जनकपुर, पोखरा भ्रमण वर्ष – २०२५ र अंग्रेजी नयाँ बर्षको अबसरमा केहि दिनपछि पोखरामा हुने २७ औं पोखरा सडक महोत्सवको प्रचार प्रसार गर्ने उद्देश्यका साथ पुर्वी नेपाल पुगेको पोखरेली पर्यटन व्यवासयीको टोलीले मिथिला नगरी जनकपुरमा पत्रकार सम्मेलन गरि त्यस क्षेत्रका बासिन्दाहरुलाई पोखरा घुम्न आमन्त्रण गरेको छ ।
पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समिति र रेवान पोखराले संयुक्त रुपमा पुर्बी नेपालका बिभिन्न शहरहरुमा पुगेर पत्रकार सम्मेलन गर्ने क्रममा जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले आन्तरिक पर्यटनलाई चलयमान बनाउनको लागि प्रत्यक्ष भेटघाट सहित पोखरा भ्रमणको लागि आमन्त्रण गरिएको बताए। यस्ता खाले कार्यक्रमले छुट्टाछुट्टै शहरबिच आपसी सद्भाव कायम गर्दै पर्यटन प्रबर्द्दनमा उल्लेख्य भूमिका खेल्ने संयोजक भट्टराईले जानकारी दिए ।
पत्रकार सम्मेलनमा रेवान पोखराका उपाध्यक्ष एवं सडक महोत्सव आयोजक समितिका मूल संयोजक बसन्त गौतमले पुष १३ देखि १७ गते सम्म हुन लागेको पोखरा सडक महोत्सवका बिशेषताहरुको बारेमा जानकारी गराए । ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नाराका साथ आयोजना हुँदै आएको महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकमाझ पोखरालाई अंग्रेजी नया वर्षको गन्तव्य स्थलका रुपमा विकास गरेको उल्लेख गरे ।
महोत्सवमा विभिन्न जातजातीका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुद तर्फ डुंगा दौड प्रतियोगिता, वेटर रेस, डोरी तान्ने प्रतियोगिता, मःम तथा ससेज खाने लगायत अन्य थप प्रतियोगिताहरु समावेस गरिने छ । पत्रकार सम्मेलनमै पोखरा र पोखरा सडक महोत्सवको प्रबर्द्दनात्मक श्रव्यदृष्य सामग्री पनि प्रस्तुत गरिएको थियो।
कार्यक्रममा बोल्दै पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले अंग्रेजी नयाँ वर्षमा हुने पोखरा सडक महोत्सव अन्तर्राष्ट्रियस्तरमै एउटा ब्राण्ड बनिसकेको बताए । रेवान पोखराका पूर्व अध्यक्ष सुर्य भुजेलले पोखरा जस्तै जनकपुर पनि पर्यटनको निकै सम्भावना भएको ठाउँ रहेको हुँदा जनकपुरका सबै क्षेत्र मिलेर अगाडी बढ्न सुझाव दिए । यस पटकको महोत्सवमा मिथिला संस्कृती समेत समेटिएको बताउँदै महोत्सव अवलोकनका लागि पोखरा आउन उनले सबैलाई आग्रह गरे ।
नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन शाहले जनकपुरका पर्यटक पोखरा पठाउने र पोखराका पर्यटकलाई जनकपुरमा ल्याउनका लागि समन्वय गरि अगाडी बढ्नुपर्ने बताए । साथै समग्र पर्यटन विकासका लागि सबै क्षेत्रले साथ र सहयोग गर्नुपर्नेमा उनले जोड दिए । मधेश प्रदेश नाटाका महासचिव सुदर्शन काफ्लेले पर्यटन विकासका लागि गण्डकी प्रदेश सरह मधेश प्रदेश पनि एक ढिक्का हुनु आवश्यक रहेको बताए । पोखरा महानगरपालिका व्यवसाय प्रबर्द्दन केन्द्रका प्रमुख नवराज अधिकारीले धार्मिक पर्यटन मार्फत पोखरा र जनकपुरलाई जोड्नुपर्ने विचार ब्यक्त गरे ।
महोत्सवमा पोखरा सेरोफेरोको स्थानीय उत्पादित हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनी गरिने छ । त्यस्तै, पोखराका विभिन्न साहसिक गतिविधि समेटिएको वृत्तचित्र प्रदर्शन र पर्यटकीय गन्तब्यको प्रबर्द्दन गरिने रेवान पोखराका महासचिव बीरेन्द्र शेरचनले जानकारी गराए ।
पोखरा बाट गएको २० सदस्यीय भ्रमण टोलीमा पोखरा भ्रमण वर्ष–२०२५ कार्य सम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई, रेवान पोखराका उपाध्यक्ष एवं २७ औं पोखरा सडक महोत्सवका संयोजक बसन्त गौतम, महासचिव बीरेन्द्र शेरचन, पुर्व अध्यक्ष सूर्य भुजेल, सदस्य लोक गुरुङ, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधब बराल लगायत रहेका छन् ।
यसैगरी नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहाल, सडक महोत्सवका सह–संयोजकद्वय सुनिल भट्टराई र सुमन भट्टराई, नारा गण्डकीका अध्यक्ष बीरेन्द्र लामा, पोखरा भ्रमण वर्ष समितिका दामोदर भक्त थापा, कृष्णचन्द्र न्यौपाने, पोखरा नगरपालिका आर्थिक प्रशासन प्रमुख छवि शर्मा, व्यवसाय प्रबर्द्दन केन्द्रका प्रमुख नवराज अधिकारी, किरण रेग्मी, पोखरा उद्योग वाणिज्य संघका उपाघ्यक्ष दिनेस वाँस्तोला, ना गण्डकीका अध्यक्ष अनिल केसी, पत्रकार बिनोद लामिछाने र राजु गिरी लगायत रहेका छन् ।



















