Play

कांग्रेस केन्द्रीय समितिको बैठक जारी, नियमित वा बिशेष महाधिबेशन गर्ने भन्ने बिषय अझै अनिर्णित

गुरुकुल खबर


काठमाडौँ,  नेपाली कांग्रेसको काठमाडौँमा जारी केन्द्रीय समितिको बैठकमा पार्टीको नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन भन्ने बारेको बहस टुंगिन सकेको छैन मङ्सिर महिनाको अन्त्यसम्म पार्टीको नियमित महाधिबेशन गर्ने कार्यतालिका महामन्त्री गगनकुमार थापाले शुक्रबारको बैठकमा प्रस्तुत गरेको भएपनि आगामी मङ्सिरसम्म महाधिबेशन गर्न सकिने वा नसकिने भन्ने बिषयमा बहस जारी छ । असोज २६ गतेबाट जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले १५ औं वा नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् । बैठक शनिबार दिउँसो पनि बस्ने छ।

नियमित महाधिबेशनको पक्षमा अधिकांश नेताहरु 

शुक्रबारको बैठकमा बोल्ने  सबैजसो केन्द्रीय सदस्यहरुले विधि र प्रक्रिया पुर्‍याएर नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिएका थिए। १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद आगामी मंसिर मसान्तभित्र सकिने भएकाले त्यो समयमै छोटो कार्यतालिका बनाएर नियमित महाधिवेशन गर्नुपर्ने सदस्यहरूको भनाइ छ । शुक्रबार पार्टीका प्रदेश सभापतिहरू र केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रममा गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, सुदूरपश्चिम सभापति वीरबहादुर बलायर, कोशी सभापति उद्धव थापाले आआफ्नो  धारणा राखे ।

नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले सरकारले फागुनमा निर्वाचनको मिति तोकेको भएपनि त्यो समयमा पहाड र हिमालमा निर्बाचन गर्न असम्भव हुने भन्दै वैशाखमा सार्नुपर्ने बताए । अन्य प्रदेशका सभापतिहरुले जेनजी आन्दोलनका मागलाई सम्बोधन गर्नेगरी पार्टीमा युवापुस्ताको प्रतिनिधित्व हुने सुनिश्चित गर्दै नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिए ।

शुक्रबारको बैठकमा पार्टीका केन्द्रीय सदस्यहरू मानबहादुर विश्वकर्मा, भरत शाह, प्रदीप पौडेल, रमेश रिजाल, गोपाल दहित, चन्द्रमोहन यादव, दिलेन्द्रप्रसाद बडू, महिन्द्रा लिम्बु, डिला संग्रौला, पुष्पा भुसाल, अर्जुन जोशी, सञ्जय गौतम, मैकुलाल वाल्मिकी, कान्तिका सैजुवाल, जीपछिरीङ लामा लगायतले धारणा राख्दै नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिएको बताइएको छ ।

बैठकमा सहभागी पदाधिकारी एबम सदस्यहरुमध्ये संस्थापन इतर समूहमा रहेकाहरुले  नियमित महाधिवेशन आगामी मंसिर महिनाभित्र हुनुपर्ने बताइरहेको छ । तर, संस्थापन समुहमा रहेकाहरुले नियमित महाधिवेशन गर्ने, तर मंसिरमा विधि र प्रक्रिया पुर्‍याई गर्न समय अपुग हुने भएकाले केही समय पछाडी सार्नुपर्ने भन्ने पक्षमा छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा मंसिरसम्म नियमित महाधिवेशन हुने सम्भावना नदेखिए विशेष महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् । त्यसका लागि गुरुराज घिमिरेको नेतृत्वमा विशेष महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन गरेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकिएको छ । घिमिरे कांग्रेस नेता डा. शेखर कोइरालाको पक्षमा सक्रियतापुर्बक लागिरहेका छन

 डा. डिला संग्रौला द्वारा पार्टीमा आन्तरिक सुशासन आयोग गठन गर्न माग 

कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्ने केन्द्रिय सदस्यहरूले सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको घोषणा गरेको कुरामा चर्चा गर्दै चुनाबमा जाने तयारी पार्टीले गर्नुपर्ने बताएका छन् । उनीहरूले प्रतिनिधिसभा पुनर्स्थापनातर्फ होइन, निर्वाचनतर्फ पार्टीलाई केन्द्रित गर्नुपर्ने धारणा समेत राखेका छन् । जेनजी आन्दोलन कसका कारणले भयो ? आन्दोलनपछि पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि बैठकले स्पष्ट धारणा तय गर्नुपर्ने कतिपय नेताहरूको भनाइ छ ।

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले पार्टीभित्र ‘आन्तरिक सुशासन आयोग’ गठन गर्न माग गरेकी छिन् । डा. संग्रौलाले आयोगलाई पार्टीका जनप्रतिनिधिहरूको विगतको प्रवृत्ति समीक्षा गर्दै निश्चित मापदण्डका आधारमा अनुगमन गरी प्रोत्साहन, चेतावनी र कारवाही सिफारिस गर्ने अधिकार दिनुपर्ने बताइन् ।उनले बैठकले पार्टीको सबै तहमा प्रतिस्पर्धा मार्फत जेनजी उमेर समूहको प्रतिनिधित्व सुनिश्चित गराउने प्रावधान व्यवस्था गरिनुपर्ने बताइन् ।  प्रतिनिधिसभा निर्वाचनलाई सुनिश्चित बनाउँदै लोकतान्त्रिक संविधानलाई सहज मार्गमा अघि बढाउने कार्यमा कांग्रेस अग्रसर हुनुपर्ने उनको भनाइ थियो ।

मंसिरमा नै महाधिबेशन गरौँ, कसले रोक्छ ? सरकारको कामको मुल्यांकन गरेर मात्र चुनाबको कुरा गरौँ- प्रदेश सभापति बलायर

नेपाली कांग्रेस सुदुर पश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले महामन्त्री थापालाई सभापति देउवाले कहिले नियमित महाधिवेशन हुँदैन भनेर भनेका थिए भन्दै प्रश्न गरे । बलायरले महामन्त्री थापाले एजेन्डा प्रस्तुत गर्दा मंसिरभित्रै महाधिवेशन भनेको विषयमा प्रश्न गर्दै कसले रोकेको छ भनेर प्रश्न उठाए । ‘शेरबहादुर देउवाले नियमित महाधिवेशन हुँदैन भनेका थिए ? कि केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशनको मिति तय गरेर सारेको थियो ?’ बलायरले थापालाई प्रश्न सोध्दै भने ।

उनले मंसिरमा महाधिवेशन गर्न महामन्त्री थापालाई कसले रोक्यो भन्दै प्रश्न गरे । ‘महामन्त्रीले यहाँ मंसिरमै महाधिवेशन गर्ने भन्नुभयो । गर्नुस् न कसले रोकेको छ ? शेरबहादुरले रोकेको हो ?’ बलायरले भने, ‘जसको म्याद गुज्रिसकेको छ । उसको हस्ताक्षर ल्याएर म्याद सकिएको कार्यसमितिको विशेष महाधिवेशन गर्ने ? कसले छेक्यो, मंसिरमा महाधिवेशन गर्न ?’

कांग्रेस नेता बलायरले महामन्त्री थापा प्रति लक्षित गर्दै सरकार सञ्चालन गर्ने संयन्त्रमा बसेको मान्छेले समेत सरकारप्रति प्रश्न उठाउने गरेको बताए । ‘हिजो सरकारमा संयन्त्रमा बसेर सरकार सञ्चालन गर्ने, त्यो सरकार अपदस्थ भएपछि अहिलेको सरकारलाई मान्यता दिन पुग्ने तपाईंहरू नै होइन ? तपाईं संयन्त्रमा बसेर काम गर्ने अनि त्यसको दोष शेरबहादुरले मात्र लिनुपर्ने ?’ बलायेरले महामन्त्री थापालाई प्रश्न गरे ।

प्रदेश सभापति बलायरले सरकारको कार्यशैली, क्षमता र राजनीतिक वातावरणको मूल्यांकन गरेर मात्र पार्टीले चुनावको बारेमा धारणा बनाउनुपर्ने अन्यथा राजनीतिक अपरिपक्वता देखिनेमा उनले जोड दिए । ‘यो सरकारले अहिलेसम्म राजनीतिक दलसँग वार्ता समेत गर्न सकेको छैन । चुनाव गराउने क्षमता राख्छ कि राख्दैन ? यसले त्यतातिर आफूलाई केन्द्रित गरेको छ कि अन्यत्रै ?, अनि यस्तो सरकारले भनेको भरमा चुनाबको तयारी गर्ने ? उनले प्रश्न गरे ।

केन्द्रीय सदस्य पौडेलद्वारा राष्ट्रपतिको प्रशंसा, देउवामाथिको आक्रमणको निन्दा 

कांग्रेस केन्द्रीय सदस्य एबम पुर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेलले देशमा भएको जेनजी विद्रोहलाई शंकाका रुपमा नहेरी त्यसले उठाएका मूल मुद्दाको सम्बोधनमा क्रियाशील हुनुपर्ने बताए । जेनजी पुस्ताको विद्रोहमा उठेको भ्रष्टाचार अन्त्य, सुशासन, आर्थिक विकास, युवा तथा रोजगारीजस्ता विषय जायज भएकाले यसलाई सम्बोधन गर्नु आवश्यक रहेको पौडेलको भनाइ थियो । ‘हामीले पूर्ण प्रजातान्त्रिक अभ्यास गर्न नसकेको, भ्रष्टाचार मौलाएको तथा जनताप्रति उत्तरदायी हुन नसकेका कारण युवाहरुबाट यो विद्रोह भएको अर्थमा बुझ्नु मुलुकका लागि हितकर हुनेछ,’ पौडेलले भने ।

पौडेलले युवा विद्रोहका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने पनि बताए । विद्यमान संकटको निकासमा राष्ट्रपति रामचन्द्र पौडेलले खेलेको भूमिकाको प्रशंसा गरेका उनले पार्टी सभापतिप्रति भएको आक्रमणको निन्दा समेत गरे । नेता पौडेलले सभापतिद्वारा पार्टी बैठकमा २८ गते पेश गरिएको भनाइ जिम्मेवार रहेको भन्दै सोहीअनुसार पार्टी चल्नुपर्ने समेत बताए ।

केन्द्रीय सदस्य पौडेलले पार्टीले पुस्तान्तरण र रुपान्तरणको युवा मुद्दा पार्टीले सम्बोधन गर्नुपर्ने भन्दै पार्टी नेतृत्वमा युवा सहभागिता वृद्धि गर्नुपर्ने बताए । उनले युवा सहभागिता वृद्धिका लागि डीजी युथ कंग्रेस गठनको अवधारणा प्रस्तुत गरे ।

३१ आश्विन २०८२, शुक्रबार २२:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा