- सुनिल उलक / पोखरा
केही दिन देखि काठमाडाैको माैसम निकै चिसिएको थियो । घामको अनुहार देख्न मुश्किल भइरहेको थियो । मंसिरको अन्तिम दिन चिसो अझ बढ्यो । मध्यरात देखि नै हल्का पानी पर्दा पुस १ को बिहान आकाश पुरै कालो बादलले ढाकिएको थियो । चिसो स्याँठले गर्दा बिहान अबेरसम्म मानिसहरु सिरक भित्र नै गुटमुटिएर सुतिरहेका थिए ।
तर, सेनाका गाडीहरुको भने चहलपहल शुरु भइरहेको थियो । देशमा केही हुने हो कि भन्ने आशंका देखिएको थियो । राजनीतिक वृत्तमा भने केहि दिन अगाडिबाट केहि शंका आशंका शुरु भइसकेको थियो । राजा महेन्द्रले प्रधानमन्त्री रहेका बिपी कोइरालालाई हटाएर सुवर्ण शमशेरलाई बनाउन चाहिरहेको हल्ला ब्यापक भइसकेको थियो । बिपी कोइराला सरकारमा परराष्ट्र मन्त्रालय सम्हालिरहेका तुलसी गिरीको साथ राजा महेन्द्रले पाएका थिए ।
धेरैले राजा महेन्द्रको २०१७ सालको कदमको आलोचना गर्दछन् । तर राजाले २-३ दिनको निर्णयले यो कदम चालेका थिएनन् । उनले प्रजातान्त्रिक सरकार बने देखि नै यस माथी गोप्य रुपमा कडा नजर राख्न थालेका थिए । साथै यसको बिकल्पको लागी लामो अध्ययन पनि गरिरहेका थिए । पञ्चायत शब्द संस्कृत शब्द हो र यसको ब्यबस्थाको शुरुवात धेरै पहिले देखी भारतका ग्रामिण क्षेत्रमा शुरु भएको थियो ।
गाउँका केही पञ्च भलाद्मीहरुको समुहले गाउँको सम्पूर्ण ब्यबस्था गर्दथे । उनिहरुमा आफ्नै कानुनी अधिकार हुनेगर्थ्यो । यसैबाट प्रभावित भएर महेन्द्रले बृहत्तर रुपमा राष्ट्रिय ब्यबस्थाको थालनी गरेका थिए । पञ्चायती ब्यबस्था वास्तवमा पूर्ण रुपमा जनतामुखी थियो । तर पछि यो पूर्णरुपमा राजामुखी हुन पुग्यो । जसले गर्दा यसका गुण भन्दा दोषहरु बढी बाहिरिन पुग्यो । पञ्च भलाद्मी भन्ने शब्दमा धेरै आस्था र श्रद्धा थियो तर पछि पञ्चेको रुपमा बदनाम भयो ।
पुस १ गतेको बिहान देखि नै राजाको सक्रियता शुरु भइसकेको थियो । प्रधान सेनापति नीरशमशेर र प्रहरी प्रमुख ढुण्डीराज शर्मालाई राजाले आफ्नो योजना सुनाइसकेका थिए । थापाथली स्थित तुङ्गशमशेर राणाको घरमा नेपाली कांग्रेसको भातृसंगठन तरुण दलको महाअधिवेशन शुरु भइरहेको थियो । देशभरबाट नेपाली कांग्रेसका युवा प्रतिनिधि त्यहाँ जम्मा भइसकेका थिए । प्रधानमन्त्री बिपी कोइरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको हुँदा मन्त्रिहरुका साथ कांग्रेसका प्रमुख नेताहरु पनि थापाथली पुगिसकेका थिए ।
प्रधानमन्त्री बिपी कोइरालाको उद्घाटन सम्बोधन हुँदै गर्दा अचानक सेनाका जर्नेल सुरेन्द्रबहादुर शाह मञ्चमा उक्लिए । सुरेन्द्रबहादुर शाह त्यसबेलाका डेपुटी कमान्डर इन चिफ थिए । तत्कालै बिपीका साथ गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, कृष्णप्रसाद भट्टराइलाई गाडीमा राखेर सिंहदरवार स्थित बिलियर्ड हल लगियो । दिउसो साढे तीन बजे रेडियो नेपालबाट राजा महेन्द्रबाट सत्ता लिएको तथा मन्त्रिपरिषद भंग गरेको घोषणा गरियो ।
पृथ्वीनारायण शाहको राष्ट्र एकिकरण अभियानमा उनका छोरा बहादुर शाहले पनि निरन्तरता दिए । तर त्यसपछि सन्की राजाहरू तथा थापा, पाण्डे, चौतरियाको आपसी दुश्मनीले देशले धेरै गुमायो । टिस्टा देखि कांगडाको सिमालाई मेची देखी महाकालीमा सिमित बनाइदियो । जंगेलाई यहि थापा, पाण्डे, चौतरिया र सन्की राजाले जन्माएको थियो । त्यो बेलाको आबश्यकता थियो ‘जंगे’ । जंगेको उदय नभएको भए नेपाल भारतको एउटा प्रान्तमा सिमित हुने थियो । हैसियत नभए पनि हुकुमता भएका जंगे उपयुक्त भइदियो । जंगेलाई स्विकार्नु पर्ने जनताको बाध्यता थियो त्यो बेला ।
बि.सं. १९४२ को घटनापछि राणा केही उग्र भए । धेरै कुरा राणाबाट गल्ती भए, अहिलेका नवराणा वा नवराजाहरू भने झैं धिरशम्शेरका सत्र भाइ छोराहरु पनि सत्ताको लागी जस्तो सुकै गर्न तैयार हुदै गए । तर कहिले काँही राम्रो काम पनि सत्ता गुम्ने डरले गर्न चाहेनन् । बि.सं. २००१ मा जुद्धशम्शेर, भाइसराय Earl of Linlithgow को निम्तोमा भारत भ्रमणमा गएका थिए । यो भ्रमण ब्यक्तिगत थिएन, अंग्रेज सरकारले नेपाललाई केही उपहार दिन चाहेका थिए । यसभन्दा अगाडी प्रधानमन्त्री चर्चिल तथा राजा जर्ज छैठौले पनि नेपालको कदर गर्न चाहेको जानकारी पत्रबाट दिइसकेका थिए ।
भारत भ्रमणको समय भाइसराय Earl of Linlithgow ले एकान्तमा जुद्धशम्शेरलाई सूचित गरे । हामी भारत छोडेर जादैछौ, यो अप्रत्यासित थियो जुद्धशम्शेरको लागी । एकैचोटी उसको दाहिने हात कसैले काटिदिए जस्तो भयो । बिस्तारै भाइसरायले थप्दै भने, नेपाल र नेपालीको गुण हामी कहिल्यै बिर्सन सक्दैनौ, तसर्थ अंग्रेज सरकार नेपाललाई केही उपहार दिन चाहन्छ । यहि सुचित गर्न महाराजलाई दिल्ली दरवारमा निम्तो पठाइएको हो । कौतुहलता विच जुद्धको प्रश्न भुइमा झर्न नपाउदै भाइसरायले भने, अंग्रेज सरकार भारतलाई स्वतन्त्र बनाउनु अगाडी बंगलादेश नेपाललाई सुम्पन चाहेको जानकारी गराउन चाहन्छु । देशले समुन्द्री किनार भेटे बिकास गर्न सहज हुन्छ भन्ने अंग्रेजको लामो अनुभव थियो । तसर्थ नेपाललाई समुन्द्रसंग जोडिदिन चाहेका थिए ।
राणा विरोधी आन्दोलनबाट आजित भैसकेका जुद्धशम्शेर बंगलादेश नेपालमा गाभ्ने प्रसंगले अझ तर्सिए । उनले हुन्छ वा हुदैन भन्न सकेनन् । छिट्टै जानकारी पठाउँछु भन्दै फर्किए । दुइ महिनापछि उनले पत्रमा देशभित्र नै आन्दोलन चर्किरहेको अवस्थामा बंगलादेश स्विकार्न कठिन हुने जानकारी पठाए । प्रधानमन्त्री चर्चिल तथा राजा जर्ज छैठौको नेपाललाई भूपरिवेष्टिटबाट जोगाउने र भारतको पराधिनताबाट रोक्ने इच्छा पुरा हुन सकेन ।
भारतको स्वतन्त्रता पछि नेहरूको चंगुलमा फसेका राजा त्रिभुवनले कुनै कुरा सहि देख्न सकेनन । केवल नेहरूको सल्लाहलाई शिरोपर गर्थे । कार्तिक २२, २००७ मा नेपाललाई स्वतन्त्र गर्ने चाहनाले राजा भारतमा पुगेका थिएनन् । नेहरूको इच्छाले पुगेका थिए, हैदरावाद भवनमा कैद सरह बसेका थिए । राजकिय सम्मानका साथ बसेका थिएनन् । त्यो कैदखानामा राजा त्रिभुवनलाई पहिलो पटक भेट्न पुगेका पुरूषोत्तम शमशेरको अनुभवमा त तिहाडमा पनि त्यति सुरक्षा हुदैन, जति त्रिभुवन बसेको ठाउँसम्म सेनाको पहरा थियो ।
Erika Leuchtag रानी कान्तीको उपचारको लागी होइन, नेहरूको प्रतिनिधीको रूपमा दरवारको जासुसी गर्न पठाइएको थियो । पछि यिनै नर्ससंग राजाको हिमचिम बढ्यो । Erika को सहयोगमा राजालाई दिल्ली पुर्याइयो । हुन त नेहरूले चाहेको (भारतको हिमाञ्चल राज्यमा गाभ्ने) कुरा युवराज महेन्द्रले गर्दा पुगेन तर, एक किसिमको उपनिवेश भने बनाइछाडे ।
२००७ पछि हामी भारतको अधिनमा आयौं, नेहरूले राजाको साथ आफ्ना प्रतिनिधी पठाए, राजाको सल्लाहकारको रूपमा । २००८ मा नेपालको सुरक्षा परिषदको पहिलो बैठक दिल्लीमा बस्यो । यसलाई भारतीय सेना प्रमुखले ब्रिफिङ गरे । २००७ पछि नेपालमा अर्को राणा जन्म्यो । देशभरी कांग्रेसका कार्यकर्ताले राणाबाट पिडित रहेको भन्दै थुप्रै जमिन हात पारे । केवल ८ वर्षमा देशभरीमा डेढलाख रोपनी भन्दा बढी जमिन कांग्रेसी कार्यकर्ताले हात पारेका थिए ।
२०१७ सालको घटना चक्रमा पनि नेहरूले पूर्ण सहयोग गरे राजा महेन्द्रलाई । केही दिन राजासंग भेटघाटमा ब्यस्त रहेका सेना प्रमुख थिम्मैया पुस १ को अघिल्लो रात John Chapman संग थिए भने राजदूत भगवान सहाय पनि निकै ब्यस्त थिए । थिम्मैया अरू दुइ दिन John Chapman को होटलमै बसे भने भगवान सहायलाई फिर्ता बोलाई पुरस्कार स्वरूप नेहरूले दिल्लीको गभर्नरको पद दिए । तर महेन्द्रले पंचायती ब्यबस्थाको घोषणा संगै नेहरूलाई पनि बेवास्ता गरे । त्यसपछि महेन्द्रसंग चिढिए नेहरू, त्यसपछि त नेपालको राजपरिवारसंग नेहरूको परिवार सदैव टाढा नै रहे । न त इन्दिरा गान्धी न त राजीव गान्धी नै नजिक हुन खोजे । अन्तमा सोनिया पनि टाढा नै बनिरहिन ।
२०१७ पछि देशले अर्को राणा शासन पायो । तर यो समय जनताले रोजगारीको थुप्रै अवसर पाए । पंचायत भित्रका पञ्च त राणा जस्तै थिए तर देशले ३० वर्षे स्वर्णकाल पायो । दलिय राजनीतिको मिठो भागबण्डा चाखेकालाई पिडा भयो । उनिहरु राजनैतिक मह चाट्न आतुर थिए ।
२०४७ फेरि दलिय राजनीतिको प्रवेश भयो, दलको नाममा राजनीति गर्ने र त्यसको रसस्वादन गर्न पल्केकाहरु पञ्चायतवाट दलिय भए । देशले अर्को दुर्गती पायो । वर्ल्ड बैंक र आईएमएफको सल्लाहमा अर्थ मन्त्रालयले privatization cell गठन गर्यो । पञ्चायतकालमा उत्कर्षमा पुगेका सरकारी उद्योगहरुलाई निजीकरणको नाममा धराशायी बनाईयो । देशले बेरोजगारी पायो, देशका युवा रोजगारीको खोजीमा बिदेशी भूमिमा भौतारिन बाध्य भए । ४३४ अरव रेमिट्यान्स भित्राउन सफल भएको गर्विलो समाचार बनाउने राष्ट्र बैंकले नेपालवाट भारतमा ३५० अरव रेमिट्यान्स जाने तथ्य भने उजागर गर्न चाहन्न ।
तसर्थ देशका आम जनताले प्रजातन्त्र के हो ? कस्तो हुन्छ ? थाहा नै पाएका छैनन् । दलमा आवद्धता देखाउने र त्यसको चम्चागिरी गर्ने २-४ प्रतिशतको लागि त देशमा प्रजातन्त्र मात्र होइन देशै स्वर्ग भएको छ । बाकीको जीवन साँझ बिहानको छाक टार्न मै सकस छ । राजा महेन्द्रले आफ्नो छोटो शासनकालमा सबैभन्दा बढि मुलुकको भ्रमण गरेर कुटनैतिक फाइदा लिए । देशको बिकासको लागी बिभिन्न देशबाट सहयोग पाएका थिए । उद्योग कलकारखानाहरु खुलेका थिए । क्रमश सडकले पनि एक अर्को शहरलाई जोड्दै थियो । त्यति बेला ति उद्योग कल कारखानामा रहेका कर्मचारी तथा मजदूरहरु राष्ट्रमुखी सोच राख्ने थिए । तर अहिले तुलना गर्ने हो भने अधिकांश व्यक्तिमुखी तथा दलमुखी हुन पुगे । जसले गर्दा सिमित ब्यक्ति त सम्पन्न भए, तर समग्र देश सम्पन्न हुन सकेन ।
राजनीतिका खेलाडीहरुको लागी पुष १ को दिन इतिहासमा कालो दिन होला । तर राजनीति प्रति चासो नहुने साधारण नेपाली जनताको लागी भने एउटा स्वर्णिम युगको शुरुवातको दिन थियो । हुन त यहाँ धेरैको बिरोधाभास आउनसक्छ । एउटा जनताले चुनेको प्रजातान्त्रिक सरकार माथी राजाको क्रुर कदमको ब्याख्या पनि गरिएला । प्रजातान्त्रिक सरकार गठन र त्यस पूर्वका घटनाचक्रहरु गहिराइमा नियाल्दा भने धेरै नै गलत कदम राजाले उठाए झै लाग्दैन, तैपनि २-४ वर्ष प्रजातान्त्रिक सरकारलाई काम गर्न दिए पछि मात्रै कठोर कदम उठाएको भए केही भिन्न तर्क पनि आउन सक्थे ।
दोश्रो बिपी नेतृत्वको प्रजातान्त्रिक सरकार भंग गराउन भने भारतको नेहरु सरकारले पूर्ण सहयोग गरेको थियो । तर राजाले ल्याएको नयाँ ब्यबस्था पनि गलत नै भने थिएन किनकी राजनीतिक बिश्लेषणको आधारमा हेर्ने हो भने पञ्चायतको तीस वर्षे कालमा नेपालमा धेरै बिकास भएको थियो । तर पञ्चायतको पछिल्लो समयमा भने पञ्चहरु भ्रष्ट हुन थाले । जसले गर्दा पञ्चायत प्रति पनि जनतामा रुष्टता शुरु भयो ।
खैर, राजनैतिक उथलपुथल पछि अहिले देशमा गणतन्त्र आइसकेको छ । राजा पनि देशबाट हटिसकेको छ । परिवर्तन पछि पनि जनता फेरी गणतन्त्रबाट वाक्क हुन थालिसकेका छन । देशमा समय समयमा राजनीतिक परिवर्तन अपरिहार्य छ । जनता हरेक शासन पद्धतीबाट केही समयपछि वाक्क हुनु स्वभाविक नै हो । साथै देशका नेता तथा राजनीतिक कार्यकर्ता तथा तिनका पिछलग्गुहरुको कारणले पनि हरेक शासन पद्दती शुरुवात भएको केही वर्षपछि जनता आजित हुन थाल्छन । जसले गर्दा परिवर्तनको आवाज उठ्दै जान्छ ।
हरेक शासन पद्धतीमा गुण र दोष दुबै हुने गर्दछ । तर त्यसलाई सञ्चालन गर्ने शासक वा राजनीतिकर्मीहरुको नियत गलत भइदियो भने सत्ता वा शासन पद्धती परिवर्तन हुनु कुनै आश्चर्यको घटना हुदैन । गणतन्त्र देखेर पनि जनता आजित भएको अहिलेको अवस्थामा फेरी पनि परिवर्तन खोज्न जनता सडकमा आउनु कुनै नौलो होइन ।
( सुनिल उलक नेपालका दुर्लभ फोटोहरुको संकलक तथा ईतिहासबिदको रुपमा समेत चिनिन्छन, प्रस्तुत सामग्री उनको फेसबुक पेजबाट लिईएको हो )















