पोखरा, गण्डकी प्रदेशमा सरकारमा बहालवाला मुख्यमन्त्री र पूर्व मुख्यमन्त्री मिलेर प्रदेश सरकार मातहतका बिभिन्न १६ वटा अस्पतालको व्यवस्थापन समितिमा आआफ्ना पार्टीका कार्यकर्ताहरुलाई नियुक्ति दिने प्रक्रिया अगाडी बढाईएको छ । अस्पतालहरुमा यस अगाडी रहेको ब्यबस्थापन समितिलाई केहि महिना अगाडी भंग गरेको सुरेन्द्र पाण्डे नेतृत्वको सरकारले अहिले कांग्रेस -एमाले दुई प्रमुख दलबीच भागबण्डा गरेर अध्यक्षहरुको नियुक्ति गरेको हो ।
गत भदौ ३ गते बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले नयाँ गठन आदेश जारी गर्ने निर्णय गर्दै सबै अस्पतालका व्यवस्थापन समिति खारेज गरेको थियो। यसअघि प्रदेश मातहतका अस्पतालहरुमा नेपाली कांग्रेस, नेकपा माओवादी, नयाँ शक्ति लगायतले भागबण्डा गरेर नियुक्ति गरेकोमा अहिले कांग्रेस र एमालेलाई मात्र नियुक्ति दिन लागिएको बुझिएकोछ ।
अहिले अन्य सबै पार्टीको तर्फबाट नियुक्त भएकालाई हटाएर कांग्रेस र एमाले कार्यकर्तालाई मात्र नियुक्त गरिएको बताइएको छ। कांग्रेस र एमाले दुवै पार्टीको महाधिबेशन नजिकिएको र कांग्रेसका सुरेन्द्र पाण्डे र एमालेका खगराज अधिकारी समेत पार्टीको महाधिबेशनमा चुनाब लड्ने भएकोले कार्यकर्ता खुसि पार्न पनि हतारमा नियुक्त गरिएको आरोप अन्यले लगाएका छन।
गण्डकी प्रदेश अन्तर्गतका बिभिन्न १६ वटा अस्पतालमा नियुक्ति दिने प्रक्रिया अगाडी बढाइएको भएपनि हाल ११ वटा जिल्ला अस्पतालको अध्यक्ष नियुक्त गर्ने निर्णय मन्त्रिपरिषदको बैठकले गरेको र बाँकी अस्पतालमा पनि व्यवस्थापन समितिको अध्यक्ष बागबण्डाबाटै टुंग्याउने तयारी भैरहेको बताइएको छ।
कांग्रेसका सुरेन्द्र पाण्डे र एमालेका खगराज अधिकारीको सहमतिमा कांग्रेसले नवलपुरको मध्यबिन्दु, लमजुङ, तनहुँ, पर्वत, मुस्ताङ र बागलुङको बुर्तिबाङ अस्पताल व्यवस्थापन समितिको अध्यक्ष पाएको छ । बागलुङको धौलागिरि, म्याग्दी, मनाङ, स्याङजा र जनरल तथा सरुवा रोग अस्पताल व्यवस्थापन समिति अध्यक्ष एमालेले पाएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले कांग्रेसको भागमा परेका मध्ये मध्यबिन्दु अस्पतालमा बालकृष्ण घिमिरे, लमजुङ अस्पतालमा विजय गुरुङ, पर्वत अस्पतालमा यामबहादुर नेपाली, तनहुँको दमौली अस्पतालमा कमलामोहन वाग्ले, बागलुङको बुर्तिबाङ अस्पतालमा कमल भुसाल र मुस्ताङ अस्पतालमा तेन्जिङ थकालीलाई अध्यक्षमा नियुक्त गरेको छ।
यसैगरी नेकपा एमालेको भागमा परेको बागलुङकै धौलागिरि प्रादेशिक अस्पतालमा श्रीप्रसाद शर्मा, जनरल तथा सरुवा रोग लेखनाथ पोखरामा ऋषिराज जमरकट्टेल, स्याङजा अस्पतलमा डिलकुमार भूजेल, म्याग्दीको वेनी अस्पतालमा डेकबहादुर बानियाँ र मनाङमा अर्विण गुरुङलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ।

















