Play

वालिंगका ५ वडाबाट १ लाख ८० हजार किलो सुन्तला बिक्रि: १ करोड बढी आम्दानी

गुरुकुल खबर


प्रकाश डोटेल / स्याङ्जा,

स्याङ्जाको वालिङ नगरपालिकाका सुन्तला उत्पादक महिला कृषकले तौलको (जोखेर) आधारमा सुन्तला बिक्री गर्न थालेका छन् । ठेकेदारले बगैंचामै पुगेर रुखमा फलेको सुन्तला एकमुष्ठ किन्ने र कृषकले ठेक्कामै दिने प्रचलनलाई त्याग्दै पछिल्लो सयम कृषकले तौलेर सुन्तला बिक्री गर्न थालेका हुन् । तौलका आधारमा सुन्तला बिक्री गर्दा फाईदा पुगेको वालिङ नगरपालिका–२ की कृषक डाँसीमाया पौडेलले बताइन् ।

‘सुन्तला फलेको बगैचा नै ठेक्का दिने प्रचलन थियो, विगतको वर्षबाट तौलका आधारमा बिक्री गर्न थालेपछि कृषकलाई प्रत्यक्ष फाईदा पुगेको छ । ’पौडेलले भनिन्,‘यस वर्ष झण्डै १६ हजार किलो सुन्तला बिक्री गर्दा ९ लाख रुपैयाँ भन्दा बढी आम्दानी भएको छ ।’ सुन्तला बगैंचा एकमुष्ठ ठेक्काकै आधारमा दिएको भए ६/७ लाख भन्दा बढी नपर्ने दाबी गरेकी पोडेलले आफ्नो बगैंचाको चार सय बोटमा फलेका सुन्तलाले राम्रो उत्पादन र आम्दानी दिएको सुनाइन् ।

यस वर्षको सुन्तला कारोबारबाट सन्तुष्ट देखिएकी स्थानीय विष्णु घर्ती उचित मुल्य पाएको भन्दै हर्षित छिन् । गएको वर्षबाट तौलसँगै ठेकेदारसँग लिखित सम्झौता गरेर सुन्तला बेच्दै आएको घर्तीले बताइन् । ४४ वर्षिया घर्तीले चालु सिजनमा झण्डै ५ हजार किलोग्राम सुन्तला बिक्री गर्दा तीन लाख भन्दा बढी आम्दानी लिन सफल भएको बताइन् ।

वालिङ नगरपालिका–२ सियाले गाउँका महिलाको सक्रियतामा गठन गरिएको चक्रदेवी स्वावलम्बी सुन्तला उत्पादक महिला समूहले गत वर्षबाट सामुहिक रुपमा सुन्तलाको बजारीकरण गर्दै आएका छन् । ३२ जना महिला आवद्ध समूहका सदस्य सबैले सुन्तला तौलका आधारमा बिक्री गरेको समूहकी अध्यक्ष शोभा पौडेलले बताइन् । ‘सुन्तालाको गोलमेड, स्याहारसम्भार सामुहिक रुपमा गर्ने र उत्पादनका आधारमा मुल्य लिने गर्न लागेका छौं ।’उनले भनिन्, ‘सुन्तलाको साना र ठूला गरी दानाको आधारमा ५५ रुपैयाँदेखि ७० रुपैयाँसम्म प्रतिकिलो बिक्री गरियो ।’

सामुहिक रुपमा सुन्तला खेती र बिक्री गर्दा सबैलाई फाईदा भएको वडा नं.–२ की वडा सदस्य तथा समूहकी सदस्य हिरादेवी ढुङ्गानाले बताइन्। गएको वर्षबाट आफूहरुले सामुहिक रुपमा तौलका आधारमा सुन्तला बेच्दै आएको ढुङ्गानाले जनाइन् । उनी आफ्नै बगौंचाको एक हजार ५ सय बोट सुन्तलाबाट नगद १५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएकी छन् । सुन्तला एकमुष्ठ दिनुको सट्टा तौलेमा बिक्री गर्दा समूहले राम्रो आम्दानी लिन सकेको ढुंगानाको बुझाई छ ।

उत्पादित सुन्तलाले उचित मूल्य नपाएको गुनासो बीच महिला समूहमार्फत गरिएको बजारीकरणले उचित मूल्य दिलाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताए । व्यापारीले मनलाग्दी मूल्यमा होलसेलका आधारमा ठेक्का लिने प्रबृत्तिको अन्त्यका लागि महिलाहरुको सामुहिक प्रयास र सक्रियता आम्दानीसँगै उदाहरणीय बनेको सुबेदीले जनाए ।

वालिङ नगरपालिकाले हेफर प्रोजेक्ट नेपालको सहकार्यमा सञ्चालन गरिरहेको ‘वालिङ कृषि विकास परियोजना’ मार्फत नगरक्षेत्रमा उत्पादित सुन्तला बजारीकरणका लागि सहजीकरण गरिरहेको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिए । उत्पादित सुन्तला बिक्रीका लागि तौललाई आधार बनाएर बिक्री गर्दा उत्पादक कृषकलाई लागत अनुसार राम्रो फाईदा पुगेको खाँणले बताए । परियोजनाले उत्पादनसँगै सुन्तलाको उत्पादकत्व वृद्धिमा समेत काम गरेको जनाएको छ ।

सुन्तला उत्पादन हुने वालिङ नगरपालिकाका वडा नं. १, २, ५,११ र १४ मा गठन भएका महिला स्वावलम्बी समूहका सदस्यले यस वर्षको सिजनमा हालसम्म एक लाख ७९ हजार ६१० किलो सुन्तला बिक्री गरेर एक करोड ५ लाख रुपैयाँ आम्दानी गरेको परियोजनाले जनाएको छ । परियोजनाको सहकार्यमा समूहले गरेको बजारीकरणका माध्यमबाट खासगरी महिला कृषकले राम्रो आम्दानी लिन सफल भएको नगरपालिकाको बुझाई छ ।

२२ पुष २०८२, मंगलवार २०:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा