Play

रास्वपा सांसद अमरेश सिंहमाथि अकुत सम्पत्तिको आरोप, अख्तियारदेखि सम्पत्ति शुद्धीकरण विभागसम्म उजुरी

गुरुकुल खबर


काठमाडौं, सर्लाही क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. अमरेश कुमार सिंह विरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा विस्तृत उजुरी दर्ता गरिएको प्रमाण फेला परेको छ। भ्रष्टाचारविरुद्धका अभियन्ता बताउने सर्लाही बलरा नगरपालिका–११ निवासी दिनेश यादव, रामनगर गाउँपालिका वडा नं.१ का हरेन्द्र राय, बलरा नगरपालिका ८ का रामविनय साह लगायतले अख्तियार, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा फरक फरक मितिमा उजुरी दिएका छन् ।

ती उजुरीमा डा. सिंहले २०६२/०६३ को दोस्रो जनआन्दोलनपछि सार्वजनिक पदमा पुगेपछि अस्वाभाविक रूपमा सम्पत्ति विस्तार गरेको आरोप लगाइएको छ । तत्कालीन अन्तरिम व्यवस्थापिका संसद सदस्य बनेपछि उनको आर्थिक हैसियतमा एकाएक ठूलो परिवर्तन आएको दाबी उजुरीकर्ताको दावी छ । उक्त उजुरीअनुसार डा. सिंहसँग सुरुवाती चरणमा सर्लाही बलरा क्षेत्रमा १ बिगाहा १० कठ्ठाको करिब २० लाख रुपैयाँ बराबरको पैत्रिक सम्पत्ति मात्रै थियो । तर सांसद बनेपछि सर्लाही, काठमाडौं, ललितपुर, झापा र भारतसम्म करोडौं मूल्यका जग्गा, घर तथा लगानी विस्तार गरेको उल्लेख गरिएको छ ।

उक्त उजुरीमा सिंह सासंद बनेको केही समयपश्चात नै आफ्नो पैतृक गाउँमा लगायत सोही नगरपालिकामा रहेको बहुमुल्य जग्गाको रुपमा रहेको करिब दुई बिगाहा जग्गा निजले खरिद गरी सोही जग्गामा सम्पुर्ण सुख सुविधा सम्पन्न साढे दुई तल्लाको पक्की घर समेत बलरा नगरपालिकामा बनाएका छन् । निज डा. अमरेश कुमार सिंहले मलगंवा सदरमुकाममा आफ्नो भाई तथा एकाघरको नाताका व्यक्तिहरुको नाममा समेत करोडौ मुल्य पर्ने बहुमुल्य घडेरीहरु खरिद गरेका छन् ।

सैंबुमा आलिशान घर, मेडिसिटी आसपास करोडौंको जग्गा

उजुरीमा ललितपुरको सैंबु क्षेत्रमा डा. सिंह र उनका आफन्तको नाममा ५० करोड रुपैयाँभन्दा बढी मूल्यको जग्गा तथा आलिशान घर रहेको दाबी गरिएको छ । मेडिसिटी अस्पताल नजिकै १.५ रोपनीभन्दा बढी जग्गा खरिद गरिएको र त्यसको मूल्य २५ करोडभन्दा बढी रहेको उल्लेख गरिएको छ । जबकी आर्थिक वर्ष २०७५।०७६ मा व्यवस्थापिका संसद सचिवालयमा बुझाएको सम्पत्ति विवरणमा डा.सिंहले चल अचल सम्पत्तिको रुपमा सुन ४० तोला, चाँदी २०० तोला र १ क्यारेट हिरा मात्र रहेको भनी उल्लेख गरेका छन् ।

तर, सासंद बनेको केही बर्ष पनि नबित्दै ललितपुर उपमहानगरपालिकाको सैंबु वडा. नं ४ ग को कित्ता नं १००९ र कित्ता नं. ८५१ मा डा. अमरेश कुमार सिंह र  मनोरमा सिंहको नाममा ५० करोड भन्दा पनि बढीको मुल्याकंन रहेको १.५ रोपनी जग्गामा आलिशान सम्पुर्ण सुख सुविधा सम्पन्न एउटा ३ तल्ले र अर्को ४ तल्ले घर निर्माण कुन स्रोतबाट गरिएको भनी प्रश्न उठाइएको छ । सांसद सिंह अहिले पनि उक्त घरमै बसिरहेका छन्। साथै उनको ललितपुर जिल्ला मेडिसीटी अस्पताल नजिकै सैंबु वार्ड नं ८ घ को कित्ता नं. ८८४ कित्ता नं ८८५ तथा कित्ता नं ८८६ मा १.५ रोपनी जग्गा जसको हालको बजार मुल्य अन्दाजी २५ करोड रहेको तथा सो जग्गा डा. सिंहकै नाममा रहेको दावी उक्त उजुरीमा उल्लेख छ ।

त्यस्तै झापाको भद्रपुरमा ससुरा सुरेश सिंहको नाममा करिब ६ करोड रुपैयाँ मूल्य बराबरको जग्गा खरिद गरिएको, तर वास्तविक लगानीकर्ता डा. सिंह नै रहेको दाबी उजुरीमा गरिएको छ । उक्त बहुमुल्य जग्गा सुरेश सिंहको नाममा दर्ता रहेता पनि डा. सिंहले नै खरिद गरी नेपाल सरकारलाई छल्नको लागि आफ्नै ससुराको नाममा दर्ता गरिदिएको दावी उजुरीमा गरिएको छ ।

आफन्तको नाममा सम्पत्ति लुकाएको आरोप

उजुरीकर्ताले सांसद सिंहले आफ्ना बहिनी, भाउजू, ससुरा तथा अन्य आफन्तको नाममा सम्पत्ति राखेर स्रोत लुकाउने प्रयास गरेको आरोप लगाएका छन । काठमाडौंका विभिन्न व्यवसायीहरूसँग बैंक तथा अन्य क्षेत्रमा शेयर लगानी गरेको, बुद्धनगरस्थित केही कलेजमा अप्रत्यक्ष लगानी रहेको तथा छाउनी क्षेत्रमा रहेको एक व्यापारिक कोलोनीमा समेत उनको करोडौंको संस्थापक शेयर रहेको दाबी गरिएको छ । त्यसैगरी कालिमाटीका फलफूल व्यापारी तथा कबाडी व्यवसायीसँग मिटर ब्याजमा लगानी गरेको आरोपसमेत उजुरीमा उल्लेख छ ।

सांसद विकास कोष दुरुपयोगको आरोप

डा. अमरेश कुमार सिंहले आफ्नै निर्वाचन क्षेत्रमा रहेको विद्यालय भवन तथा सभाहल निर्माणको नाममा संसद पूर्वाधार विकास कोषबाट करोडौं रकम निकासा गराई अनियमितता गरेको आरोप पनि लगाइएको छ । उजुरीअनुसार सर्लाहीस्थित श्री रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालयमा पहिल्यै निर्माण भइसकेको संरचनालाई पुनः योजना बनाएर बजेट निकासा गरिएको र आफ्ना निकट व्यक्तिहरूमार्फत निर्माण समिति गठन गरी रकम हिनामिना गरिएको दाबी गरिएको छ ।

सम्पत्ति विवरणमाथि प्रश्न

आर्थिक वर्ष २०७५÷०७६ मा संसद सचिवालयमा बुझाइएको सम्पत्ति विवरणमा डा. सिंहले ४० तोला सुन, २०० तोला चाँदी र १ क्यारेट हिरा मात्रै उल्लेख गरेका थिए। तर त्यसयता देखिएको सम्पत्ति विवरण र वास्तविक जीवनशैलीबीच ठूलो अन्तर रहेको उजुरीकर्ताको दाबी छ ।

अनुसन्धानको माग अधुरै

२०८०/८१ सालदेखि नै अख्तियार, सम्पत्ति शुद्धीकरण र प्रधानमन्त्री कार्यालयमा सप्रमाण उजुरी दर्ता गराएपनि हालसम्म कुनै अनुसन्धान तहकिकात भने भएको छैन् । उजुरीकर्ताहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई डा. सिंहको सम्पूर्ण चल–अचल सम्पत्ति, बैंक कारोबार, आफन्तका नाममा रहेको लगानी तथा विदेशी सम्पत्तिसमेत छानबिन गर्न माग गरेका छन् ।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले भर्खरै मात्र २०६२/०६३ सालपछि सरकारी वा सार्वजनिक पद धारण गरी अकुत सम्पत्ति आर्जन गर्नेहरुको सम्पत्ति छानविन गर्न पूर्व न्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय उच्च स्तरीय छानविन आयोग गठन गरेपछि ती उजुरीकर्ता केही उत्साहित भएका छन् । तर, दुई तिहाई सरकारको नेतृत्व गरिरहेका बालेन शाहले के आफ्नै पार्टीका सांसदमाथि निष्पक्ष अनुसन्धान र कारबाही गर्लान भन्ने पनि शंकाको सुविधा उठेको छ ।

सम्पत्ति छानविनकै सेरोफेरोमा ०६२/०६३ सालदेखि लगातार सर्लाही- ४ बाट संविधानसभा सदस्य र सांसद बनेका डा. सिंह नै छानविनको पहिलो दायरामा परेका छन् । सांसद सिंह माथि छोटो समयमै अकुत सम्पत्ति आर्जन गरेको तथ्यसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पति शुद्धीकरण अनुसन्धान आयोग र प्रधानमन्त्री कार्यालयमा उजुरीको खात लागेको छ । यसअघि शुरुमा नेपाली काँग्रेसबाट र त्यसपछि स्वतन्त्र हैसियतमा समेत चुनाव जितेका सांसद सिंहले यसपटक भने सत्तारुढ रास्वपाबाट चुनाव जितेका हुन् ।

१७ बैशाख २०८३, बिहीबार २१:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा