले नेपाली कांग्रेसको नेतृत्व दाबी गर्दै आयोग पुग्नुलाई लोकतन्त्र माथिको षडयन्त्रको संकेतका रूपमा प्रष्ट पार्ने प्रयास गरेका थिए।
‘नेपालको संविधानमाथि, नेपालको लोकतन्त्रमाथि, नेपालको हामीले गरेको परिवर्तनमाथि जुनखालको गम्भीर षडयन्त्रका संकेतहरू देखिन थालेका छन। त्यस्तै षडयन्त्रको ठुलो संकेतको रूपमा निर्वाचन आयोगमा आएर केही व्यक्तिले हामी कांग्रेसको दाबा गर्न आयौँ भनेको सञ्चार माध्यमबाट जानकारी पायौँ । त्यो संविधान र कांग्रेस विधानसम्मत हुँदैन ।’ खड्काले भने नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकले नियमित महाधिवेशनको मिति तोकिएकै दिन विशेष महाधिवेशनको माग गर्दै परेको निवेदनको औचित्य समाप्त भइसकेको दाबीसमेत गर्दै १४औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय कार्यसमिति नै कांग्रेसको आधिकारिक भएको जिकिर गरे ।
खड्काको नेतृत्वमा निर्बाचन आयोग पुगेको टोलीले पार्टीको आधिकारिकता दाबी गर्दै बिभिन्न कागजातसमेत निर्बाचन आयोगमा बुझाएका थिए। खड्काले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका ८८५ जनाले आफ्नो हस्ताक्षर फिर्ता गरेको भन्दै निवेदन सहितको प्रमाण समेत निर्वाचन आयोगमा बुझाएको थिए । निर्वाचन आयोगबाट फर्केपछि सानेपा स्थित कांग्रेस केन्द्रीय कार्यालयमा पुगेर खड्कासहितको टोलीले पत्रकार सम्मेलन गरेको थियो ।
पत्रकार सम्मेलनमा आयोगले संविधान, कानुन, पार्टी विधान र नियमावलीविपरीत निर्णय गरेमा मुलुकभर आन्दोलन गर्ने धम्की समेत काबा सभापति खड्काले दिए । ‘निर्वाचन आयोगले संविधान, कानुन, पार्टी विधान र नियमावली विपरित निर्णय गरेमा कांग्रेसले देशभर आन्दोलन गर्छ,’ खडकाले भने । ‘हामीमाथि हुने गलत निर्णयविरुद्ध पार्टीले आवश्यक परेको बेला बोलाउँछ । त्यो बेला उपस्थित हुन तम्तयार रहन पार्टी नेता तथा कार्यकर्ता र शुभचिन्तक सबैलाई आग्रह गर्दछु,’ उनले भने । उनले निर्वाचन आयोगले सहि निर्णय गर्छ भन्ने विश्वास आफूलाई रहेको तर बाहिर आएका चर्चा बहसले गलत काम भयो भने कांग्रेसले देशभर आन्दोलन गर्ने उनको भनाइ थियो ।
खड्काले पत्रकारहरूसँग धारणा राखिरहेका बेला थापा समूहका महामन्त्री गुरुराज घिमिरेले ७ बुँदे धारणा सार्वजनिक गर्दै देउवा समूहका क्रियाकलापप्रति आपत्ति जनाए । उनले तत्कालीन कार्यससिमतिले विशेष महाधिवेशनको मागलाई तिन महिनासम्म छलफलको विषय नबनाउने, नियमित महाधिवेशनको कार्यतालिकाको पालना नगर्ने, क्रियाशील सदस्यता नवीकरण, वितरणको कार्य सम्पन्न नगरिकन बिना सूचना वडा अधिवेशन रोक्ने, त्यसको दुई दिनपछि तत्कालीन कार्यसम्पादन समितिको बैठक राखेर ४ महिनापछि नियमित महाधिवेशनको मिति घोषणा गर्नु विधिसम्मत नरहेको भन्दै गगन समुहको कांग्रेसको धारणा सार्बजनिक गरेका थिए।
खड्काले ८८५ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता गरेको कागजात आयोगमा बुझाएकोबारे प्रतिक्रिया स्वरुप विशेष महाधिवेशन आयोजनाको लागि निवेदनमा हस्ताक्षर गरेका सम्पूर्ण प्रतिनिधिमध्ये जम्मा २९ जना महाधिवेशन प्रतिनिधिले मात्र फिर्ता लिएको घिमिरेले उल्लेख गरेका छन् । विशेष महाधिवेशनमा २६५२ अर्थात् ५७.२१ प्रतिशत प्रतिनिधि सहभागी भएको गगन समुहको दाबी छ ।
सानेपा स्थित पार्टी कार्यालयमा र निर्बाचन आयोगबाट निस्किने क्रममा देउवा सभापति रहेको नेपाली काँग्रेसको प्रचार बिभाग प्रमुख मीन बहादुर विश्वकर्माले नेपाली काँग्रेसको झन्डा ओढेर कांग्रेसलाई नै विभाजन गरिएको भन्दै आपत्ति प्रकट गरे । ‘गत भदौ २३ र २४ गते राष्ट्रिय झन्डा ओढेर देश ध्वस्त पारिएको थियो । अहिले चुनावको मुखमा कांग्रेसको झन्डा ओढेर कांग्रेसलाई नै ध्वस्त पार्न खोजिएको छ,’ विश्वकर्माले भने, ‘चुनावको मुखमा पार्टीको चुनाव चिह्न कसको ? झन्डा कसको भनिरहनुपर्ने दुखद् अवस्था आएको छ ।’















